जेष्ठ २, २०८१ बुधबार

आजदेखि झापा गोल्डकप, ओलीले उद्घाटन गर्दै

बिर्तामोड । पूर्वको प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता नेपाल आइस पाँचौँ झापा गोल्ड कप आजदेखि शुरु हुदैछ । पाँचौँ झापा गोल्डको समुद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् । पाँचौँ संस्करणको झापा गोल्ड कप फागुन २१ गतेदेखि ३० गतेसम्म हुँदैछ ।

झापा गोल्ड कपलाई अझ उत्कृष्ट, भव्य र परिष्कृत बनाउनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनका अनुसार गोल्ड कपका लागि खेलमैदान र प्यारापिट निर्माणलगायतका काम सम्पन्न भइसकेको छ ।

गोल्ड कपका लागि झन्डै दुई महिना लगाएर उत्कृष्ट र शानदार मैदान बनाइसकिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओछ्याइएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
प्रतियागिताको तयारीस्वरुप झापा जिल्लाभरि स्वागत गेटहरु निर्माण गरिएको छ । बिर्तामोड आसपासमा एक दर्जन स्वागतद्वार बनाइएको छ ।

पाँचौँ संस्करणको झापा गोल्ड कपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ । गोल्ड कपमा दुई भारतीय टिम एम एफसी दार्जिलिङ र आरपी एफसी सिक्किम सहभागी हुनेछन् ।

झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेनडर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।

अघिल्लो वर्षजस्तै पाँचौँ संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिनेछ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७८ शनिबार  ७ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]