बैशाख २०, २०८१ बिहीबार

स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न राष्ट्रिय युवा संघ झापाको माग

बिर्तामोड । वर्तमान सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि, महंगी, सरकारको जिम्मेवार तहमा बसेका व्यक्तिहरुको असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने सत्ताधारी दलहरुको चलखेलका विरुद्धमा राष्ट्रिय युवा संघ नेपाल झापाले विर्तामोडको मुक्तिचौकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष सागर पोर्तेलले परमादेशबाट बनेको सरकारले संवैधानिक व्यवस्था बमोजिम स्थानीय तहको निर्वाचन तोकिएको समयमा नगरी जनताको सबैभन्दा नजिकको सरकारलाई जनप्रतिनिधिबिहीन बनाएर कर्मचारी मार्फत केही समय संचालन गरि आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न सत्ताधारी दलहरु लागि परेको आरोप लगाए । उनले स्थानीय तहको निर्वाचनको मिति अविलम्ब घोषणा गर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

त्यस्तै पेट्रोलियम पदार्थ लगायतमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने, रौतहटको एक कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनु कुमारी यादवले दिएको हिंसात्मक अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै निजलाई मन्त्री पदबाट तत्काल बर्खास्त गर्नुपर्ने र कोभिड–१९ को महामारी नियन्त्रणका लागि आवश्यक प्रवन्ध मिलाउनु पर्ने बताए ।

राष्ट्रिय युवा संघ नेपाल झापाका अध्यक्ष सागर पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा संघकी पूर्व स्थायी कमिटी सदस्य, १ न. प्रदेश अध्यक्ष अनिता कन्दङ्वा, संघका केन्द्रीय सदस्य शम्भु भण्डारी लगायतले सम्बोधन गरेका थिए भने जिल्ला कमिटी सदस्य केशव भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।

विरोधमा सहभागीहरुले स्थानीय तह निर्वाचनको मिति घोषणा गर, परमादेश सरकार मुर्दावाद, रेनु यादवलाई बर्खास्त गर, भारतीय विस्तारवाद मुर्दावाद, २४ लाख खोप कहाँ छ ? लगायतका नारा लगाइएको थियो ।

प्रकाशित मिति : माघ १२, २०७८ बुधबार  ९ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]