जेष्ठ ६, २०८१ आईतबार

मेचीनगर, भद्रपुर र बिर्तामोडको नाममा परमादेश जारी : वातावरण हक कार्यान्वयन गर्न आदेश

बिर्तामोड – उच्च अदालत विराटनगर, इलाम इजलासले पहिलोपटक नागरिकको वातावरणसम्बन्धी हकको कार्यान्वयनका लागि ऐतिहासिक फैसला गरेको छ । न्यायाधीधद्वय प्रेमराज कार्की र विष्णुप्रसाद कोइरालाको संयुक्त इजलासबाट वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय प्रदेश नंं १ विराटनगर, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका र बिर्तामोड नगरपालिकाको नाममा परमादेश जारी गर्दै बिहीबार सो फैसला भएको हो ।

मेचीनगर नगरपालिका–७ का होमनाथ प्रसाईले जथाभावी फोहोरमैला फ्याकेर वातावरण प्रदूषित तुल्याएको आरोप लगाउँदै मन्त्रालय र तीन स्थानीय तहलाई विपक्षी बनाई परमादेश आदेशको मागसहित २०७७ फागुन १७ गते इलाम इजलासमा रिट दर्ता गर्नुभएको थियो । सोही रिटको इजलासले फैसला गर्दै परमादेश जारी गरेका संस्थाले फोहोरमैला व्यवस्थापनसम्बन्धी गरेका कामको प्रगति प्रतिवेदन तीन–तीन महिनामा अदालतमा बुझाउनुपर्ने फैसलामा उल्लेख गरिएको अधिवक्ता हेमकला कट्टेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वातावरणको क्षेत्रमा उच्च अदालतबाट भएको यो ऐतिहासिक र पहिलो फैसला हो ।” फोहोरमैला व्यवस्था ऐन, २०६८ तथा अन्य कानुनी प्रावधानलाई तत्काल कार्यान्वयन गरी आ–आफ्नो क्षेत्रको वातावरणलाई सदैव स्वच्छ र स्वस्थ्य कायम गराउन फोहोरमैला व्यवस्थापानका लागि ठाउँ खोजी गरी कार्यान्वयनमा ल्याउने, कुहिने तथा नकुहिने फोहोरलाई छुट्याई दुर्गन्धित हुन नदिई उचित व्यवस्थापन गर्ने अदालतले परमादेश जारी गरेको छ ।

जारी आदेशमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र यातायात व्यवसायीलाई फोहोरमैला व्यवस्थापन गर्न जिम्मेवार बनाई परिचालन गर्नुपर्ने, दैनिकरुपमा प्रयोगमा आउने प्लाष्टिकका झोला तथा प्लाष्टिकजन्य वस्तुको व्यवस्थित प्रयोगका लागि आवश्यक कार्ययोजना बनाउन र आवश्यक्ताअनुसार फोहोर सङ्कलनका लागि कानुनको परिधिभित्र रही शुल्क निर्धारण गर्नसमेत उल्लेख गरिएको छ । रिट निवेदकको तर्फबाट अधिवक्तात्रय हिरण्यप्रसाद अधिकारी, खगराज कट्टेल र हेमकला कट्टेललेले नगरपालिकाको तर्फबाट अधिवक्तात्रय अशोक क्षेत्री, उत्तम पौडेल र दीपेन्द्र भट्टराईले बहस पैरवी गर्नुभएको थियो ।

स्थानीय तहरुले फोहोरमैला व्यवस्थपनमा देखाएको उदासिनताका कारण अदालतमा मुद्दा परेको थियो । झापाका पुराना र ठूला भनिएका भद्रपुर, विर्तामोड र मेचीनगर नगरपालिकाले अझै फोहर व्यवस्थापनका लागि ठाउँको व्यवस्था गर्न नसक्दा फोहोरमैला राजमार्ग किनारमा थुपार्ने, नदीमा विर्सजन गर्ने, डढाउनेलगायत कार्य गर्दै आएका छन् ।

प्रकाशित मिति : फाल्गुन १३, २०७८ शुक्रबार  २ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]