जेष्ठ १२, २०८२ आईतबार

कालीखोलामा ‘पातालगंगा पर्यटकीय स्थल’ बनाउन पहल

मेचीनगर । काँकरभिट्टाको कालीखोलामा डुंगा शयर सुविधासहितको पर्यटकीय क्षेत्र बनाउन जनस्तरबाट पहल सुरु गरिएको छ । मेचीनगर वडा नं. ६ को काँकरभिट्टा बजार पश्चिम र राजमार्गको पुल उत्तरको खोलामय जग्गामा पर्यटकीय स्थल विकास गर्ने दीर्घकालीन योजनाका साथ स्थानीयबासीले पातालगंगा कालीखोला धार्मिक तथा पर्यटन केन्द्र स्थापना गरेका छन् ।

जनता समाजबादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको नेतृत्वमा केन्द्रको तदर्थ समिति गठन भएको सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । समितिमा सवै दल र सामाजिक अगुवाहरुको प्रतिनिधित्व रहेको संस्थाका सचिव शंकर भट्टराईले बताए । पूर्वीद्वार काँकरभिट्टामा रहेका सबै पर्यटकीय स्थललाई जोड्ने गरी पर्यटकीय रुट निर्माण गरिने र कालीखोला करिडरमा पैदल तथा साइकल लेन समेत बनाउने योजना रहेको संस्थाका अध्यक्ष खापुङले बताए ।

खापुङले कालीखोलाको पर्यटकीय स्थल बनाइने जग्गा व्यक्तिहरुको निजी स्वामित्वमा रहेको र त्यसलाई नेपाल सरकारले बाँध निर्माण गर्दा अधिग्रहण गरेको हुँदा त्यसको मुआब्जा जग्गाधनीले प्राप्त गरेपछि मात्र भौतिक संरचना निर्माणको काम अघि बढाइने समेत जानकारी दिए ।

सो स्थानमा धार्मिक रुपले अति महत्वपूर्ण पातालगंगा मन्दिर रहेको समेत जानकारी दिइएको छ । त्यहाँ मन्दिर बनाउने समेत केन्द्रको योजना छ ।संस्थालाई आधिकारिता दिनका लागि जिल्ला प्रशासन कार्यालय झापामा दर्ताको प्रक्रिया अघि बढाइसकिएको र आजीवन सदस्य वितरण थालिएको सचिव भट्टराईले बताएका छन् ।

पर्यटन प्रबर्धनको अभियान सञ्चालन गरिने, खोलामा सरसफाइ गरिने, हरियाली विकास गरिने, पूर्वी नाकाबाट प्रवेश गर्ने पर्यटकलाई घुम्न आउन योग्य बनाइने लगायतका योजना संस्थाले अघि सारेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]