एमसीसी ‘साइड इफेक्ट’ : निर्वाचन घोषणा, गठबन्धन खारेज
काठमाडौं– दुई दिनदेखि नेपाली राजनीतिले फटाफट फरक कोर्ष लिइरहेको छ । खासगरी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मा सत्तारुढ पार्टीबाट असहयोग भएपछि प्रधानमन्त्रीले चुनावी पाइला चालेका छन् ।
एमसीसीमा सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो मापदण्ड लिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिलाई आफ्नो बाटोमा छाडिदिएका छन् । प्रधानमन्त्री देउवासहित संयुक्त पत्र लेखेर एमसीसी पारित गर्ने वचन दिएका दाहाल पछि हटेपछि देउवा आक्रामक बनेका हन् ।
एमसीसीमा पार्टीभित्र सहमति जुटाउन नसक्नुभएका दाहालले चुनावमा घट्दो जनमतलाई थप क्षति हुन नदिन पछि हटेका थिए । एमसीसीले पत्र सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसमेतलाई साथमा लिएर चुनावको बाटो तय गरेका हुन् । त्यतिमात्र होइन प्रधानमन्त्रीले सत्तारुढ प्रमुख घटक माधवकुमार नेपालको समर्थनको बेवास्ता गरेका छन् ।
दाहाल र एमालेबाट सानो समूहसहित अलग भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक वर्षपछि चुनाव सार्न दिएको दबाब देउवाले अस्वीकार गरेका छन् । देउवाको ‘मुभ’बाट स्पष्ट चित्र देखिएको छ कि नेपाली कांग्रेस सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी सहकार्य गर्न अनिच्छुक छ । देउवाले चुनावी गठबन्धन समेत खारेज गरेका हुन् ।
दाहाल र नेपालले तीन महिनाअघि नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग चुनाव सार्न प्रस्ताव गरेका थिए । तर, विद्यमान कानूनले एक दिन पनि स्थानीय तहमा जनप्रतिनिधि रिक्त हुन नदिएकाले थपलियाले मानेका थिएनन् । प्रधानमन्त्री देउवालाई जसोतसो मनाए पनि प्रमुख विपक्षी दल नेकपा एमालेको दबाब, स्वयं नेपाली कांग्रेसका नेताहरुको चुनावप्रतिको अडानले दाहाल र नेपालको केही चलेन ।
एकीकृत समाजवादी अध्यक्ष नेपालले त अर्कोवर्षको फागुनसम्म चुनाव धकेलिने सार्वजनिक कार्यक्रममै भनेका थिए । २०७४ को स्थानीय चुनावमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन त्याग गरेका प्रधानमन्त्री देउवा पुनः त्यही असजस दोहो¥याउने मुडमा देखिएका छैनन् । त्यसमाथि सभापतिका निटकतम् प्रतिद्वन्द्वी शेखर कोइराला, जोडी महामन्त्रीदेखि कांग्रेसका नेताहरु एकल प्रतिस्पर्धाको पक्षमा छन् ।
एमसीसी प्रकरणले धरमराएको सत्ता गठबन्धनको आगामी यात्राको स्पष्ट चित्र केही सातामै देखिने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।