जेष्ठ ७, २०८१ सोमबार

कमरेड माधव, अब प्राप्त गर्न के बाँकी छ ?

गणेश पोखरेल

कमरेड माधव नेपाल
नेता नेपाल कम्युनिष्ट पार्टी

कमरेड, माधव नेपाल तपाईं जस्तो शीर्ष नेतालाई एउटा नेकपाको चवन्नी सदस्यले सुझाव दिँदा राम्रो त न होला, तर पनि नेपाल कम्युनिष्ट पार्टी नेकपाको पछिल्लो बैठक र तपाईंका पक्षमा लेखिएका केही लेख हेरेपछि मन थाम्न सकिन र यो पत्र लेख्तै छु । मलाई विश्वास छ, कुनै न कुनै माध्यमबाट तपाईंसम्म पुग्ने छ ।
कमरेड, भर्खरै अमेरिकाको अलास्काका एक व्यक्तिले दाउरा खोज्दै गर्दा ५० वर्ष पुरानो पत्र फेला पारेका छन् । एक रुसी व्यक्तिले लेखेको पत्र उनले रक्सीको बोतलमा राखिएको अवस्थामा भेट्टाएका हुन् ।

अलास्काका टाइलर आइभनोफले रक्सीको बोतलमा बन्द गरेर राखिएको अवस्थामा रुसी भाषामा लेखिएको पत्र फेला पारे । सो पत्र सन् १९६९ मा लेखिएको खुलेको छ ।
टाइलरले रुसी भाषामा लेखिएको पत्र भेट्टाएपछि त्यसको अंग्रेजी अनुवादका लागि अपिल गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । अनुवादपछि थाहा भयो कि सो पत्र सन् १९६९ को जुन २० मा रुसी पानी जहाजमा रहेका रुसी समुद्री सैनिकले लेखेका थिए । रुसी सञ्चारमाध्यमले पत्र सम्बन्धी स्टोरी कभर गरे । रुसी सञ्चारमाध्यमले पत्रका लेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको खोजी गरे ।


अहिले ८६ वर्षका एनातोलीलाई पत्रका बारेमा बताउँदा उनले आँसु रोक्न सकेनन् । उनले रुसी टेलिभिजन रोसिया वानसँग भनेका छन्, ‘यो मेरो लेखाइ हो ।’ उनले पत्र अपरिचित अर्थात् प्राप्त गर्नेका लागि लेखेका थिए ।
यो प्रसंगले पनि पत्र लेख्न मलाई साहस दियो । तपाईले आज पढ्न नभेटे पनि कुनै दिन आजको परिस्थिति थाहा हुनेछ ।

कमरेड, नेकपाको पार्टी एकीकरणका सबै प्रक्रिया पूरा गर्न तपाईंको महत्पूर्ण भुमिका छ । तपाईंले नै राखेको अडानका कारण हिजो निर्वाचित भएका नेकपा एमालेका नेता कार्यकर्ता पहिलेको पद पाउन सफल भएका छन् । झापाका अध्यक्ष तिलचन पाठकले तपाईंको यो सहयोगलाई कहिल्यै पनि भुल्नु हुने छैन । किनकि उहाँले अध्यक्ष भएर गरेको कामले पार्टीलाई खासै प्रगति पथमा लगेको थिएन । पार्टी अध्यक्षका लागि झापामा अरु पनि नेता कार्यकर्ताको दाबी थियो । तपाईंको विगतका नेतालाई नै अहिले नेता मान्नु पर्छ भन्ने अडानले उहाँ निर्विकल्प नेता हुनु भएको छ । यो गुन चुकाउन उहाँले सहयोग गर्नु हुनेछ ।


झापाको यस्तो अवस्था हुँदा मोरङका निर्विवाद अध्यक्षमा सिफारिस भएका ऋषि पोखरेल र इलामका भक्त केसीहरुले तपाईंका कारण जिल्लाको सर्वसम्मत सिफारिस गुमाउनु पर्दा के सोच्तै हुनुहुँदो हो, त्यो त समयले नै बताउला । तर, जे होस्, तपाईंले उठाउनु भएको एजेण्डा पार्टीको एजेण्डा बन्यो र कार्यकर्ता कसैले पाउनुभयो, कसैले गुमाउनुभयो ।

यहाँको एजेण्डा पास भएपछि त्यसै अनुसार यहाँले पाउनु भएको वरिष्ठ नेताको फुली तत्कालिन एमालेका बरिष्ठ नेता झलनाथ खनालको काँधमा पुगेको यर्थाथबाट विचलित हुन यहाँले सुहाउने कुरा होइन । तत्कालिन एमालेमा अध्यक्षपछिको मर्यादा क्रममा झलनाथ खनाल नै हुनुहुन्थ्यो । विष्णु पौडेललाई महासचिव बनाए वापत म वरिष्ठ नेता हुनपर्छ भन्ने तर्क सुहाउँदो छैन । यसले तपाईंको ओझ घटाउने कुरा मात्र हो । पार्टीलाई यहाँसम्म ल्याउने कुरामा तपाईंले जति नै योगदान गर्ने थुप्रै नेताहरु अहिले पनि झापातिर हुनुहुन्छ । पद र भुमिकाले तपाईं माथि हुनुहुन्थ्यो, हुनुुहुन्छ र हुनुहुनेछ ।


अर्को प्रसंग, तपाईंलाई पहिले प्रधानमन्त्रीबाट राजीनामा नदिन कमरेड केपी शर्मा ओलीले पटक–पटक आग्रह गर्नु भएको र तपाईंले नमानेपछि ९ महिनासम्म कामचलाउ बन्नु भएको हामी कार्यकर्ताले सुनेका थियौं । तपाईंलाई पहिले प्रधानमन्त्री बनाउन पनि उहाँले नै वातावरण बनाएको चर्चा थियो । यथार्थ त तपाईहरुलाई थाहा होला ।

हिजो केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनु भएपछि दलको नेताका हैसियतमा तपाईंले संसदमा गरेको सम्वोधन हामीले विर्सिएका थियौं । पछिल्लो समयमा पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली विदेश भ्रमणमा गएको बेला तपाईंले देश डुब्नै लागेको देखेर संसदमा सम्वोधन गरेको हेर्दा लाग्छ यहाँले के देखिरहनु भएको छ भन्ने तपाईंको पार्टीका हामी जस्ता चवन्नी कार्यकर्ताले मात्र होइन, तपाईंलाई मतदान गर्ने जनताले पनि थाहा पाएका छन् । यस्तो कुराले तपाईंप्रतिको हाम्रो श्रद्धालाई खियाउने काम मात्र गरेको छ ।


कुरा त थुप्रै छन्, बुटबलको महाधिवेशनपछि कमरेड केपी शर्मा ओलीको मर्यादा क्रम यहाँले कहाँ पुर्याउनु भएको थियो ? एक पटक त्यो पनि स्मरण गर्ने हो कि । झापामा युवा संघले कार्यक्रम गरेर त्यो विषयलाई समाधान गर्न दवाव दिएको हामी झापालीले झल्झली सम्झिरहेका छौं । पार्टी अध्यक्ष ओलीले चुनावी सभालाई सम्वोधन गर्दै ताप्लेजुङमा योगेश भट्टराईलाई जिताएर पठाउनु म मन्त्री बनाएर फिर्ता गर्छु भनेको विषय चुनावभर प्रिय बन्यो ।

चुनावपछि सरकार बन्ने बेलाभयो, पार्टी अध्यक्षले नाम माग्दा तपाईंले योगेश होइन, लालबाबु पण्डितको नाम दिएको चर्चा त्यति बेलै सुनेको हो । प्रदेश सरकार बन्ने भयो, ३ नम्वर प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई बनाउन केपी ओली बाध्य भइहाल्छन्, १ नम्वरमा चुनाव गरौं भनेर लागेको पनि समाचारहरुमै पढेको हो । भरे १ र ३ दुबैमा यहाँको इच्छा पुरा भएन रे भन्ने चर्चा थियो । यसमा कमरेडको विचार सुन्न पाइएन ।


स्थानीय तहमा झापामा केपी शर्मा ओलीको समुहका १४ जना मेयर र अध्यक्षका उम्मेद्वार हल्दिवारीमा मात्र माधव नेपाल समुहको उम्मेद्वार भएकाले ओली भोट माग्नै गएनन् भनेर प्रयोजित समाचार लेखाइयो । के यथार्थ त्यस्तो हो र कमरेड ? आफु केन्द्रित मात्र होइन, पार्टी केन्द्रित राजनीति गरे हामी कार्यकर्ता खुशी हुने कुरा यहाँलाई जाहेर गर्न चाहन्छु । एमाले हुँदै त ठुलो पार्टी हजुरहरुसँग राजनीति गरेका नै थुप्रै नेता हुनुहुन्छ ।

नेकपा भएपछि सबैलाई पद पुग्ने कुरा कठिन नै छ । तपाईंहरु नै हो भोलि पनि अध्यक्ष र प्रधानमन्त्री हुने हामीलाई त के चाहिएको छ र ? हामीलाई त राम्रो पुल, बाटो भए रोजगारी गरेर दुईछाक खान पाए पुग्छ । त्यो तपाईंले सबैका लागि त बनाउने हो नि । त्यसमा हामीसँग नै कर उठाएर बनाई दिए हुन्छ भनेकै छौं नि ।
बामदेव गौतमसँग ओलीको झगडा होस्, झलनाथ खनालसँग ओलीको झगडा होस्, पुष्पकमल दाहाल प्रचण्डसँग झगडा होस्, अहिलेको सरकारले केही काम गर्न नसक्ने वातावरण बनाउन पाए हुन्थ्यो भन्ने किन तपाईंले सोच्नु हुन्थ्यो होला र ? अहिले राम्रो काम गरे त भोलिको चुनावमा पनि जितिने होला नि । अहिले सबै नेता मिलेर राम्रो काम गर्दा के विग्रन्छ होला र ? कता–कता कतै उल्टो त हुँदै छैन भनेर चवन्नी कार्यकर्तालाई पनि लाग्न थालेको छ ।

आफ्नै एजेण्डा स्थापित हुँदा पनि किन नोटअफ डिसेन्ट लेख्नु र ? झापामा जिल्ला इञ्चार्ज देवेन्द्र दाहाललाई बनाउन अध्यक्ष ओलीलाई मन थियो । कमरेडकै प्रस्ताव पास भएपछि अहिले रविन कोइराला इञ्चार्ज हुनुहुन्छ । हामीलाई जो भए पनि नेकपा राम्रो भन्ने जनताले भने हुन्छ त्यो तपाईंले गरे पनि हुन्छ केपी शर्मा ओली वा प्रचण्ड जसले गर्नु भए पनि हुन्छ । झापामा सबै कार्यकर्तालाई समान व्यवहार रविन कोइरालाले गरे पनि हुन्छ, देवेन्द्र दाहालले गरे पनि हुन्छ ।
प्रिय कमरेड
केही कार्यकर्ताले माधव नेपालले गुमाउने केही छैन भनेर लेखेको पनि देखियो । तपाईंलाई त्यत्तिकै उक्साइ रहेको जस्तो मलाई लागेको छ । हिजो लामो समय तपाईं पार्टी प्रमुख हुँदाको पार्टीको अवस्था पनि हामीले हेरेकै हो । तपाईंले प्रधानमन्त्री भएर पनि काम गरेकै हो । तपाईंले पाउन बाँकी नै के रहेको छ र ? गुमाउनु पर्ने ? फेरि पार्टी अध्यक्ष र प्रधानमन्त्री तपाई बने पनि हुन्छ नबने पनि हुन्छ ।

तर, नेपाल कम्युनिष्ट पार्टीले अलिक लामो समय सरकार चलाएर रोजगारीका अवसर सिर्जना गर्ने, रोजगार नभएर भौतारिनु पर्ने अवस्थालाई अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा भत्तालाई बढाउने, विकास निर्माणको कामलाई तीब्रता दिने जस्ता काम गरे हुन्थ्यो भन्नेसम्म न हो । त्यसका लागि कारेड प्रतिबद्ध भएको कुरामा मलाई शंका छैन । तर, तपाईंलाई सिराने हालेर पद पाउन तछाड मछाड गर्नेहरुबाट कमरेड सजग रहने हो कि ?


कमरेड, झापामा त्यस्तै देखिँदै छ । काठमाडौंमा बसेर व्यपार गर्नेहरु सम्पर्क मञ्चका नाममा मन्त्रीका पिए त बन्दै थिए । हामी झापा बस्नेलाई त्यति सरोकार पनि थिएन । तर, अहिले त तपाईंले बनाउनु भएका अध्यक्षलाई सिराने हालेर जिल्लाको सानो राजनीतिक नियुक्ति हुने ठाउँ खेलकुद विकास समिति पनि छोड्दैनन् रे । अध्यक्षका उत्तराधिकारी पनि उतैबाट आयात हुन्छन् रे । यस्तो अवस्था कति दिन टिक्ला र ? पार्टीमा अधिवेशनहरु पनि हुन्छन् होला नि । अर्को पार्टीसँग चुनाव भिड्दा पो आफ्नो पार्टी हेर्नु पर्छ त । आफ्नै पार्टीका अधिवेशनका चुनावमा हिसाव मिलान भइहाल्छ नि । पाउने र गुमाउने हजुरहरुले नै हो । जनतालाई के गुमाउनु छ र ? कसैले निर्णय गरेर सुर्य भोट नहाल भन्न सक्ने होइन ।


कमरेड, हजुरले प्राप्त गरेर थोत्रा बनाएका पद नै अहिले कमरेड केपी शर्मा ओलीले चलाउँदै हुनुहुन्छ । उहाँसँग पनि मेरो लिनु केही छैन । बरु चुनावको बेलामा उहाँको निर्वाचन क्षेत्रमा रहेका नातागोतालाई भोट उहाँलाई नै दिनु है भन्नेसम्म हो । हजुरसँगको पनि सम्वन्ध त्यति त सधैं रहेकै त छ नि । नोट अफ डिसेन्ट लेखेर जोरीपारिलाई किन हँसाउनु र ? पाँच वटा भातृ संगठनमा जुनियर परे भन्ने यहाँको तर्कको पनि तुक छ जस्तो लागेन ।

कमरेड रविन कोइराला र तिलचन पाठकले नियुक्त गर्नु भएका जिल्ला सदस्य, क्षेत्रीय र नगर संयोजक, अध्यक्षहरु हेरेर मैले त चित्त बुझाएँ । हजुरले पनि चित्त बुझाए फरक पर्ला जस्तो लागेन । आजलाई यत्ति नै कमरेड, कुनै दिन हजुरको दर्शन प्राप्त भयो भने थप भनौंला ।
उही चवन्नी कार्यकर्ता
विर्तामोड, झापा ।

प्रकाशित मिति : भाद्र ५, २०७६ बिहीबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]