जेष्ठ ६, २०८१ आईतबार

रात्रिकालीन फुटबलको उपाधि कनकाईको कब्जा

रोहित काफ्ले
भद्रपुर ।
फाइनलमा न्यू स्टार क्लव खोपबाडीविरुद्ध १–० को रोमाञ्चक जीत निकाल्दै कनकाई फुटबल क्लवले रात्रिकालीन भद्रपुर गोल्डकपको उपाधिमा कब्जा जमाएको छ ।
एलेभेन साइनिङ स्टार भद्रपुरले जिल्लामै पहिलो पटक आयोजना गरेको रात्रिकालीन फुटबलअन्तर्गत शुक्रबार राति भएको अत्यन्त प्रतिस्पर्धात्मक फाइनलमा कनकाईले बाजी मारेको हो । राति खेलाइएको पहिलो प्रतियोगिताको पहिलो विजेता टोलीको इतिहास बनाउन कनकाई सफल भयो । मध्यान्तरअघि जर्सी नं १० का रोहन कार्कीले गरेको गोल नै कनकाईको जीतका लागि पर्याप्त बन्यो । न्यू स्टारले गोल गर्ने राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
भद्रपुर माविको खेल मैदानमा जीतसँगै कनकाईले नगद एक लाख पुरस्कार र शील्ड हात पार्यो भने उपविजेता बनेको खोपबाडीले ५० हजारमा चित्त बुझायो । विजयी टिमका गोलकर्ता रोहन प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । सेमीफाइनलमा कनकाईले सैनिक युथ क्लवलाई पाखा लगाएको थियो भने न्यू स्टारले मुनाल क्लव चन्द्रगढीलाई पराजित गरेको थियो ।
फाइनल खेल सम्पन्न भएसँगै समापन समारोहका प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष भीम सुब्बा, वडा नं ३ की वडाध्यक्ष कमला थुलुङ, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले विजेता तथा उपविजेता टिमलाई शील्ड र प्रमाणपत्र वितरण गरेका थिए । पहिलो र दोस्रो पुरस्कार भद्रपुर नगरपालिकाले व्यवस्था गरेको थियो ।
सहयोगी संघ–संस्था र प्रतिष्ठानहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको समापन समारोहकै अवसरमा भद्रपुर नगरपालिकाको तर्फबाट आयोजक समितिका अध्यक्ष दिलीप भूइमालीलाई विशेष सम्मान गरिएको थियो । पूर्व उत्कृष्ट फुटबल खेलाडी भूइमालीले आफूले खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका छन् । आफूले सन्यास लिए पनि फुटबल खेलको विकास र सम्बद्र्धनमा आफू सधैं सक्रिय रहने उनले बताए ।

प्रकाशित मिति : बैशाख १४, २०७६ शनिबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]