बैशाख २५, २०८१ मंगलबार

एमसीसीमा जनता झुक्याउने प्रचण्ड

सम्पादकीय

सत्ताका लागि सधैं जताततै ढल्किने माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको सन्दर्भमा लिदैं आएको अडान भताभुंग भयो । सत्ताका लागि जे गर्छन् भन्ने भनाईलाई प्रचण्डले व्यवहारमा पुष्टि गरे । एमसीसीका सन्दर्भमा निकै राष्ट्रवादी सावित गर्न खोजेका प्रचण्डले भित्रभित्रै गरेको गोप्य सहमति पत्रले उनको राजनीतिलाई उदाङ्गो पारेको छ । एमसीसीका सन्दर्भमा सबैभन्दा राष्ट्रवादी सावित गर्न खोजेका प्रचण्डले फागुन १६ गतेबाट कार्यान्वयन गर्ने गरि प्रतिबद्धता पत्र पठाएको सार्वजनिक भयो ।

आइतवार विहान सार्वजनिक भएको पत्र निकै गोप्य बनाइएको थियो । चार महिनासम्म गोप्य राखिएको प्रतिवद्धता पत्र सार्वजनिक गरेपछि प्रचण्डको राजनीतिक जीवनमा ठुलो संकट आइपरेको छ । यदि नैतिकताको ख्याल गर्छन् भने यो भन्दा ठुलो नैतिक संकट कमै आइपर्नेछ । उनले आफ्नो बचाउका लागि विभिन्न अस्त्र प्रयोग गरिरहेका छन् । उनले सत्ता गठबन्धन टिकाउनका लागि हस्ताक्षर गरेको प्रस्ट्याएका छन् । उनले झुटमाथि झुट थपिरहेका छन् । यदि उनले ठिक गरेका थिए भने हस्ताक्षर गरेको कुरा जनतालाई जानकारी गराउने थिए । यो झुटलाई अब चोख्याउन गाह्रो छ ।

नेपालको राजनीतिमा निकै चतुर मानिएका प्रचण्ड सत्ताको रसका लागि जस्तोसुकै प्रतिवद्धता गर्ने रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ । एमसीसीसँग देउवा र प्रचण्डले मागेको समय नजिक आइसकेको छ । सत्ता जोगाउन गरिएको गलत अभ्यासले दुवैलाई नैतिक संकट बनाएको छ । राष्ट्रिय मुद्धामा राष्ट्रिय सहमति गर्नुपर्छ । परमादेशले बनेको सरकारले जे गरे पनि छुट पाइन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । प्रचण्डले गर्दै आएको छलकपटबाट जनता अब मुक्त हुनुपर्छ ।

प्रकाशित मिति : माघ २४, २०७८ सोमबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]