बैशाख १९, २०८१ बुधबार

पुरानो बजारको विकास आवश्यक

सम्पादकीय
झापाको पुरानो बजार शनिश्चरेलाई सुन्दर र व्यवस्थित बजार बनाउने कुराले स्थानीयबासी खुशी छन् । स्थानीय तहले स्थानीय र पुरानो बजारको विकासलाई प्राथमिकतामा राखेर काम गर्नैपर्छ । त्यसमा अर्जुनधारा नगरपालिकाले बजार निर्माणका लागि गरेको प्रयास प्रशंसायोग्य छ । बजार त हिजो पनि थियो । चलेकै थियो । त्यस्तै पनि चल्थ्यो । तर, स्थानीय सरकारले आफ्नो दायित्व बमोजिम बजार निर्माणमा लाग्नु विकासमा अर्को इटा थप्नु हो । झापाको पुरानो बजारमध्येको एउटा बजार शनिश्चरे अपेक्षाकृत विकास भइरहेको थिएन । जसका बाबजुत बिर्तामोडको बजार आउनैपर्ने बाध्यता थियो । अब, शनिश्चरे नै विर्तामोडको विकल्प बनाउनुपर्छ ।

धार्मिक एवम् पर्यटकीय हिसावले जिल्लाकै अग्रस्थानमा रहेको अर्जुनधारा हरेक दृष्टिले केन्द्र भागमा छ । शिक्षा, स्वास्थ्य र खानेपानीको उचित सुविधा भएको सो क्षेत्रमा पर्ने शनिश्चरे बजारलाई सौन्दर्य र पर्यटकीय केन्द्रको रुपमा विकास गरिने देखिएको छ । बजारको विकासका लागि स्थानीय नागरिकको सबैभन्दा ठुलो भूमिका हुन्छ । बजार व्यवस्थित भएमा अर्जुनधाराको सौन्दर्य थपिनेछ । बजार व्यवस्थित हुनासाथ व्यवसाय थप हुनेछन् । आफ्नै बजारमा सबै सुविधा नागरिकले पाउँदा समय र पैसाको बचत समेत हुने छ ।

बजार क्षेत्रको विस्तारमा केहि समस्याहरु देखियो । त्यसको समाधान स्थानीय तहबाटै हुनुपर्छ । नगरवासीलाई असहज हुने गरि कुनै काम गर्न हुदैन । तर, स्थानीय तहले आफ्नो नगरवासीको हित विपरित अवश्य सोचेको पनि हुदैन । यदि अझै पनि बजार विस्तारको समस्या भएमा त्यसको संवादबाट समाधान गरेर विकासलाई निरन्तरता दिनुपर्छ । झापाको शनिश्चरे बजारको विकासलाई अन्य पालिकाले पनि सिकाईको रुपमा लिनुपर्छ । पुरानो बजारको संरक्षण सबैको दायित्व हो । त्यसका लागि हरेक जनप्रतिनिधि र सामाजिक अगुवाको भूमिका जरुरी छ ।

प्रकाशित मिति : पुष १२, २०७८ सोमबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]