जेष्ठ ११, २०८२ शनिबार

चितवनमा नयाँ प्रजातिको चरा फेला

चितवन – जिल्लामा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती क्षेत्रस्थित शिव मन्दिर नजिकै सिसौको बोटमा सल्ने बगेडी चरा फेला परेको हो ।

नेपाल पक्षी विद् सङ्घ बागमतीका संयोजक वासु विडारीका अनुसार हिमाली क्षेत्रमा पाइने यो चरा चितवनमा पहिलो पटक भेटिएको हो । हिमाली क्षेत्रमा चिसो बढेको र खानाको अभाव भएपछि यहाँ झरेको हुनसक्ने संयोजक विडारीको भनाइ छ । बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका विडारीका अनुसार फोटोग्राफर चूडामणि चौधरी र प्रेम बम्जनले तस्वीर खिचेर ल्याएपछि विज्ञ टोलीले हेरेर पहिचान गरिएको हो ।

यो चरा समुन्द्री सतहबाट दुई हजार ४४० देखि तीन हजार ५० मिटर उचाइमा पाइने गर्दछ । अनुगमनका क्रममा एक जोडी सल्ने बगेडी फेला परेको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीले जानकारी दिनुभयो । नेपालमा १५ प्रजातिको बगेडी पाइने गरेकामा योसमेत चितवनमा मात्र १० प्रजातिको बगेडी पुगेको छ ।

लजालु स्वभावको यो चरा घाँसे मैदान र खेतबारीको वरिपरि पाइने गर्दछ । खासगरी यो चरा युरेपेली देशमा पाइने र नेपाललगायत एसियाको चीन, अफगानिस्तानमा पनि पाइने गरेको छ । यो नयाँ प्रजातिको बगेडी फेला परेपछि जिल्लामा ६५९ प्रजाति चरा पुगेको चौधरीले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ । यहाँ वन्यजन्तुसँगै चरा अवलोकन गर्न पर्यटक आउने गर्दछन् ।

प्रकाशित मिति : फाल्गुन १४, २०७८ शनिबार  ५ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]