जेष्ठ ६, २०८१ आईतबार

झापाका सहकारीमा तरलता प्रभाव : कर्जा रोकेर बचत फिर्तालाई प्राथमिकता

झापा । झापाका सहकारी संस्थाहरुले मंसिरदेखिको तरलताकै बिचमा असहज कारोवार गर्दै आएको जनाएका छन् । अधिकांश सहकारी तरलताको समस्याबाट प्रभावित भइरहेका छन् ।

झापा जिल्ला सहकारी संघमा आवद्ध ४९४ संस्थामा तरलताको प्रभाव परेको छ । देशभरका वित्तिय संस्थामा आइपरेको तरलता समस्या समाधान नहुँदा सहकारी संस्थाहरुले सहज रुपमा कारोवार गर्न पाइरहेका छैनन् । धेरै जसो सहकारी संस्थाले कारोवारलाई घटाएर काम गर्दैछन् । ठुला सहकारी संस्थाहरुले साना कर्जा बाहेकका कर्जा रोकेर कारोवार गरिरहेको इजलाससित प्रतिक्रिया दिएका छन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जिल्लामा बंैकपछि सहकारीमा तरलताको असर परेको जानकारी दिए । उनका अनुसार सहकारी संस्थाहरुले ठुलो कर्जा रोकेर सदस्यको बचत फिर्तालाई प्राथमिकता दिएका छन् । अध्यक्ष ढकालले भने, सहकारी संस्थाहरुलाई जिल्ला संघकै आग्रहमा बचत फिर्तालाई प्राथमिकता दिन भनिएको हो ।

नयाँ व्यवसाय गर्ने, व्यवसाय विस्तार गर्ने र ठुलो व्यवसायका लागि कर्जा दिन सकिने परिस्थिति छैन, ढकाल भन्छन् – सदस्य र संस्था बिचको समन्वयमा कारोवार भइरहेको छ । ठुला संस्थाहरुको समेत बचत रकम ठुलो मात्रामा घटिरहेको ढकालले जानकारी दिए । उनले बचत फिर्ताको सवालमा सदस्यसँग सहजीकरण गरेर काम गर्न सकिने बताएका छन् । बचत फिर्ता नै दिन सकिदैन भने संस्थाको व्यवस्थापन मै समस्या छ भनेर बुझ्दा हुन्छ, उनले थपे ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का कार्यकारी प्रमुख एवम् सचिव महेन्द्र गिरीले तरलताले सहज र असहज दुवै नभएको प्रतिक्रिया दिए । यद्धपि, कारोवारमा समस्या नभएको उनको भनाई छ । गिरीले भने, ‘तरलताले समस्या हुँदै नभएको चै होइन ।’

उनका अनुसार संस्थाले नियमित बचत फिर्ता र १० लाखसम्मको कर्जा लगानी गरिरहेको जानकारी दिए । त्योभन्दा माथिको कर्जा लगानीमा संस्थाले आवश्यकतालाई अध्ययन गरेर लगानी गर्ने गिरीको भनाई छ । ठुलो लगानीमा संस्थाको फन्टमा पनि भर पर्छ, त्यै हेरेर लगानी गरिहरेका छौं, उनले थपे ।
सचिव गिरीले वित्तिय संस्थाको अस्वस्थ्य प्रतिस्पर्धाले पनि कठिनाइने आउने बताएका छन् । सहकारीमा सन्दर्भ व्याजदर १४.७५ ले कारोवार भइरहेको छ । बैंकले ११÷१२ प्रतिशतसम्म लगानी गर्ने भएकाले पनि वित्तिय क्षेत्रमा समस्या बढ्दै गएको उनको भनाई छ । अब २÷३ महिनामा पनि सुधार नभए सहकारी संस्थाहरुलाई अप्ठ्यारो हुन्छ, गिरीले थपे ।

नेपाल बहुउद्देश्यी सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले तरलताको समस्या भए पनि सदस्यको बचत रकम फिर्ता गरिहरेको जानकारी दिए । उनले बचत फिर्तामा कुनै समस्या नभएको बताएका छन् । ठुलो कर्जा रोकिएको छ, उप्रेतीले भने, १÷२ लाख कर्जा दिन समस्या छैन । त्यसलाई नियमित रुपमै संस्थाले कर्जा प्रवाह गरिहरेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले मंसिरदेखि तरलताको सामना गरिहरेको उनको भनाई छ । माघभित्र तरलता समस्या कम हुन्छ भन्ने थियो, अध्यक्ष उप्रेतीले भने – माघभित्रै समस्या समाधान भएन, फागुनमा होला भन्नेछ ।

अध्यक्ष उप्रेतीले सदस्यहरुको समस्या टार्नलाई संस्थामा कुनै कठिनाई नभएको बताए । सदस्यको कर्जा फिर्तामा संस्थाले कमजोरी गरेको छैन । विस्तारै सहज होला भन्ने विश्वास छ । साउन, भदौंमा आक्रामक लगानी गरेकै कारण सहकारीमा तरलता बढि प्रभाव परेको उनको बुझाई छ । कोभिड सकियो भन्ने बुझाईले लगानी समेत बढाइएको थियो, उनले भने । तरलताले संस्थालाई विगतमा जस्तो सहज नहुने बताएका छन् । उनले भने, – व्याज उठ्दैन, खर्च घट्दैन ।

बिर्तामोडमा रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक राजेश दाहालले तरलताको असरका कारण कर्जा दिन नसकेको बताएका छन् । उनले ठुलो कर्जा रोकेर बचत फिर्ता र सानो कर्जा दिने काम गरिरहेको बताए । बचत फिर्ताका लागि आउने सदस्यलाई फिर्ता पठाएका छैनौं, व्यवस्थापक दाहालले भने ।

यस्तै, मेची बहुउद्देश्यीय सहकारी संस्था लि. दमकका अध्यक्ष नारायण प्रसाद भट्टराईले तरलताप्रति होसियारी अपनाएरै काम गरिरहेको बताएका छन् । उनले तरलता व्यवस्थापन गर्दै काम गरेको उनको भनाई छ । अध्यक्ष भट्टराईले बचत फिर्तामा कुनै समस्या नभएको प्रतिक्रिया दिए । बचत फिर्तामा समस्या छैन, ठुलो लगानीमा मात्रै समस्या छ, भट्टराईले भने – सानोतिनो लगानी गरिहरेका छौं ।

संस्थाका सदस्यलाई चेक मार्फत भुक्तानी दिँदा बैंकले ७ लाखभन्दा माथि दिन नसेकको उनको भनाई छ । अध्यक्ष भट्टराईले विकास बजेट खर्च नभएकाले तरलताको समस्या देखिएको जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार  ९ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]