झापामा एमसीसीको विरोधमा बन्द गर्दै हिड्ने चार पक्राउ
बिर्तामोड । झापामा बन्द गर्दै हिड्ने चार जनालाई आज विहान प्रहरीले पक्राउ गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा बन्द गर्दै हिड्नेलाई मेचीनगरको कालिखोला र कनकाईको दुर्गापुर क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

झापाको दमक, दुर्गापुर, कालिखोला र काँकरभिट्टा क्षेत्रमा बन्द गर्न विभिन्न दलका कार्यकर्ता आएको प्रहरीको भनाई छ । दुई ठाउँबाट नियन्त्रणमै लिइसकेको प्रहरीको भनाई छ । कालिखोलाबाट १ जना विप्लप समूहका कार्यकर्ता र दुर्गापुरबाट वैज्ञानिक समाजवादी पार्टीका ३ जना कार्यकर्ता पक्राउ परेको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
विभिन्न ६ दलीय बन्दका कारण झापामा आंशिक प्रभाव परेको छ । छिटपुट रुपमा मात्रै सवारी आवागमन भइरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त गणतान्त्रिक मोर्चा, नेपाल, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेकपा माओवादी केन्द्र समाजवादीले बन्द आह्वान गरेका थिए ।