अटो टेम्पोको भीड पनि घटाऊ
सम्पादकीय
बिर्तामोड नगरपालिकाले अटो टेम्पोको मनपरी भाडादरलाई व्यवस्थित गर्दै मंसिर १६ गते कार्यपालिकाबाटै निर्णय गरेर नयाँ भाडादर निर्धारण गरेको छ । सिफारिस समिति र अटो टेम्पो व्यवसायीको प्रस्ताव अनुसार मापदण्ड बनाएर भाडा निर्धारण गरिएको हो । यसपछि अटो टेम्पो चालक र यात्रु बिच समस्या कम हुने निश्चित छ । त्यसका लागि नयाँ भाडादर दुवै पक्षले कार्यान्वयन गर्नुपर्छ । कार्यान्वयन नभए फेरि पनि समस्याहरु आइपर्ने छन् । लामो समयदेखि व्यवसायीले माग गरे अनुरुप स्थानीय सरकारको तर्फबाट महत्वपूर्ण काम भएको छ । यसको कार्यान्वयन गर्ने मुख्य दायित्व व्यवसायी कै हो ।
झापाको बिर्तामोड र दमकमा सबैभन्दा धेरै अटो र टेम्पो सञ्चालनमा छन् । पैदल यात्रु, सार्वजनिक तथा निजी सवारी आवागमन मै सुविधायुक्त सडक संरचना नभएको अवस्थामा भारतबाट धमाधम अटो टेम्पो आयात भयो । सुविधाका दृष्टिले मानवीय जीवनमा सहज भए पनि समग्रमा सडक क्षेत्र अस्तव्यस्त छ । नेपाली नागरिकको दिन दैनिकी , आर्थिक स्रोत र सडक संरचना हेर्ने हो भने अटो चढिहाल्ने समय भएको होइन । सानो बाटोमा दुई वटा सवारीलाई ओहोर–दोहोर गर्न अप्ठ्यारो छ । यसैको बिचमा अटो टेम्पो छिरेका छन् । सडकको अवस्था हेर्ने हो भने, अटो अहिलेको आवश्यकता हुँदै होइन ।
व्यापार व्यवसाय गर्ने स्वतन्त्रता सबैलाई छ । जीवन धान्नका लागि अनेक उपाय अपनाउनै पर्छ । सडक संरचना अव्यवस्थित हुँदा अटो चलाउनै नपाउने भन्ने होइन । तर, यसको उचित व्यवस्थान छैन । सरकारले अटो सञ्चालनका लागि व्यवस्थित कार्यविधि बनाएको छैन । दुरदराजबाट पनि अटोको भिड बिर्तामोड मै लाग्छ । यहाँको आवश्यकता भन्दा तिन गुणा धेरै अटो बिर्तामोडमा छिरेका छन् । यसको व्यवस्थापन गर्न व्यवसायी पनि लाग्नुपर्छ । पछिल्लो समय अटो टेम्पोमा सिण्डिकेट छ । आलोपालो हिड्ने भन्ने नियमले यात्रु मारमा परेका छन् । अटोवालाको समयमा हिड्दा ढिलो हुने, यात्रुलाई चाहिएको खण्डमा बढि रकम बुझाउनुपर्ने बाध्यता छ । सर्वप्रथम भाडाको समस्या सुल्झिएको छ । अब, बाँकी रहेका समस्या समाधानमा व्यवसायी लाग्नैपर्छ । बिर्तामोडभित्र मात्र होइ, अन्य क्षेत्रमा पनि सडक क्षेत्रलाई अस्तव्यस्त नबनाएकै राम्रो हो ।