बैशाख ७, २०८१ शुक्रबार

कांग्रेसमा सुधारको खाँचो

सम्पादकीय
नेपाली कांग्रेस कम्युनिस्टभन्दा राम्रो भएको दावी गर्छ । कम्युनिस्टभन्दा शालिन र सभ्य भएको कार्यकर्ता माझ धारणाहरु राखिने गरेको छ । नेपाली राजनीतिको मुख्य दल र प्रभावशाली दावी गरिने कांग्रेस सबैभन्दा प्रजातान्त्रिक पनि भएको बताइन्छ । तर, १४औं महाधिवेशनपछि कांग्रेस निख्खर प्रजातान्त्रिक होइन कि भन्ने सहजै अनुमान गर्न सकिन्छ । प्रजातन्त्रको रुप नै कांग्रेस भएको दावी गरिएता पनि पछिल्लो गतिविधि अत्यन्तै अराजक देखिएको छ । त्यसका धेरै उदाहरणमध्ये नवनिर्वाचित विश्वप्रकाश शर्मासँग जोडिएको एउटा घटना पर्याप्त छ ।

झापाबाट पहिलो पटक महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा कांग्रेस भित्रै घेराबन्दीमा पारिएका नेता हुन् । उनले महामन्त्रीमा आफुलाई उभ्याइसकेका छन् । प्रतिनिधिहरुले शर्मालाई निर्वाचित पनि गराइ छाडे । तर, उनलाई कांग्रेसभित्रै स्वीकार गरिएको अवस्था छैन । झापाको बिर्तामोडमा बुधबार आयोजित आभार कार्यक्रममा उनका समर्थक सहभागी भए । कार्यकर्ताहरु देखिए पनि नेताहरु सहभागी भएनन् । यसले विश्वप्रकाशलाई महामन्त्रीमा स्वीकार गर्न नसकेको अनुभूति गराएको छ । प्रजातान्त्रिक पार्टीभित्र देखिएको यो हद्को गतिविधिले कार्यकर्ता पक्कै दुखी छन् ।

वैधानिक विधिबाट महामन्त्रीमा निर्वाचित भएका शर्मालाई कांग्रेसको सबै कार्यकर्ताले स्वीकार गर्नैपर्छ । त्यसको कुनै विकल्प छैन । खासगरी झापाका पुराना नेता कृष्ण सिटौलाको समूहले शर्मालाई राजनीतिक रुपमा अवरोध गर्दै आइरहेको छ । त्यसैको प्रभावका कारण बुधबारको कार्यक्रम जिल्लाले आयोजना समेत गरेन । आयोजना गर्ने सन्दर्भ एउटा हो, जिल्लाका सभापति सहित पदाधिकारीहरु समेत सहभागी भएनन् । यसले कांग्रेसमा अझै सुधारको खाँचो देखियो । वीपीको बाटो छाडेर कांग्रेस व्यक्तिवादमा अघि बढिरहेको यस्ता घटनाले देखाउँछ । यसैले कांग्रेसले दावी गरेको पुष्टि गर्न पार्टीभित्र एकता, सद्भाव जरुरी छ । आफ्नै जिल्लाबाट निर्वाचित महामन्त्रीलाई नै अस्वीकार गर्ने हो भने प्रजातान्त्रिक पार्टी भन्नुको अर्थ रहने छैन ।

प्रकाशित मिति : पुष ९, २०७८ शुक्रबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]