जेष्ठ २७, २०८२ सोमबार

आगामी जेठभित्र स्थानीय तहको निर्वाचन

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठभित्र हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय उच्चस्तरीय संयन्त्रले सो सुझाव दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताउनुभयो । बैठकले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको हो । बैठकले संविधानसँग बाझिएका कानून तथा ऐन संशोधन गर्नुपर्ने भए त्यो तयारीका लागि समेत सरकारलाई सुझाव दिएको उहाँले बताउनुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तय गर्छ ।” विसं २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । त्यसलाई समेत मध्यनजर गरी संविधानसँग बाझिएका कानुन मिलाएर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने उहाँले बताउनुभयो । देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन लोकतान्त्रिक मूल्यअनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जानमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : माघ १५, २०७८ शनिबार  ९ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]