दुर्गा प्रसाई एमालेको केन्द्रीय सदस्यमा मनोनित
बिर्तामोड । विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । केन्द्रीय कमिटीको बैठकले प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
एकता प्रक्रियाबाट प्रसाई केन्द्रीय सदस्यमा मनोनित भएका हुन् । केन्द्रीय सदस्य मनोनयनमा पूर्व माओवादीलाई २० प्रतिशत छुट्याइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सोही प्रक्रियाबाट प्रसाई केन्द्रीय सदस्य बनेका छन् ।

नेकपा एमाले राजनीतिमा पछिल्लो समयमा सक्रिय भएका प्रसाई माओवादीमा लामो समय काम गरेका व्यक्ति हुन् । नेकपा एमाले प्रवेश गरेर ठुलो संख्यामा आफ्ना समर्थकहरु समेतलाई पार्टी प्रवेश गराउँदै आएका प्रसाईले दशौं राष्ट्रिय महाधिवेशनमा समेत उम्मेद्वारी दिने तयारी गरेका थिए । केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरे पनि पछि दर्ता गरेका थिएनन् ।
यसअघि महाधिवेशनबाट झापाका केन्द्रीय सदस्यमा देवराज घिमिरे , अग्नी खरेल, जितु गौतम, देबेन्द्र दहाल, हिक्मत कुमार कार्की, रबिन कोईराला, रोमनाथ ओली, हरि राजवंशी , मेनुका काफ्ले , मिना उप्रेती , गोविन्द थापा र गिता अधिकारी निर्वाचित भएका थिए ।