बैशाख १४, २०८१ शुक्रबार

कृषिमा आशा जगाउँदै बाह्रदशी

सागसब्जी उत्पादनमा रमाएका राजवंशी

झापा – झापा बाह्रदशी –५ का महेन्द्र राजवंशी हरेक दिन खेतवारीमा भेटिन्छन् । उनी वर्षभरि बारीमा व्यवसायिक तरकारी खेती गर्ने गर्छन् । व्यवसायिक तरकारी खेती गरेर उनले परिवार मात्रै धानेका छैनन, जग्गा पनि जोडिसके । बाह्रदशी गाउँपालिकाको पटुवाबारी घर भएका राजवंशी मेहनती किसानको पहिचान बनाउन सफल भएका छन् । उनको कृषि कर्म देखेर जो कोहि प्रशंसा गर्छन् । विहादेखि बेलुकासम्म उनले तरकारी उत्पादनमै श्रम गरिरहेको बताएका छन् ।

वर्षमा विभिन्न जातका तरकारी फलाउने उनको बारीमा अहिले रायो साग, बैगन र आलु छ । खानयोग्य भएपछि कुनै पनि सागसब्जी बजार पुराइहाल्छन् । स्थानीय बजार, गाउँघरमै उनले उत्पादन गरेको सागसब्जी विक्री हुन्छ । हरेक दिन विहान उनी ४ बजे बिर्तामोडको कृषिथोक बजार सब्जी विक्री गर्न आउने गर्छन् । उनका अनुसार अहिले हरेक विहान साग लिएर विर्तामोड जाने गर्छन् । बिर्तामोडको कृषिथोक बजारमा व्यापारीलाई होलसेलमा विक्री गर्दै आएका छन् । होलसेल विक्री गर्दा पनि उनको दैनिक ५ हजार कतै हराउदैन । उनी भन्छन्, दैनिक आम्दानी ५ हजार गर्ने गर्छु ।

महेन्द्र राजवंशी बारीमा वर्ष भरि समय अनुसार तरकारी उब्जाइरहन्छन् । धानवाली भन्दा सागसब्जीमा फाइदा देखेका उनले वर्षौदेखि सागसब्जी खेती गर्दै आएका छन् । सिजन अनुसार राय साग, बैगन, आलु, विन्डी,करेला, घिरौला, काक्रा र धनियाँ उब्जाउने गरेको राजवंशीको भनाई छ । उनको कृषि कर्म देखेर बाह्रदशी गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ । तीन पत्ता राय साग १ केजी सम्म उत्पादन गरेर चर्चा कमाएका राजवंशी सागसब्जी खेतीमा खुशी छन् । उत्पादन र आम्दानी दुवै उनको उद्देश्य अनुरुप भइरहेकाले राजवंशीलाई धान उत्पादनमा जाँगर छैन ।

सागसब्जी उत्पादनमा थोरै लगानी गर्दा पनि धेरै फाइदा हुने उनको अनुभव छ । ५ हजार लगानी गर्दा ३० हजारसम्म नाफा कमाउन सकिने राजवंशीले जानकारी दिए । वर्षमा ४० देखि ५० हजार लगानी गरेर ५ लाखसम्म आम्दानी गरिरहेको उनको भनाई छ । तालिम नभए पनि अनुभवबाटै अहिलेसम्म तरकारी उत्पादन गर्दै आएका महेन्द्रले धनियाँ उत्पादन गरेर पुरस्कार नै पाएको सुनाए । सहारा नेपालले उनलाई पुरस्कृत गरेको राजवंशीले जानकारी दिएका छन् । कृषिमा उनले युवा लक्षित पुरस्कार समेत पाइसकेका छन् । ६० हजार नगद् सहित पुरस्कृत भइसकेका राजवंशीले गाउँपालिकाबाट राम्रो सहयोग प्राप्त गरेको बताए ।

बाह्रदशी गाउँपालिको राजवंशीको मेहनतलाई टेवा पुर्याउन बोरिङ,मोटर, टनेलसहित विऊ विजनमा सहयोग गरिहरेको छ । उनको कृषि कर्म हेर्न बेला बेला विभिन्न जिल्लाका कृषक, कृषि सहकारी समेत आउने गरेका छन् । राजवंशी भन्छन्, धान खेती बेक्कार लाग्छ । धानमा साच्चै भन्नुपर्दा लगानी र मेहनत पनि उठ्दैन । मलाई सागसब्जी उत्पादन मै पोसाइरहेको छ ।

सागसब्जी बेचेर उनले छोराछोरीलाई पढाए । राजवंशी भन्छन्, विदेश–विदेश भन्छन्, मैले यहि सागसब्जी फलाएर सबै कुरा पुरा गरेको छु । भर्खरै पाँच कठ्ठा जग्गा पनि जोडे । उनले कृषि उत्पादनमा रसायनिक मल समेत प्रयोग गर्नु नपरेको सुनाउछन् । म माटोमा धेरै मेहनत गर्छु । माटोमा राम्रो महेनत गर्दा रसायनिक मलको जरुरी पर्दैन, उनले थपे । बालीमा बेला बेला देखिने समस्या समाधान गर्न प्राविधिकलाई गुहार्ने गरेका छन् । धेरै जसो समस्या आफै समाधान गर्ने गरेको उनको भनाई छ । किरा लाग्यो भने उनले निम छर्केर नै किरा मार्ने गरेको जानकारी दिएका छन् ।

गाउँपालिकाको कृषि शाखाले राजवंशी जस्तै मेहनती किसानलाई सहयोग गरेर कृषि कर्ममा प्रोत्साहित गर्ने गरेको जनाएको छ । शाखा प्रमुख आरजु खड्काले किसानको माग अनुसार शाखाले सेवा प्रदान गरिरहेको जानकारी दिइन् ।

…………….
बाह्रदशी गाउँपालिकाले च्याउ उत्पादन गर्न चहाने किसानलाई आवश्यक सहयोग गर्दै च्याउ खेतीमा प्रोत्साहित गरिरहेको छ । स्थानीय किसानलाई सागसब्जीमा आत्मनिर्भर मात्र होइन , व्यवसायिक बनाउन पनि मद्दत गरिरहेको छ । स्थानीय हिरालाल राजवंशीले पनि गाउँपालिकाको सहयोग पाएपछि च्याउमा थप मेहनत गरिरहेका छन् । उनले घर नजिकै ससाना घर बनाएर च्याउ खेती गरिहरेका छन् । घरबाटै विक्रि हुने भएपछि राजवंशी परिवारलाई बजारको तनाव छैन ।

स्थानीय बजार र गाउँघर मै हुने माग पुरा गर्दै आएको च्याउ किसान हिरालाल राजवंशीको भनाई छ । उनले गाउँपालिकाबाट प्राविधिक सहयोग र च्यापकटर पाएका छन् । च्यापकटर पाएकै कारण च्याउ उत्पादनका लागि आवश्यक पराल काट्न सहज भएको छ । प्रविधि र प्राविधिक सहयोग पाएको राजवंशी परिवारले मनग्ये आम्दानी गरिहरेको बताएको छ ।

गाउँपालिका र किसानको आधा–आधा साझेदारीमा च्यापकटर खरिद गरिएको छ । किसानको १७ हजार ५ सयमा गाउँपालिकाले पनि सोही बराबर रकम सहयोग गरेको थियो । अहिले घरमा च्याउ खोज्दै आउनेहरु खाली हात फर्किएर जानु पर्दैन । राजवंशी जस्तै दर्जनौ च्याउ उत्पादक किसान छन्, बाह्रदशीमा । उनीहरुले दक्ष हुनका लागि तालिमको खाँचो भएको बताएका छन् ।
…………
स्वदेश फर्किएर कृषिमा
बाह्रशदी –५ का किसान राजन कार्की गाउँपालिकामा सिँचाईका लागि आवश्यक सहयोग माग गर्दै कृषि शाखामा आएको भेटिए । उनी सागसब्जी उत्पादन गर्ने किसान हुन् । वैदेशिक रोजगारीबाट फर्किएका कार्की ३ वर्षयता कृषि र पशुपालनमा आकर्षित भएका छन् । बैगन,बन्दा लगायतका सागसब्जी उत्पादन गरिरहेका उनले पछिल्लो वर्ष कृषिमा निराश भएको सुनाए । कृषि कर्जाको प्रक्रियामा अनावश्यक झमेला र कामदारको समस्याले कृषिमा उत्साह नभएको उनको भनाई छ । गाउँपालिकाबाट प्राविधिक सहयोग पाइरहेका किसानले सूचना प्रणालीलाई व्यवस्थित गर्नुपर्ने माग गरेका छन् । गाउँपालिकामा आएको कृषि सहायता समयमा जानकारी नहुँदा कृषि लाभान्वित हुन नपाएको गुनासो छ । कार्कीका अनुसार कृषि उत्पादनमा रोगको समस्या जटिल हुने गरेको छ । समयमा उपचार नपाउँदा ठुलो लगानी खेह्र गइरहेको उनको भनाई छ ।

कृषि प्राविधिक बसन्ता लिम्बुले कृषि उत्पादनमा समस्या हुँदा आवश्यक सहजीकरण गर्दै आएको जानकारी दिइन् । उनले किसानले राखेका समस्याको सम्बोधन गर्दै, विरुवा नै बोकेर आउने किसानको बारीसम्म नै पुगेर समाधान खोज्ने गरेको बताइन् । उनका अनुसार किसानलाई परम्परागत ज्ञान धेरै भएको जानकारी दिइन् । उनले भनिन्, किसानलाई विषादीको प्रयोग र वीउको मात्राका बारेमा जानकारी छ । खाद्यमा भन्दा पनि बाह्रदशीका किसान सागसब्जी उत्पादनमा केन्द्रीत भएका छन् ।

यस्तै, बाह्रदशी गाउँपालिकाले माछा उत्पादनमा किसानलाई पोखरी मर्मत देखि सरसफाईसम्म सहयोग गर्दै आएको छ । पोखरीको सरसफाईका लागि आवश्यक चुन समेत उपलब्ध गराइरहेको छ । पोखरी निर्माणमा सहयोग, माछाका भुरा उत्पादनमा सहायतामा पालिकाले शत प्रतिशत सहयोग गरिरहेको छ । पशुचौपायलाई चौमासिक रुपमा औषधि उपचार र घाँसको वीउ वितरणमा समेत पालिकाले योगदान गर्दै आएको छ ।

पशुचौपायको स्वास्थ्यका लागि गोठ सुधार कार्यक्रम समेत सञ्चालन गरिएको छ । बंगुर पकेट कार्यक्रममा पालिकाको ठसलो सहयोग छ । यस्तै, पशु तथा मत्स्य विकास शाखाले ड्रायर मेसिनका लागि सहयोग आर्थिक वर्ष ०७७-७८ मा १ करोड १५ लाख र आर्थिक वर्ष ०७८-७९ मा ३१ लाख बजेट व्यवस्था गरिएको बताइएको छ । गाउँपालिकाभित्र समग्र कृषि र पशु पालनको क्षेत्रमा नयाँ उत्साह जगाउने कार्यपालिकाको योजना विस्तारै सफलता उन्मुख देखिन्छ ।

गाउँपालिकाले कृषि क्षेत्रमा पर्याप्त संभावना भएकै कारण लाखौं लाख लगानी गरेर कृषि क्षेत्र सम्बन्धित तालिहरु समेत सञ्चालन गरिरहेको अवस्था छ । विगतमा भन्दा पृथक र आधुनिक हिसावले कृषि क्षेत्रलाई अघि बढाउने जनप्रतिनिधि बताउँछन् ।
……..
किसानलाई सबै सहयोग दिदैं गाउँपालिका
झापाको बाह्रदशी गाउँपालिकाले कृषि शाखा मार्फत कृषि क्षेत्रको समग्र विकासका लागि किसानलाई उपकरण, वीउ, तालिम र अनुदानमा सहयोग गर्दै आएको छ । बाह्रदशी गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै किसानका लागि आवश्यक प्राविधिक सहयोग देखि उपकरणमा समेत साझेदारी गर्दै आएको छ । बाह्रदशीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना समेत सञ्चालित छ । गाउँपालिका क्षेत्रमा मकै पकेट कार्यक्रम सञ्चालनमा छन् । २ वटा पकेट कार्यक्रम अन्तर्गत किसान मकै खेतीमा आकर्षित भएका छन् ।
कम्तिमा ३० विगाहको प्लट बनाएर मकै पकेट क्षेत्र कार्यक्रम सञ्चालन गर्दै आएको कृषि शाखा आरजु खड्काले जानकारी दिइन् । उनका अनुसार समुदायमा सञ्चालक समिति बनाएर सो कार्यक्रम चलाइएको छ । कृषक समूह मार्फत साझेदारीमा पकेट कार्यक्रमहरु सञ्चालन गर्दै आएको कृषि शाखा खड्काको भनाई छ ।

शाखाको तर्फबाट सिँचाईमा सहजीकरण, भण्डारणमा सहयोगको कामलाई पालिकाको तर्फबाट निरन्तर रुपमा अघि बढाइएको छ । मकै पकेट कार्यक्रम मार्फत उत्पादन गरिएको मकै स्थानीय बजार मै विक्रिको प्रवन्ध मिलाइएको छ । किसाले मकैको बजारका लागि अन्यत्र जानै पर्ने बाध्यता छैन । पालिकाले आवश्यक उपकरण साझेदारीमा ५०-५० प्रतिशत साझेदारी गर्दै आएको छ ।
यस्तै, मकै प्रवद्र्धन कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको ३० लाख बजेटबाट काम गरिएको छ । कार्यविधि अनुसार सञ्चालित सो कार्यक्रमबाट १२ सय परिवार लाभान्वित छन् ।

यस्तै, बाह्रदशीले च्याउ खेती गर्ने किसानलाई पराल काट्ने मेसिन, उसिन्ने ड्रम, तालिम र वीउ प्रदान गर्दै आएको छ । च्याउ खेती गर्ने किसानलाई शुरुआत देखि नै सहायता प्रदान गरिरहेको प्रमुख खड्का बताउछिन् ।

मकैका लागि बोरिङ, मोटर र स्प्रे ट्याङकी उपलब्ध गराउदै आएको छ । ७९ थान बोरिङ, ६८ थान मोटर किसानले हात पारेका छन् । सो सामग्रीमा २५ प्रतिशत किसानको र ७५ प्रतिशत गाउँपालिकाको अनुदान रहेको छ । गाउँपालिकाले किसानलाई दिइरहेको सहयोग भन्दा पनि महत्वपूर्ण माटोको गुणस्तर जाँच गरेकोमा किसान खुशी छन् । उनीहरु खेतवारीमा माटो जाँच गरेर समस्या अनुसार उपचारका लागि गाउँपालिकाले किट, चुन उपलब्ध गराइरहेको छ ।

कृषि शाखा प्रमुख आरजु खड्काले गाउँपालिकाले काम थालनी गरे पश्चात किसानलाई यान्त्रिकरणमा ठुलो सहयोग प्राप्त गरिहरेको बताइन् । यान्त्रिकरणसँगै किसानलाई प्राविधिक ज्ञानको खाँचो थियो । उनीहरुलाई आवश्यकता अनुसार प्राविधिक ज्ञान समेत दिइरहेको अवस्था छ । राज्यबाट आएको सुविधालाई सहजै किसानसम्म पुराउन शाखाले महत्वपूर्ण योगदान गरेको उनको भनाई छ ।

गुर पकेट कार्यक्रम
गाउँपालिकाले वडा नं. ६ स्थित डाँडागाउँमा बंगुर पकेट कार्यक्रम सञ्चालन गरिरहेको छ । किसान र पकेट कार्यक्रममा स्थानीय साधुकुटी कृषि सहकारीले समन्वयको काम गर्दै आएको छ । सो सहकारीका अध्यक्ष ज्ञानु सुवेदीका अनुसार किसानलाई बंगुर पकेटका लागि सिफारिस गरेको बताए । सोही अनुसार गाउँपालिकाले बंगुरका पाठा र खोर निर्माणमा सहयोग गरेको छ । किसानले कम्तिमा १० वटादेखि ४० वटा पाठा पालिरहेका छन् । बंगुर पकेट कार्यक्रमबाट किसानले मनग्ये आम्दानी गर्ने कार्यक्रमलाई प्रभावकारी भएको पुष्टि गर्ने विश्वास गरिएको छ ।
कृषि शाखाले उपलब्ध गराएको स्प्रे टेंकीबाट १५०, ड्याङ लगाउने हलोबाट ४००, त्रिपालबाट ३५०, सरेतोबाट ४००, सिचाई पाइपबाट ५००, ४ इन्च बोरिङ पाइप सेटबाट ५५०, ३ इन्च मोटरबाट ६००, च्याफ्कटरबाट ३५०, मिनि कर्नसेलरबाट १०००, डिजेल पम्पसेटबाट ५०, रोडाभेटर २०००, कर्न थ्रेसर २०००, पावर टिलरबाट २००० किसान लाभान्वित भएको तथ्याङक रहेको छ ।
बाह्रदशी सेरोफेरो

प्रकाशित मिति : पुष २७, २०७८ मंगलबार  ६ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]