जेष्ठ ६, २०८१ आईतबार

सामुदायिक स्वास्थ्य एकाइलाई उपकरण हस्तान्तरण

मेचीनगर – अत्याधुनिक प्रयोगशाला सेवा सुरु भएसँग झापा क्षेत्र नं १ का सामुदायिक स्वास्थ्य एकाइ थप सुविधासम्पन्न बन्न थालेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत मेचीनगरका विभिन्न आठ वडा र बुद्धशान्ति गाउँपालिकाको तीन वडामा रहेका चार सामुदायिक स्वास्थ्य एकाइलाई सो सेवा सञ्चालार्थ आवश्यक प्रयोगशाला उपकरण उपलब्ध गराइएको थियो ।

“सामुदायिक स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउन सामग्री प्रदान गरिएको हो”, सांसद राम कार्कीले भन्नुभयो, “यसबाट नागरिकले घरगाउँमै सेवा पाउनुका साथै संविधान प्रदत्त स्वास्थ्यको अधिकार सुनिश्चितता सहयोग पुग्नेछ ।” अघिल्लो आर्थिक वर्ष २०७७-७८ को योजनाअनुरुप गत साउनमा रु ५७ लाख बराबरको प्रयोगशाला सामग्री उपलब्ध गराइएको सांसद कार्कीका स्वकीयसचिव शिबु बुढाथोकीले जानकारी दिनुभयो । ती मध्ये मेचीनगरका छ वडालाई हेमाटोलोजी एनालाइजर (पार्ट थ्री) मेसिन प्रदान गरिएको छ । यसले एकैपटक धेरै नमूना परीक्षण गर्न सकिन्छ ।

मेचीनगर–११ को स्वास्थ्य एकाइ धाइजन, वडा नं १४ को स्वास्थ्य एकाइ दुहागढी, वडा नं १० को स्वास्थ्य एकाइ धुलाबारी, वडा नं १५ को स्वास्थ्य एकाइ ज्यामिरगढी, वडा नं ६ को स्वास्थ्य एकाइ काँकरभिट्टा र वडा नं ४ को स्वास्थ्य एकाइ बाहुनडाँगीलाई हेमाटोलोजी एनालाइजर उपलब्ध गराइएको हो । मेचीनगरका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले नगरका ११ वडाका स्वास्थ्य एकाइमा अत्याधुनिक प्रयोगशाला सेवा सञ्चालन हुन लागेको जानकारी दिनुभयो । “तीन स्वास्थ्य एकाइमा सेवा सुरु भइसकेको छ”, उहाँले भन्नुभयो, “थप आठ वडामा सेवा सञ्चालन गर्न कर्मचारी दरबन्दीको काम भइरहेको छ, यसै साताभित्र कर्मचारी नियुक्ति गरेर सेवा सुरु हुनेछ ।” हेमाटोलोजी ‘एनालाइजर मेसिन’ महङ्गो र अत्याधुनिक भएकाले प्रयोगशाला परीक्षणको नतिजा गुणस्तरीय आउने उहाँको भनाइ छ ।

अब वडास्तरका स्वास्थ्य एकाइबाटै अत्याधुनिक प्रयोगशाला सुविधा प्राप्त हुने भएपछि प्रयोगशाला सेवाका लागि अन्यत्रै धाउनुपर्ने स्थानीयवासीको बाध्यता हट्ने भएको छ । त्यस्तै साझेदारी कार्यक्रमअन्तर्गत नै मेचीनगरका १६ विद्यालयलाई रु ७० लाख, भद्रपुर नगरपालिका चार विद्यालयका लागि रु २० लाख र बुद्धशान्तिका छ विद्यालयलाई रु ३० लाख बजेट प्रदान गरिएको छ । ती विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, खानेपानीलगायत भौतिक संरचना निर्माणका लागि कूल रू एक करोड २० लाख उपलब्ध गराइएको स्वकीयसचिव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार  ४ : ४० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]