बैशाख १४, २०८१ शुक्रबार

बल्दैनन् बिर्तामोडमा सौर्य सडक बत्ती

मर्मतको काम चलिरहेको छ : प्रमुख प्रशासकीय अधिकृत दाहाल

बिर्तामोड । झापाको बिर्तामोडमा ५ वर्षअघि जडान गरिएका सौर्य सडक बत्ती बल्न छोडेको छ । केहि बत्ती बले पनि प्रकाश मधुरो छ । हरेक पोलमा २ वटा बत्ती जडान गरिएका छन् । त्यसमध्ये अधिकांश बत्ती बल्न छोडेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
स्थानीय उपभोक्ताको २० प्रतिशत लागतमा बिर्तामोड नगरपालिकाभित्र ४ करोड ६० लाख रुपैयाँको सडक बत्ती जडान गरिएको थियो । अहिले सडक बत्ती भए नभएको उस्तै छ । इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले सडक बत्ती राम्रोसँग नबल्दा सुरक्षामा समेत चुनौति हुने बताए । उनले बिर्तामोड बजारमा बत्तीको उचित व्यवस्था हुनुपर्ने बताएका छन् । उनका अनुसार अधिकांश बत्ती बल्दै बल्दैनन्, बलेकाहरु भुँईसम्म देखिदैन ।

सडक क्षेत्रमा धिपधिप बल्ने सडक बत्तीले केहि काम नगरको स्थानीय उपभोक्ता बताउँछन् । उनीहरुले तत्काल बत्ती जडान गर्न आग्रह समेत गरेका छन् । स्थानीय उपभोक्ता समेतको लागत सहभागितामा जोडिएको प्रति सडक बत्तीमा १ लाख १२ हजार खर्च भएको थियो ।
उज्यालो नगरको परिकल्पना गरेर जडान गरिएको सडक बत्ती प्रभावहीन बनेको स्थानीय उपभोक्ताको आरोप छ । जडान भएको २ वर्षदेखि समस्या आएपनि निर्माण कम्पनीले कुनै चासो दिएको छैन । जडान गर्ने कम्पनीले सोलार प्यानलको २५ वर्षको वारेन्टी दिएको छ भने ब्याट्री, चार्ज कन्ट्रोलर र लाइटको पाँच वर्षको दिएको थियो ।

सडक क्षेत्रमा जडित सौर्यबत्तीमा खर्च भएमध्ये केन्द्र सरकारको ६५, नगरपालिकाको १५ र स्थानीयको २० प्रतिशत लागत छ । बिर्तामोड क्षेत्रमा २२ वटा समिति गठन गरेर बत्ती जडान गरिएको थियो । स्थानीय उमेश डालमियाको संयोजकत्वमा बत्ती जडान मूल समिति गठन गरेर काम सम्पन्न गरिएको थियो ।

बिर्तामोडको मुक्ति चोक उत्तर शनिश्चरे रोडमा ५२, बोलबम पेट्रोल पम्प क्षेत्रमा ७०, पुरानो भद्रपुर रोडमा ३७, एकता टोलमा ११, अतिथि सदन जाने बाटोमा २०, कृषिथोक बजार जाने बाटोमा १८, कृषिथोक बुधबारे बजार क्षेत्रमा १३, राम चोकको कुमलबाडी सडकमा १३, हिमालयन धर्मकाँटामा ३४, रामचोकमा १३, भद्रपुर रोड क्षेत्रमा ३२, मुक्ति चोकमा ५२, चारपाने–राजगढ सडक क्षेत्रमा २५, चारपाने–अर्जुनधारामा १८, रामचोक–पीपलबोटे सडक क्षेत्रमा २५, मुक्ति चोक पूर्व बसपार्कमा ४२ वटा बत्ती जडान गरिएका छन् । सोलार जडान शीर्षकमा मेचीनगर नगरपालिकाले चार करोड, अर्जुनधाराले १७ लाख, कनकाईले ५४ लाख, शिवसताक्षीले १० लाख, दमकले तीन करोड ५० लाख र गौरादहले १६ लाख सरकारी बजेट प्राप्त गरेका थिए ।

जडान समितिका अध्यक्ष डालमियाले सडक बत्तीमा उपभोक्ताबाट गुनासो आइरहेको बताएका छन् । उनले गुनासो आएपछि निर्माण कम्पनीलाई बोलाएर काम लगाइरहेको जानकारी दिए ।

अध्यक्ष डालमियाका अनुसार सोलार बत्ती बिर्तामोड बजारमा अब प्रभावकारी नहुने बताए । उनले अब, विजुलीबाट राम्रा–राम्रा बल्भ प्रयोग गरेर बिर्तामोड झलमल्ल बनाइनु पर्ने बताएका छन् । बोलबम मण्डी र शनिश्चरे रोडमा देखिएको समस्या समाधान गर्ने काम भइरहेको छ, उनले भने – अब भद्रपुर रोड र चारपाने लाइनको काम हुने छ । उनले सौर्य उर्जाबाट सडक क्षेत्रमा बालिएको बत्ती दीगो पनि हुन नसक्ने बताएका छन् । अध्यक्ष डालमियाले सडक बत्तीको मर्मत संभार र सुरक्षाको जिम्मेवारी स्थानीय तहको हुनुपर्ने बताए । सधैं उपभोक्ताले लगानी गर्न सक्दैनन्, उनले थपे – अब बिर्तामोड नगरपालिकाले नै बत्तीको प्रभावकारी प्रयोगमा चासो दिनुपर्छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालले सौयबत्तीको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएको बताएका छन् । ५ वर्षसम्मको समस्या मर्मत गर्ने सम्झौता अनुरुप अहिले काम भइरहेको दाहालको भनाई छ । ‘५ वर्ष पुरा भइसकेको छ, दाहालले भने – तर, ५ वर्ष नपुग्दै आएका समस्याको विवरण हामीले कम्पनीलाई पठाएका थियौं । त्यहि काम अहिले गरिहरेको छ ।’ सम्झौता अनुरुप काम सम्पन्न पछि मात्रै धरौटी रकम फिर्ता दिइने दाहालको भनाई छ । उनले कम्पनीले हेरचाह गर्ने समय सकिएपछि नगरपालिकाले त्यसको संरक्षण गर्ने जानकारी दिए ।

प्रकाशित मिति : पुष ६, २०७८ मंगलबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]