बैशाख १३, २०८१ बिहीबार

झापा गाउँपालिकामा १७ कठ्ठा जग्गा दिने दाताकै अपमान

बिर्तामोड । झापा गाउँपालिकालाई जग्गा सहयोग गर्ने दाताहरु गाउँपालिकाको व्यवहार देखेर असन्तुष्ट भएका छन् । गाउँपालिकाका जग्गादाताहरु रुष्ट भएको एक भिडियो यतिवेला सामाजिक सञ्जालमै छ्याप्छ्याप्ती भएको छ ।

गाउँपालिकालाई १७ कठ्ठा जग्गा निशुल्क रुपमा उपलब्ध गराउने सोही ठाउँका राजवंशी परिवारले गाउँपालिकाले आफुहरुमाथि अपमान गरेको दुखेसो पोखेका छन् । उनीहरुलाई गाउँपालिकाले भवन् उद्घाटनका दिन जग्गादाताको रुपमा व्यवहार नगरेको भनाई छ ।

झापा गाउँपालिकालाई स्थानीय नगेन्द्रप्रसाद राजवंशी, चन्द्रकला राजवंशी, देबेन्द्रसिंह राजबंशीको १०.५ कठ्ठा, आदुलदेवी राजवंशीको १.५ कठ्ठा, चित्रबहादुर श्रेष्ठको १ कठ्ठा र निताई राजवंशीले ४ कठ्ठा संयुक्त रुपमा १७ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । उनीहरुलाई भवन उद्घाटनमा विशेष सम्मान गर्ने भनिए पनि बस्न समेत प्रवन्ध नगरको गुनासो बाहिर आएको छ । निताइ राजवंशीका छोराले भने, ‘वृद्ध आमा सिढीमा बसेको देखेर मेरो मन भक्कानियो । एउटा दातालाई गर्ने व्यवहार त्यहि हो ?’ उनले आफुहरुमाथि गाउँपालिकाले अपमान गरेको बताए ।

जग्गादातालाई गाउँपालिकाले आधिकारिक रुपमा निमन्त्रणा समेत नगरेको अर्का जग्गादाता देवेन्द्रसिंहले जानकारी दिए । उनले ३ नं.का वडाध्यक्ष मोतीलाल गणेशले मौखिक रुपमा बोलाएको बताएका छन् । ‘हामीलाई बाजागाजासहित गाडीमा राखेर लैजाने कुरा थियो, पछि गाडी पनि आएन, बाजा पनि बजेन’ उनले भने । जग्गादाताकै हातबाट नयाँ भवनको रिवन काटिएका भन्ने सोचेका थिए, स्थानीय भन्छन् – गाउँपालिकाले उनीहरुमाथि अक्षम्य काम गरेको छ । जग्गादाताले भवन उद्घाटन कार्यक्रम वहिस्कार गरेपछि गाउँपालिको फेरि सम्मान कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने बचन दिएको जग्गादाता बताउँछन् । उनीहरु भन्छन्, फेरि कार्यक्रम आयोजना गरेर सम्मान गर्छु भनेको ‘जुठो खुवाएको हुनेछ ।’

गाउँपालिकाको अर्को दृष्य झनै रोचक छ । भवन उद्घाटनमा गाउँपालिका आफै आयोजक थियो । आफै आयोजक भएपछि गाउँपालिका अध्यक्षले कार्यक्रमको अध्यक्षता गर्नुपर्ने औपचारिक कार्यक्रमको नियम हो । तर, त्यस्तो भएन । कार्यक्रममा सहभागी भएकाहरु भन्छन्, गापा अध्यक्ष जयनारायण शाह आफै प्रमुख अतिथी बने । स्वागत भाषण प्रमुख प्रशासकीयले गरे । आफै आयोजक भएको गापालाई उपाध्यक्ष आफैले शुभकामना मन्तव्य दिइन् । जानकारहरु भन्छन्, यसो गर्नुको मुख्य कारण थियो – प्रदेश सांसद् वा प्रतिनिधिसभा सदस्यलाई रोक्नु ।

कर्मचारीले कमजोरी गरे : अध्यक्ष शाह
गाउँपालिकाका अध्यक्ष जयनानारायण शाहले कर्मचारीका कारण कमजोरी भएको बताएका छन् । जग्गादाताले निमन्त्रणा नपाएको गुनासो गर्नुभएको छ, शाहले भने – पत्र नपुराउनु कर्मचारीको कमजोरी भयो ।

अध्यक्ष शाहले जग्गाादाताकै सहयोगका कारण भवन बनेको बताए । उहाँहरुलाई तत्कालै बोलाएर सम्मान गर्ने कुरामा गाउँपालिका लाग्ने अध्यक्ष शाहको भनाई छ । उनले थपे, उहाँहरुलाई पहिले नै सम्मान गरिसकेको हो । जग्गा पास हुने वित्तिकै चौथो गाउँसभामा सम्मान गरिएको थियो । उद्घाटनमा चित्त दुखाउनु स्वभाविक छ । बाजागाजासहित वडाध्यक्षले कार्यक्रममा लैजाने भनेर किन ढाँटियो भन्ने जिज्ञासामा भने, ‘त्यो कुरा मलाई थाहा छैन, वडाध्यक्षलाई थाहा हो ।’

प्रकाशित मिति : फाल्गुन १७, २०७८ मंगलबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]