जेष्ठ २, २०८१ बुधबार

दुई महिनामै सरुवाको पत्र आएपछि भद्रपुरका मेयरलाई हाकिमको काउन्टर

बिर्तामोड । भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मी बिच अहिले बोलचाल बन्द छ । उनीहरु बिचमा औपचारिकता कै लागि मात्र बोलचाल हुने गरेको छ । मेयर र हाकिम बिचमा शुरुदेखि टिउनिङ नमिलेको नगरका एक कर्मचारी बताएँछन् । नगरभित्र कै जानकारहरु भन्छन्, कुरा नमिलेकै कारण मेयर श्रेष्ठले रेग्मीलाई सरुवा गर्न मन्त्रालयलाई भने ।

गत असोज ६ गते नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई २ महिनामै सरुवाको पत्र प्राप्त भयो । नगर प्रमुख मेयरले आफ्नो शक्ति प्रयोग गरेर हाकिमलाई सरुवाको पत्र थमाउन सफल भए । मेयर र हाकिम बिचको लफडाले मन्त्रालयले समेत सरुवाको पत्र पठायो ।

यता, पहुँच भएका हाकिम रेग्मीले मेयरलाई टेरेनन् । उनले सरुवालाई काउन्टर दिदैं सरुवा रोक्का (थमौती) पत्र ल्याए । उनलाई मन्त्रालयले नै थमौति गरिदियो । मेयरको सरुवा रोकेर हाकिम रेग्मी अहिले भद्रपुर मै काम गरिरहेका छन् । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले २ वर्षसम्म भद्रपुर मै काम गर्ने भन्दै मन्त्रालयलाई निवेदन दिएका थिए । निवेदनकै आधारमा मेयरको सरुवा गर्ने धोको अपुरो भएको छ । मन्त्रालयको पत्रले मेयरभन्दा प्रशासकीय अधिकृतलाई शक्तिशाली बनाएको छ ।

उनीहरु बिचमा पुस ५ गतेको एउटा कार्यक्रम तयारीका सन्दर्भमा विवाद भएको थियो । प्राप्त सूचना अनुसार बालमैत्री दिवस मनाउने कार्यक्रमको तयारी हुँदै गर्दा मेयर र हाकिम बिचमा विवाद भएको हो । मेयर र हाकिम बिचमा झण्डै कुटाकुट नै भएको प्रत्यक्षदर्शी बताउँछन् ।
हाकिमले आफ्नो जिम्मेवारी पुरा नगरेको र मेयरले कर्मचारीको जस्तो भूमिका निभाउन खोज्दा विवाद शुरु भएको बुझिएको छ । सोही कार्यक्रमको तयारीका सन्दर्भमा नगर परिसरमा अवेरसम्म विवाद भएको एक कर्मचारी बताउँछन् ।

इजलाससित कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने, असोजमा हाजिर भएको पुस मै सरुवाको पत्र आयो । केहि दिनमै मन्त्रालयले थमौतिको पत्र पठायो । किन सरुवा भयो भन्ने बारे आफु जानकार नभएको उनको भनाई छ ।

संघीय मामिला मन्त्रालयका उपसचिव रुप नारायण खतिवडाले कर्मचारीलाई त्यसरी सरुवा गर्नु ठिक नभएको प्रतिक्रिया दिए । उनले कर्मचारीलाई समय अगावै सरुवा गर्दा स्थानीय तहको काम समेत प्रभावित हुने बताए । उनले सरुवापछि निरन्तर काम गर्ने गरि पत्र पठाएको जानकारी दिएका छन् ।

सरुवा र थमौतिको बारेमा कुराकानी गर्न खोज्दा मेयर श्रेष्ठले पटक–पटक गरेको फोन उठाएनन् ।

प्रकाशित मिति : माघ २५, २०७८ मंगलबार  १० : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]