महाधिवेशनका लागि झापा कांग्रेसको तयारी तीब्र
बिर्तामोड । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा झापाको सहभागिताका विषयमा नवनिर्वाचित पदाधिकारीहरुबीच छलफल भएको छ । नेपाली कांग्रेस झापामा आयोजित जिल्ला, क्षेत्र, प्रदेश क्षेत्रका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिमा छलफल सम्पन्न भएको हो ।
महाधिवेशन प्रतिनिधिहरुलाई सम्बन्धित संसदीय क्षेत्र र प्रदेश क्षेत्रले संयोजन गर्ने, केन्द्रमा रजिष्ट्रेशनको जिम्मेवारी नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डे, सचिव कृष्ण हुमागाई र सहसचिव कमल भण्डारीलाई जिम्मेवारी दिने निर्णय भएको छ ।
त्यसैगरी आवास व्यवस्थापनका लागि उपसभापति शेरबहादुर भट्टराई, सचिव नविन विमली र सहसचिव कालेन्द्र राजवंशीलाई जिम्मेवारी तोकिएको छ । केन्द्रमा जाने महाधिवेशन प्रतिनिधिहरुले जिम्मेवारी तोकिएका पदाधिकारीसँग रजिष्ट्रेशन र आवासका लागि सम्पर्क र समन्वय गर्न पदाधिकारीको अनौपचारिक बैठकले आग्रह गरेको छ ।
कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य गरिरहेको जानकारी दिदै पार्टीका गाउँ-नगर , वडा र टोल समितिहरुलाई नया मतदाता नामावली दर्तामा क्रियाशिल बनाउन सुझाव दिए । अर्का केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले चौधौं महाधिवेशन भब्य र सभ्य रुपमा सफल पार्न झापाको शालिन उपस्थितिको लागि तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिए । नवनिर्वाचित सभापति देउकुमार थेवेले पदाधिकारी र क्षेत्र, प्रदेश क्षेत्र सभापतिहरुलाई तोकिएको जिम्मेवारी कार्यसम्पादन गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४, २५ र २६ गते काठमाडौंमा हुँदैछ ।