बैशाख २३, २०८२ मंगलबार

अनुमानित लक्ष्य र प्रगति हासिल भएको दावी

विराटनगर । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले गत आर्थिक वर्षमा अनुमान गरिएका लक्ष्य र प्रगति हासिल भएको दावी गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आव २०७५/७६ को मन्त्रालयगत समीक्षा तथा आव २०७६/७७ को बजेट कार्यान्वयन योजना प्रस्तुत कार्यक्रममा उनले सो कुरा बताए ।

यस किसिमको समीक्षा पहिलो पटक भएको उल्लेख गर्दै मुख्यमन्त्री राईले हाम्रो प्रगतिको कुरा कागज तथा समीक्षामा मात्र सीमित नभएर कार्यक्षेत्रमा पनि हुनुपर्ने र यसका लागि अनुगमन, कामको गुणस्तरको जाँच, नियमितता र पारदर्शिता हुनुपर्नेमा जोड दिए ।

गएको वर्षमा कर्मचारी तथा नियम कानून र निर्देशिकाको अभावका साथै संरचनागत कार्यालय नभएका कारण प्रगति उल्लेखनीय हुन नसकेको भन्ने छुट नयाँ आर्थिक वर्षमा नपाइने भन्दै उनले चालू आवको बजेटको कार्यान्वयन निर्देशिका पनि तयार गरिने जानकारी दिए ।

मुख्यमन्त्री राईले चालू आवमा ठेक्कापट्टामा लाग्ने बोलपत्र असोज महीनाभित्र सक्न र कात्तिकबाट काम शुरु गर्न मातहतका सबै मन्त्रालय, निर्देशनालय, महाशखाका प्रमुखलाई निर्देशन दिंदै असारे विकासको मनस्थिति त्याग्न आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, मुख्य सचिव सुरेश अधिकारी, मन्त्रालयका सचिव, निर्देशनालयका निर्देशक र महाशाखाका प्रमुखको सहभागिता थियो ।

प्रकाशित मिति : श्रावण २८, २०७६ मंगलबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]