जेष्ठ २, २०८१ बुधबार

रोकियो नेपालको ट्वान्टी–२० विश्वकप यात्रा

काठमाडौं । नेपालको आईसीसी ट्वान्टी–२० विश्वकप यात्रामा पूर्ण विराम लागेको छ । ओमानमा जारी ग्लोबल क्वालिफायरमा युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्धको सेमिफाइनलमा ६८ रनले पराजित भएपछि अष्ट्रेलियामा हुने विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो । 

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा युएईका कप्तान अहमद राजाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रन बनाएको छ । १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो । 

आजको खेल जितेको भए नेपालले अष्ट्रेलियामा हुने आईसीसी ट्वान्टी–२० विश्वकपमा स्थान बनाउने थियो । तर हारसँगै नेपालको यात्रा टुंगिएको छ । विश्वकप १६ अक्टोबरदेखी १३ नोभेम्बरमा हुने थियो । ग्लोबल क्वालिफायर ‘ए’बाट दुई र जिम्बाब्वेमा हुने ग्लोबल क्वालिफायर ‘बी’बाट दुई टोलीले अष्ट्रेलियाको टिकट पक्का गर्नेछन् ।

नेपालले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । ओपनर आसिफ शेख आज पनि शून्यमै पवेलियन फर्किए । लगत्तै लोकेश बम पनि शून्यमा आउट भए । तेस्रो ओभरको पाँचौं बलमा कुशल भुर्तेल सात रन बनाएर आउट भए । कुशल आउट नेपाल १३÷३ को स्थितिमा थियो । 
त्यसपटि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । दुई ब्याट्सम्यानले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरे । आरिफ ११ रन बनाएर पवेलियन फर्किए । त्यसपछि दीपेन्द्रसिंह र ज्ञानेन्द्र मल्लले पाँचौं ३३ रनको साझेदारी गरे । ज्ञानेन्द्र २० रन बनाएर आउट भए । लगत्तै दीपेन्द्रसिंह पनि ३८ रन बनाएर आउट भए । कप्तान सन्दीप लामिछानेले ४, विवेककुमार यादवले ८, कमलसिंह ऐरीले ४ र जितेन्द्र मुखियाले ५ अभिनाष बोहराले अविजित एक रन बनाए । 

युएईका अहमद राजाले ४ ओभरमा १९ रन दिएर ५ विकेट लिए । जुदैन सिद्धिकीले ३ विकेट लिए । जहूर खान र रोहन मुस्तफाले एक एक विकेट लिए । त्यसअघि युएईका मुहम्मद वासीम र बृत्या अरविन्दले दोस्रो विकेटका लािग ६६ रनको साझेदारी गर्दै कप्तानको निर्णयलाई सही सावित गरिदिएका थिए । 

युएईका ओपनर चिराग सुरीलाई जितेन्द्र मुखियाले १.४ ओभरमा बोल्ड गरिदिएका थिए । त्यसपछि  वासीम र अरविन्दले ३५ बलमा ६६ रनको साझेदारी गरे । आक्रमक ब्याटिङ गरेका अरविन्दले २३ बलमा ५ चौका र तीन छक्कासहित ४६ रन बनाए । उनलाई आठौं ओभरको तेस्रो बलमा नेपालका कप्तान कप्तान सन्दीपले बोल्ड गरिदिएका थिए । अरविन्द आउट हुँदा युएई ७२÷२ को स्थितिमा थियो ।
त्यसपछि वासीमले मुहम्मद उस्मानसँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे । उस्मानले २४ बलमा १७ रन बनाए । उस्मानलाई अभिनाष बोहराले ज्ञानेन्द्र मल्लको हातबाट क्याच गरेका हुन् । 

वासीमले ४८ बलमा चार चौका र चार छक्कासहित ७० रन बनाए । १६.५ ओभरमा वासीम आउट हुँदा युएई १४०÷४ को स्थितमा थियो । १३.५ं ओभरमा सन्दीपको बलमा जितेन्द्र मुखियाले वासीमको क्याच छुटाएका थिए । त्यतिबेला वासीमले ५८ रन बनाएका थिए ।

लगत्तै बासिल हमीद दुई रन बनाएर पवेलियन फर्किए । हमीदलाई जितेन्द्र मुखयाले १७.१ ओभरमा विवेककुमार यादवमार्फत क्याच गरेका थिए । जितेन्द्रले सोही ओभरको अन्तिम बलमा जवार फरिदलाई ज्ञानेन्द्रमार्फत क्याच गरे । फरिदले ११ रन बनाए । 
१८.५ ओभरमा कशिफ दाउदलाई अभिनाष बोहराले सन्दीप लामिछानेमार्फत क्याच गरे । दाउदले चार रन बनाए । रोहन मुस्तफा ९ र अहमेद राजा ६ रनमा अविजित रहे । 

नेपालका जितेन्द्र र अभिनाषले समान तीन विकेट गुमायो । सन्दीपले एक विकेट लिए ।
नेपालले क्यानडाविरुद्ध खेलेको टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । अलराउन्डर कुशल मल्लको स्थानमा नेपालले विवेककुमार यादवलाई मौका दिएको थियो । 

समूह चरणमा अपराजित रहेको नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । समूहको पहिलो खेलमा आयोजक ओमानलाई ३९ रनले हराएको नेपालले दोस्रो खेलमा फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो । समूहको अन्तिम खेलमा नेपालले क्यानडालाई आठ विकेटले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

यूएईले भने समूह चरणको पहिलो खेलमा आयरल्यान्डलाई १८ रनले हराएको थियो । दोस्रो खेलमा जर्मनीलाई २४ रनले हराएको यूएई समूह चरणको अन्तिम खेलमा बहराइनसँग दुई रनले पराजित भएको थियो ।

प्रकाशित मिति : फाल्गुन १०, २०७८ मंगलबार  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]