बैशाख २५, २०८१ मंगलबार

दमक अस्पतालमा अब नसर्ने रोगको पनि उपचार सेवा

दमक – सरकारी अस्पतालका रूपमा विकास हँुदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ । अस्पतालका अध्यक्षसमेत रहनुभएकी नगरपालिका उपप्रमुख गीता अधिकारीले नसर्ने रोगबारे स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न काठमाडौँ इन्स्टिच्युट अफ चायल्ड हेल्थसँग नगरपालिकाले सम्झौता गरेको जानकारी दिनुभयो ।

बिहीबार नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख अधिकारी र काठमाडौँ इन्स्टिच्युट अफ चायल्ड हेल्थका तर्फबाट अध्यक्ष प्रा डा भगवान् कोइरालाबीच त्यस विषयमा सम्झौता भएको थियो । उक्त कार्यक्रमअन्तर्गत कार्डियो (मुटु) मधुमेह, सिओपिडी र पाठेघरको मुख तथा स्तन क्यान्सर पहिचान गरी स्थानीयस्तरमै उपचार गरिने जानकारी दिइयो । यहाँ उपचार सम्भव नभएका बिरामीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरी पठाइने बताइएको छ ।

धरानमा यहाँबाट पठाइएका बिरामीका लागि सहयोग गर्न छुट्टै हेल्पडेस्क स्थापना गर्न अस्पतालका सम्बन्धित व्यवस्थापन पक्षसँग परामर्श गरी सहकार्य गर्न सकिने प्रतिष्ठानका प्रा डा सञ्जीव शर्माले जानकारी दिनुभयो । सम्झौतामा सेवा सञ्चालनका लागि दुवै पक्ष आवश्यक सहकार्य गरेर काम गर्न तयार हुने, आवश्यकता र उपयोगिताका आधारमा यससँग सम्बन्धित सबै सरोकारवालाले काम गर्ने र गराउने, कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने नीति बनाउन सरोकारवालाबीच सहकार्य गर्ने पनि उल्लेख छ । सम्झौता कार्यान्वयनका सम्बन्धमा स्पष्ट पार्दै नगरप्रमुख ओलीले अब यो सुविधा लिनका लागि दमक बाहिर रहेका निजी अस्पतालमा महङ्गो शुल्क खर्चिनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनमा केही चुनौती देखिए पनि दमक तथा आसपासका लागि यो कार्यक्रम महत्वपूर्ण भएको उहाँको भनाइ थियो । नसर्ने रोग विस्तारै चुनौतीका रूपमा देखिँदै गएकाले समयमै त्यस्ता रोगको सङ्क्रमण हुन नदिन स्वास्थ्य सावधानीसँगै सचेतता अपनाए तुरुन्त उपचार गर्न यस कार्यक्रमले सघाउ पु¥याउने नगरप्रमुख ओलीले बताउनुभयो । यसका लागि आवश्यक जनशक्तिका लागि स्वास्थ्य मन्त्रालयबाटै दरबन्दी खडा गरेर पठाउन पनि माग गरिएको छ ।

यस विषयमा मन्त्रालयमा छलफल गरेर हुनसक्नेसम्मको सहयोग पु¥याउने मन्त्रालयका नसर्ने रोग कार्यक्रमका संयोजक डा फडिन्द्र बरालले बताउनुभयो । सम्झौतापछि स्वास्थ्य अधिकारीको टोलीले दमक अस्पतालमा निर्माणाधीन भवनसमेत अनुगमन गरेको थियो । अनुगमनपछि मुटुरोग विशेषज्ञसमेत रहनुभएका डा कोइरालाले भवन भव्य बन्दै गरेको र निर्माण सम्पन्नपछि यस क्षेत्रका नागरिकको स्वास्थ्यसँग जोडिएका अन्य सेवा पनि यहाँबाट सञ्चालन गर्न सकिने सुझाव दिनुभएको थियो ।

यसैगरी बालबालिकाको स्वास्थ्य समस्या निदान गर्ने उद्देश्यले नगरपालिकाको समन्वयमा काठमाडौँ इन्स्टिच्युट अफ चायल्ड हेल्थले दमकमा पनि छुट्टै अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको डा कोइरालाले बताउनुभयो । दमक–७ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त अस्पताल निर्माणस्थलसमेत अनुगमन पछि छिटो सेवा सुरु गर्न आफूहरु तयार भएको उहाँले सुनाउनुभयो ।

एड्भान्स अस्पतालमा सिटीस्क्यान दमकमा पहिलोपटक एड्भान्स अस्पतालले सिटीस्क्यान सेवा थप गरेको छ । अस्पतालले सिटीस्क्यानका बिरामीलाई लक्ष्य गरी हालै त्यस्तो सेवा सुरु गरेको अस्पतालका निर्देशक चैतन्य बरालले बताउनुभयो । दमक क्षेत्रमा सिटीस्क्यानको सुविधा नहुँदा बिरामीलाई बिर्तामोड वा विराटनगर धाउनुपर्ने बाध्यता थियो । अस्पतालका अध्यक्ष माधव पराजुलीले अब यस क्षेत्रका बिरामीले अत्याधुनिक प्रविधिसहितको सिटीमेसिन जडान गरिएकाले थप सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  १२ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]