बैशाख १४, २०८१ शुक्रबार

बैगुन्धुरामा अस्थायी प्रहरी चौकी स्थापना

झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर–९ बैगुन्धुरामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । लामो समय देखिको बैगुन्धुराबासीको मागलाई सम्बोधन गर्दे जिल्ला प्रहरी कार्यालय झापाले बिहीबारदेखी बैगुनधुरामा अस्थाई प्रहरी चौकीको स्थापना गरेको हो । लगभग १० हजार जनसंख्या रहेको वडामा यसअघि करिव १८ किलोमिटर दुरीमा रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले सर्वसाधरणको जिउ धनको सुरक्षा गर्दै आएको थियो । गौरादह नगरपालिका वडा नम्बर ९ साविकको बैगुन्धुरा गाविस हो ।

कृषि, शिक्षा, स्वास्थ्य, विद्युत, पशु लगायतका सरकारी कार्यालय रहेको बैगुनधुरा र आसपासका गाँउमा प्रहरी चौकी स्थापना भएपछि स्थानीयबासिन्दाले सुरक्षाको बलियो प्रत्याभूति गर्न थालेका छन् । प्रहरी कार्यालय स्थापनाका लागि त्यहाँका स्थानीयले यसअघि जिल्ला प्रहरी, प्रदेश प्रहरी र संघीय प्रहरी कार्यालयमा लिखित माग गरेका थिए । स्थानीयबासीको माग र बैगुन्धुरामा प्रहरीको भौतिक उपस्थिति राख्न अस्थाई प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईले बताए ।

प्रहरी सहायक निरीक्षक कुमार कटुवालको नेतृत्वमा ६ जना प्रहरी बिहीबार देखिनै नव स्थापित अस्थाई प्रहरी चौकीमा कार्यरत छन् । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार साविकको उपस्वास्थ्य चौकी बैगुन्धुराको भवनमा प्रहरी चौकी रहेको छ । सोही कार्यालयलाई रङ रोगन र केही पुर्ननिर्माण गरेर प्रहरी चौकीको कार्यालय स्थापना गरिएको छ । सो भवनमा व्यारेक, कार्यालय प्रमुख कक्ष, आवास र भान्सा कोठा रहेको छ ।

यसअघि नै स्थानीय दाताले प्रहरी कार्यालयका लागि ५ कठ्ठा जग्गा दान दिएका थिए । अब बजेट निकासा भएपछि आफ्नै भवनबाट सेवा प्रवाह हुने प्रहरी निरीक्षक श्रेष्ठले बताए । बैगुन्धुरामा प्रहरी चौकी स्थापना भएसंगै यस क्षेत्रका स्थानीयले प्रहरी सेवा लिनकै लागि अन्यत्र जानुपर्ने झण्झटबाट मुक्ति पाएका छन् । वडा अध्यक्ष सिताराम भट्टराईले भने,‘गाउँमा केही त्यस्तो घटना भयो भने ४५ मिनेट दुरीको धरमपुर प्रहरी चौकी र झण्डै १ घन्टा समय दुरीको इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी आउनु पथ्र्यो । अब तत्काल प्रहरी घटना स्थल पुग्न सक्छ ।’

बैगुन्धुरामा हुने अपराध र अन्य सामाजिक विकृति विसंगती समेत प्रहरी कार्यालयको स्थापनाले कम हुनेमा स्थानीय बासिन्दा ढुक्क छन् । उनीहरुले भने ‘शान्ती सुरक्षामा ठुलो सहयोग पुग्ने कुरामा हामी विश्वस्त छौ ।’ झापामा यस्ता प्रकृतिका अस्थायी प्रहरी चौकी १३ वटा छन् । कुनै पनि अस्थायी प्रहरी चौकीमा प्रहरी दरबन्दी हुँदैन । दरबन्दी भएका कार्यालयबाट काजमा प्रहरी खटाउँदा त्यस्ता कार्यालयहरुमा जनशक्ति अभाव हुने एक प्रहरी अधिकृतले बताए ।

प्रकाशित मिति : पुष ८, २०७८ बिहीबार  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]