कोरोना सञ्जाल रोक्न हप्तादिन बन्द गरौं
सम्पादकीय
झापामा दिनप्रतिदिन कोरोना संक्रमण दर उच्च छ । पुस १ गते जिल्लामा जम्मा ४ जनालाई कोरोना पुष्टि भएको थियो । त्यसको ठिक एक महिनापछि दैनिक १५० जनामा कोरोना भइरहेको छ । झापाका सबै स्थानीय तहमा कोभिडको संक्रमण उस्तै छ । खुल्ला सीमाका कारण जिल्लामा संक्रमण उकालो लागिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झापा सहित १४ वटा जिल्लालाई रेड जोनमा राखिसक्यो । सक्रिय संक्रमितको संख्या ५ सय भन्दा उकालो लागेपछि त्यस जिल्लालाई मन्त्रालयले रेड जोनमा राख्दै आएको छ ।
कर्मचारी, जनप्रतिनिधि र स्थानीयबासीमा संक्रमण दर तीब्र रुपमा फैलिएपछि लकडाउन गर्ने निर्णय समेत हुन थालेका छन् । हल्दिवारी गाउँपालिका वडा नं. १ ले आफ्नो भूगोल क्षेत्रभित्र लकडाउन गरिसकेको छ । शुक्रवारदेखि लागु हुने गरि गरिएको लकडाउन नागरिकको स्वास्थ्य सुरक्षाका लागि हो । यस्तै, कनकाई नगरपालिकाले पनि जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण भएको बताउँदै हप्तादिनलाई सेवा बन्द गरेको छ । सेवा बन्द गर्नुको मुल उद्देश्य पनि सुरक्षा नै हो ।
अब, झापा नै रेड जोनमा परिसकेपछि यहाँ धेरै आदर्शका कुरा गर्न छोडेर नागरिकको ज्यान जोगाउन स्थानीय तह सचेत हुनैपर्छ । हल्दिवारी र कनकाईले जस्तै सतर्कता अपनाउन जरुरी भइसकेको छ । बिर्तामोड नगरपालिका, मेचीनगर सहित अन्य पालिकाभित्र प्रमुख, उपप्रमुख नै संक्रमित भइसकेका छन् । कर्मचारी प्रमुख पनि कोभिड संक्रमित भएका छन् । मानवीय चहलपहल हुने ठाउँहरुमा कोभिड फैलिसकेको छ । अटेरी गर्ने अहिले व्यापारी मात्रै हुन् । यसैले बजार क्षेत्रमा विशेष कडाई नगर्ने हो भने कोभिड व्यापक हुँदैछ । कोभिडको सञ्जाल तोड्नलाई कम्तिमा हप्तादिन बन्द गर्नैपर्छ ।