जेष्ठ ३, २०८१ बिहीबार

नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा देखा परेसँगै नेपालमा पनि जोखिम बढ्यो

झापा – कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेको छ । उच्च संक्रामक मानिने यो भेरियन्ट भारत देखिसक्दा पनि भारतसँग सीमा जोडिएको झापामा भने खासै सतर्कतासमेत देखिँदैन । भारतसँग १४४ किलोमिटर सीमा जोडिएको झापामा पूर्वी नाका र भद्रपुर नाकामा सामान्य चेकजाँच भए पनि अन्य स्थानमा खासै सतर्कता छैन् । अन्य नाकामा विगतमा संक्रमण फैलदा जस्तो सुरक्षाकर्मीले कडाई नगर्दा संक्रमितहरूसमेत सहजै आवतजावत गर्ने अवस्था छ । विगतमा बन्द रहेका नाकाहरू सरकारले खोल्ने निर्णय गरेसँगै जोखिम पनि बढेको छ ।

भारतसँगै, भुटान, बंगलादेशसहितबाट आवतजावत हुने पूर्वीनाका काँकडभिट्टामा पनि खासै कडाइ छैन । नाकामा प्रहरीले खोप कार्ड हेरेर आवतजावत दिइरहेको छ । जसका कारण पनि नयाँ भेरियन्ट नेपाल भित्रने जोखिम बढेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालका अनुसार भारतबाट आएका नेपाली नागरिकका लागि भने खोप कार्ड हेरेर मात्र पनि प्रवेश दिइरहेको छ । ‘भारतबाट आउने नेपालीको हकमा खोप कार्ड हेरेर मात्रै आवतजावत भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘भारतसँगै अन्य देशका नागरिकको हकमा भने अनिवार्य पीसीआर वा एन्टिजेन्ट रिर्पोट र खोप कार्ड चाहिन्छ । यो नभएकालाई हामीले फर्काइरहेका छौँ ।’

नाकाबाट दैनिक तीन हजार जनाको आवतजावत

पूर्वीनाकामा अहिले दैनिक तीन हजारभन्दा बढीको आवतजावत छ । जसमा नजिकैको भारतीय बजार पानीट्यांकीबाट घरायसी प्रयोगको सामान ल्याउने पनि छन् । नाकामा भिडभाड भने बढीरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी दाहालले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिले पनि नाकामा शंकास्पदहरूलाई एन्टिजेन्ट परीक्षण गरिएको छ । जसमा हप्तामा दुई-चार जनामा कोरोना संक्रमण देखिइरहेको उहाँले बताउनुभयो । अहिलेसम्म नाकामा कडाइ गर्न कहीँबाट पनि लिखित निर्देशन नआएको डिएसपी दाहालले बताउनुभयो । ‘लिखित रूपमा नाकामा कडाइ गर्न कहीँबाट पनि निर्देशन आएको छैन । तर, सिडिओ साबले मौखिक रूपमा कडाइ गर्न भन्नुभएको छ । स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराउनु भन्नु भएको छ,’ उहाँले भन्नुभयो, ‘हामीले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गराएका छौँ ।’

जिल्ला प्रशासन कार्यालय झापाले भने नाकामा सतर्कता बढाइरहेको दाबी गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानले नाकाबाट आउने सबैको एन्टिजेन्ट परीक्षण भइरहेको दाबी गरे । यद्यपि, नाकामा शंकास्पद र पीसीआर रिर्पोट नभएकाको मात्र परीक्षण गरिँदै आएको छ । ‘नाकामा ५-७ दिनदेखि नै सतर्कता अपनाएका छौँ । नाकामा आएका सबैको एन्टिजेन्ट परीक्षण गर्छौँ,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार  २ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]