चैत्र १६, २०८० शुक्रबार

बिर्तामोडलाई चाँडै बन्द निषेधित बनाउछौं : महासचिव मैनाली

कोरोना महामारीले सबैभन्दा धेरै व्यापार क्षेत्र तहसनहस भएको छ । कोरोना महामारीको लामो असरपछि यो क्षेत्र फेरि उठ्ने प्रयासमा लागेको छ । कोरोना कै कारण व्यवसायीहरु विस्थापित समेत भएका छन् । अब, यसको असर न्यूनिकरण हुँदै गएपछि राजनीतिक दलका आन्दोलन र बन्दाबन्दीको श्रृङ्खला फेरि शुरु भएको छ । व्यापारीहरु बन्दाबन्दीको समस्या समाधान होस् भन्ने पक्षमा छन् । तर, व्यवसायीको एक मात्र चहानाले यसको संभावना कम छ । झापाको सुरुङा बन्द निषेधित क्षेत्र हो । बन्दले त्यहाँ प्रभाव पार्दैन । सबैको प्रयासबाट सुरुङा बन्द निषेधित भइसकेको छ ।

झापाको ठुलो बजार बिर्तामोडलाई पनि बन्द निषेधित क्षेत्र बनाउन आवश्यक छ । अहिलेसम्म व्यवसायीहरुको नेतृत्व गर्ने वाणिज्य संघले त्यसको पहलकदमी गर्न सकेको थिएन । नयाँ नेतृत्व आएपछि बन्द निषेधित बिर्तामोड बनाउने अभियान के हुदैछ ? यसै विषयमा बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीसँग इजलास दैनिकले गरेको संक्षिप्त कुराकानी :

१, झापाको बिर्तामोड जिल्लाकै ठुलो बजारको रुपमा विकास भइरहेको छ । यो बजारलाई बन्द निषेधित बनाउन सकिदैन ?
– अवश्य सकिन्छ । बन्द निषेधित बनाउन गाह्रो छैन । त्यसका लागि व्यवसायिक क्षेत्र मात्र होइन सबै क्षेत्रको सहयोग र पहल आवश्यक छ । त्यसका लागि काम अगाडि बढाइसकेका छौं ।

२, काम अगाडि बढाएका छौं भन्नाले ?
– बन्द निषेधित बिर्तामोड बनाउन एउटा उपसमिति बनाइएको छ । त्यो उपसमितिमा तीन सदस्य छौं । त्यसको सदस्यको रुपमा मैले काम गरिरहेको छु । बन्द निषेधित क्षेत्र बनाउनका लागि सरोकारवालासँग समितिले समन्वयको काम गर्नेछ । केहि कामहरु अघि बढाइएका छन् । २ महिनाअघि बनाएको उपसमितिले बिर्तामोडलाई बन्दमुक्त बजार बनाउन छलफलहरु थालिसकेको छ ।

३, बन्दमुक्त बिर्तामोड बनाउन कुन सरोकारवालासँग समन्वय गर्नुहुन्छ ?
– सरोकारवाला क्षेत्र भनेको मुख्यत व्यवसायी नै हो । व्यवसायीहरुमा पहिले एकताको खाँचो छ । र, एकमत हुन जरुरी छ । व्यवसायीहरुलाई एक मत बनाउन वाणिज्य संघको भूमिका नै महत्वपूर्ण हुन्छ । वाणिज्य संघ र व्यवसायी एकमत भएपछि दोस्रो चरणमा राजनीतिक दलसँग छलफल गरेर दलहरुलाई बन्दमुक्त बिर्तामोड बनाउन सहमत गराउनुपर्छ । राजनीतिक दल, सामाजिक संघ संस्था, नागरिक समाज, सामाजिक अगुवाहरु, व्यवसायिक संघ-संगठनका बिचमा छलफल गरेर बिर्तामोडलाई बन्दमुक्त बनाउन सकिन्छ । म उपसमितिको सदस्य पनि भएकाले नेकपा एमालेसँग एक चरण छलफल समेत गरिसकेको छु । एमाले यस बारेमा सकारात्मक भएको छ ।

४, अहिलेसम्मका वाणिज्य संघले नगरेको काम कसरी संभव छ त ?
– संभव, असंभव भन्ने कुरै आउदैन । यो आवश्यकताको विषय हो । यसमा मलाई लाग्छ कसैको विमती-आपत्ति रहदैन, रहनेछैन । कोरोना महामारीले थलिएको बजार उठाउन आवश्यक छ । व्यवसायीहरु मनोवैज्ञानिक रुपमा समस्यामा छन् । उनीहरुलाई बिर्तामोड बन्दमुक्त भएको खवरले अवश्य जागरुप बनाउनेछ । कोरोनाको महामारी र दलहरुको बन्दले लगानी उठाउने अवस्था छैन । पुँजी सुरक्षासँगै सहज जीवनयापनका लागि बन्दमुक्त नै पहिलो मुद्धा हो । यसमा सबैलाई सकारात्मक पहलका लागि मेरो आग्रह पनि छ ।

५, बन्दमुक्त बिर्तामोड हुँदा के हुन्छ ?
– बिर्तामोड एक दिन बन्द हुँदा आर्थिक रुपमा ठुलो क्षति हुन्छ । मुलुकलाई समृद्ध बनाउने नारा लगाएर बजार बन्द गराउनु शोभनीय हुदैन । बन्दमुक्त हुँदा आर्थिक क्षेत्र सवल हुन्छ । बजारको रफ्तारमा सहयोग पुग्नेछ । व्यवसाय क्षेत्र सकारात्मक सर्किटमा जानेछ । बन्द हड्ताल निषेध भएपछि बिर्तामोडलाई हेर्ने दृष्टिकोण बदलिन्छ । ठुला लगानीकर्ताहरु बिर्तामोडप्रति आकर्षित हुन्छन् । स्मार्ट बिर्तामोड बनाउन मद्दत पुग्छ । यसैले बन्दमुक्त बिर्तामोड बनाउन लागौं । हाम्रो अभियानमा तपाईहरु पनि जोडिनुहोस् ।

६, साप्ताहिक बन्द चै के गर्नुहुन्छ ?
– विगत देखि नै साप्ताहिक रुपमा बजार बन्द हुँदै आएको छ । त्यो क्रम अहिले पनि रोकिएको छैन । व्यवसायीले साप्ताहिक रुपमा एक दिन आराम गर्ने, पारिवारिक कामधन्दा गर्ने र परिवारलाई समय दिन सोमवार प्रयोग गर्ने गरिएको छ । विश्व बजारमा साप्ताहिक बन्द अनिवार्य गरिएको पाइदैन । हामी बजारलाई स्मार्ट बनाउन चहान्छौं भने यस प्रकारका बन्दका बारेमा पनि सोच्नै पर्छ । त्यो मात्र होइन, शनिवार बैंक पनि खुलाउनुपर्छ । बंैकर्स एशोसियशनसँग त्यसका लागि सहकार्य गछौं । शनिवार पनि बजारमा वित्तिय कारोवार गर्ने वातावरण बनाइनेछ ।

७, अन्त्यमा, महामारीपछि सरकारले निजी क्षेत्रलाई कस्तो सहयोग गर्दैछ ?
– सरकार आफै समस्यामा देखिन्छ । समस्यामा रुमलिएको सरकारले निजी क्षेत्रलाई कसरी, कस्तो सहयोग गर्दैछ मज्जाले देखिएकै छ । नेपालको अर्थतन्त्र आयातमा आधारित बजेट निर्माणले व्यापार घाटा चुलिएको छ । हामीलाई विदेशी सामानको उपभोक्ता बनाइएको छ ।
सरकारले निजी क्षेत्रलाई नीतिगत रुपमै सहयोग गर्न आवश्यक छ । उत्पादनसँग जोढ्ने गरि सरकारले नीति बनाउनुपर्छ । नीजि क्षेत्रलाई माथि उठाउने मुख्य दायित्व नै सरकारको हो । अहिलेसम्म सरकारले ध्यान नदिए पनि अबका दिनमा सरकार जिम्मेवार हुनैपर्छ ।

प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]