चैत्र १५, २०८० बिहीबार

दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैन : नेकां महामन्त्री शर्मा

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताउनुभएको छ । आज गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उहाँले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गर्नुभएको हो ।

“कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई धितो राखेर लिइँदैन”, उहाँले एमसिसी संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा राजनीतिक दलबीच विवाद भइरहेको सन्दर्भमा भन्नुभयो, “कसैको सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर सहयोग ग्रहण गर्न सकिँदैन । एमसिसीको विषयमा छलफल र परामर्श गरेर मात्र निष्कर्षमा पुगिनेछ ।” देश विकासका लागि अन्तर्राष्ट्रिय सहयोग सदैव स्वागतयोग्य रहने उल्लेख गर्दै उहाँले राष्ट्रवादको मनोविज्ञानले कहिलेकाहीँ विकासमा अवरोध पु¥याउने गरेकोसमेत चर्चा गर्नुभयो ।

विगतमा अरुण तेस्रो जलविद्युत् परियोजनामा विदेशी लगानी अस्वीकार गरिँदा मुलुक विद्युत्भार कटौतीको चपेटाबाट गुज्रिएको दृष्टान्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो, “राष्ट्रवादको मनोविज्ञानले समाजको प्रगतिमा अवरोध सिर्जना गर्दो रहेछ । विसं २०५१ मा अरुण तेस्रो बनाउन दिएको भए २०६१ मा विद्युत्भार कटौती मुर्दावादको नारा लगाउनैपर्ने थिएन ।” पार्टीभित्रका विभिन्न पदमा मनोनीत गर्ने र विभाग गठनका विषयमा कुनै ढिलासुस्ती नहुने महामन्त्री शर्माले बताउनुभयो । महामन्त्री शर्मा विगत दुई दिनदेखि गृह जिल्लाका पार्टी कार्यक्रममा व्यस्त रहँदै आउनुभएको छ । मङ्गलबार उहाँ कनकाईमा आयोजित तुरषा हेमरम स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी बन्नुभएको थियो ।

प्रकाशित मिति : पुष २१, २०७८ बुधबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]