जेष्ठ ३, २०८१ बिहीबार

झापा गोल्डकपको तयारी तीब्र, मैदानको स्तरोन्नति सुरु

बिर्तामाड । पाँचौँ संस्करणको झापा गोल्डकप २०७८ नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । यही फागुन २१ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको हो । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट मानिन्छ । खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताए ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण गरिने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । नेपालकै उत्कृष्ट र आकर्षक मानिएको फुटबल मैदान डोमालाल राजवंशी रंगशालाको स्तरोन्नतिका लागि तीव्र गतिमा काम भइरहेको पौडेलले बताए ।

झापा गोल्डकपजस्तो प्रतिष्ठित प्रतियोगिता हुने सो मैदानको आकर्षण नघटोस् भनेर आयोजक समितिले काम सुरु गरेको हो । रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम थालिएको छ ।

पाँचौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद छ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई नगद २१ हजार र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिने गिरीले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ९ हजार ९९९ रुपैयाँ दिइनेछ ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ । झापा गोल्डकपको फाइनल खेल फागुन ३० गते हुनेछ ।

प्रकाशित मिति : माघ २९, २०७८ शनिबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]