बैशाख १३, २०८१ बिहीबार

शिवसताक्षीमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन

विनोद सापकोटा

झापा । झापाको शिवसताक्षीमा जिल्लामै पहिलो पटक विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम तथा किशोर किशोरीमा हुने रक्त अल्पता तथा रक्त समुह पहिचान कार्यक्रम सुरु भएको छ ।

यो कार्यक्रम जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी नगरपालिकाले पहिलो पटक शुरु गरेके हो । झापामा यो कार्यक्रम नमुना कार्यक्रम पनि भएको शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

साविकका ४ गाविसका एकएक वटा माध्यमिक तहका विद्यार्थीहरुलाई पहिलो पटक कार्यक्रममा सहभागी गराइएको थियो । शिवगञ्जको लालपानी माद्यमिक विद्यालय, सतासीधामको बाल निकुञ्ज, पाँचगाछीको त्रिभुवन र धरमपुरको मोती माध्यमिक विद्यालयबाट पाइलट प्रोगामका रुपमा कार्यक्रम सुरु गरिएको शिवसताक्षी नगरका स्वास्थ्य संयोजक तथा जन स्वास्थ्य निरीक्षक संजय ठकुरीले बताए । त्रिभुवन मावि र मोती माविमा कार्यक्रम हुन बाँकी छ ।

लालपानी माध्यमिक विद्यालय र बालनिकुञ्ज माविमा कार्यक्रम सकिएको छ । दुवै विद्यालयका कक्षा १०, ११ र १२ का छात्र छात्रालाई कार्यक्रममा सहभागि गराईएको शिवसताक्षी नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

बिद्यालय स्तरमा किशोर किशोरीमा हुने रक्त अल्पता समस्या सम्बन्धी समस्याको जाँच गर्ने, उनीहरुको रगत समुह पहिचान गर्ने र पोषण सम्बन्धी विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्दे आम समुदायका बालबालिकाको पोषण सम्बन्धी समस्याको निराकरण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

लालपानी माबि र बालनिकुञ्ज माविका २ सय विद्यार्थीको रक्त परिक्षण गरेर उनिहरुको रक्त पहिचान र हेमोग्लोविनको मात्रा संकलन गरिएको थियो । जन स्वास्थय निरीक्षक ठकुरीका अनुसार लालपानी र बालनिकुञ्ज माध्यमिक विद्यालयका केही विद्यार्थीमा रक्त अल्पता र पोषणाको समस्या रहेको छ । नेपालमा ३४ प्रतिशत किशोर किशोरीमा रक्त अल्पताको समस्या रहेको छ ।

रगतमा हेमोग्लोबिनको मात्रा घट्नु या सामान्य भन्दा कम हुनुलाई रक्तअल्पता भन्ने गरिन्छ । ‘हेमोग्लोबिन रगतमा हुने विभिन्न तत्व मध्ये रातो रक्तकोष एउटा यस्तो तत्व हो जसले अक्सिजनयुक्त रगतलाई शरीरका विभिन्न भागमा पु¥याउने गर्छ,’ जन स्वास्थ्य निरीक्षक ठकुरी भन्छन ‘रगतमा हेमोग्लोबिनको मात्रा कम भयो भने अक्सिजनयुक्त रगत शरीरको विभिन्न भागमा पु¥याउने क्षमतामा ह्रास आउँछ । फलस्वरुप शरीरलाई जती अक्सिजन चाहिने हो त्यती मात्रामा नहुँदा श्वासप्रश्वास सम्बन्धी लगायतका समस्या देखिन्छ ।’

उनका अनुसार श्वासप्रश्वास छिटो छिटो हुनु, थकान महसुस हुनु, मुटुको धड्कन बढ्नु रिंगटा लाग्ने,छटपटी हुने, छालाको रंग हलुका पहेलो देखिनु रक्त अल्पताको मुख्य लक्षण हो । रगतमा फलामको तत्वको कमी हुनु,राता रक्तकोष बनाउने भिटामिनको कमी भएमा, रगतमा बनेका राता रक्तकोषको समय नपुग्दै नष्ट भएमा, शरीरबाट रगतको क्षय हुने पुराना समस्या भएमा, राता रक्तकोष बनाउनका लागी आवश्यक पर्ने इरिथ्रोपोइटिन हामोर्नको कमीका कारण रक्त अल्पताको मुख्य कारण भएको उनले बताए ।

उनका अनुसार समय समयमा स्वास्थय जाँच गराउने, रक्तअल्पता भए नभएको पत्ता लगाउने, यदि भएको भए थाहा हुनसाथ के कारणले भएको हुनसक्छ त्यस विषयमा निधो गर्ने र तत्काल उपचार गर्ने गरे रक्त अल्पताको समस्याबाट बच्न सकिन्छ । खानपान, दैनिक रहन सहन, बानि व्यहोरा सुधारेमा यो समस्याबाट बच्न सकिने उनले बताएका छन् ।

भिटामिन फोलिक एसिड र फलामको कमीका कारण भएको छ भने यस्ता तत्व भएका खानेकुरा प्रश्सत मात्रामा खाने जस्तैः रातोमासु, हरिया सागपात, सिमीकोको तरकारी तथा झोल बस्तु खाने गरेका यसबाट बच्न सकिने उनले बताए । अंकुशे जुकाका कारण पनि रक्ताल्पता हुने सक्ने भएकाले दिसामा अंकुशे जुकाको परीक्षण गराउने गर्दा यसको समयमै निदान गर्न सकिने ठकुरीले बताए ।

बाल निकुञ्ज माद्यमिक विद्यालयमा वुधबार भएको कार्यक्रम शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्माले दैनिक खानपान, रहन सहन र आचरण सुधारका लागि दैनिक व्यायाम गरे कुपोषण र रक्त अल्पताको समस्याबाट छुटकारा पाइने बताए । उनले भने, मनलाग्दीको खानपानले कलिलै उमेरमा रोगले गाज्ने हुँदा यसबाट बच्न सानै उमेर देखी पहरेजका खाना खानु पर्छ । जस्का कारण अमुल्य जिवन आयु भर रहन सक्छ ।’

शिवसताक्षी नगरपालिका वडा नम्बर १० का वडा सदस्य हर्क सिगुको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण स्वास्थ्य निरीक्षक ठकुरीले गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरका स्वास्थ्यकर्मीको प्राविधिक सहयोग थियो ।

प्रकाशित मिति : पुष १, २०७८ बिहीबार  १० : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]