बैशाख २६, २०८१ बुधबार

२३ सय विद्यालयमा ‘आइसिटी ल्याब’ स्थापना गर्ने

झापा । सरकारले २ हजार ३ सय विद्यालयहरुमा एकैसाथ ‘आइसिटी ल्याब’ स्थापना गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २३ सय वटा विद्यालयहरुमा आइसिटी ल्याब तत्काल बनाउने निर्णय गरिएको जानकारी दिएका छन् । शिक्षा पत्रकार समूहले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ३ वर्षभित्र देशभरका सबै विद्यालयहरुमा सो ल्याब स्थापना गर्ने सरकारको योजना रहेको पनि स्पष्ट पारेका छन् ।

उनले सार्वजनिक विद्यालयहरुको भौतिक पूर्वाधारमा कुनै समस्या नहोस् भन्नेमा सरकार सचेत रहेको पनि बताएका छन् । उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक सुधारका लागि सम्बन्धित सबै निकायलाई सचेत भएर काम गर्न पनि निर्देशन दिएका छन् ।

‘२३ सय वटा विद्यालयहरुमा आईसिटी ल्याब तत्काल बनाउने निर्णय गरेका छौं । यसको प्रक्रिया छिट्टै अघि बढछ । क्रमशः ३ वर्षभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरुमा त्यसलाई निर्माण गरिनेछ । सार्वजनिक शिक्षालाई सुधार गर्नका लागि भौतिक पूर्वाधारको अभाव भएका ठाउँमा व्यवस्था गर्ने कामलाई पनि सरकारले सुरु गरेको छ । तर त्यसका लागि सरोकारवाला निकायहरुले सक्दो सहयोग गर्नुपर्ने हुन्छ’ उनले भने ।

उनले सार्वजनिक विद्यालयहरुको शैक्षिक गुणस्तर खस्कन नदिने गरी १८ हजार शिक्षकहरुको नयाँ दरबन्दीको व्यवस्था गर्नु परेको बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]