जेष्ठ ७, २०८१ सोमबार

शालिकराम प्रकरण : तातो पानीले आगो लाग्दैन

बद्री भट्टराई

केही दिन देखि पत्रकार शालिकराम पुडासैनीको चितवन स्थित एक होटलमा भएको आत्महत्या प्रकरणलाई लिएर भदौको गर्मीसँगै सडक तातिरहेछ । दुनियाँले अपेक्षा गरे भन्दा फरक ढंगबाट घटनाक्रमले मोड लिइरहँदा उदेक लाग्नु स्वभाविक पनि छ । आशा गरेका थिए मानिसहरुले शालिकरामको फोटो व्यानरमा उल्लेख गर्दै प्रदर्शन हुनेछ । शालिकरामको हत्या हो वा आत्मा हत्या ? वा हत्याको दुरुत्साहन ? सत्य तथ्य पत्ता लगाएर दोषी माथि कारवाहीको माग गर्दै प्रदर्शन । क्षतिपूूर्तिको माग । आखिर घटनाले अर्कै मोड लिएरै छाड्यो । रविका समर्थक मात्र भएको भए आजसम्ममा सडक आन्दोलन सेलाइ सक्थ्यो । जसको मृत्यु वा हत्या भएको हो ? उसले न्याय पाउने कुरै छैन ।

लुकेको नियतलाई फेस सेफ गर्नका लागि शालिकरामले न्याय पाउन् भन्ने नारा त लागे कै छ, सडकमा । तर ब्यानरमा रविको तस्वीर छ । स्वतःस्फूर्तरुपमै उठेको सडक आन्दोलनमा हुन्थ्यो भने बढी उत्तेजनामा आउने स्वभाव भएका २५ वर्ष मुनिका युवा युवतिहरु देखिन्थे सडकमा । सडकमा उत्रेका मानिसहरु त्यस्ता देखिएनन् । अचम्म लाग्दो कुरा उनीहरुलाई त्यसले त्यति धेरै छोएकै छैन । सायद यस्ता कुरामा उनीहरुको फुर्सद पो कहाँ छ होला र ? त्यसो त सडकमा अधबैसे मानिसहरु केही संघ संस्थाका मानिसहरु देखिन्छन् ।

उनीहरुलाई शालिकरामले पाउने न्यायको भन्दा रविको चिन्ता छ । लोकतन्त्रमा कसैमाथि शंका लाग्दा वा आरोप लाग्दा प्रहरीले समात्छ । हिरासतमा लिन्छ । बयान लिन्छ । सबुत प्रमाण फेला पार्छ । प्रमाणका आधारमा दोषीमाथि कारवाही हुन्छ । राजालाई ठेगान लगाएका जनताले अपराधीलाई पनि ठेगान लगाउन सक्छन् । आजको सत्ता तमाम सामन्तबादी सत्ता र पूँजीपती वर्ग समेतलाई निर्वाचनद्वारा ठेगान लगाउँदै सञ्चालन भैरहेको सत्ता हो । जनताको अभिमतको सत्ता हो । कसैलाई पक्रेर ठ्याङग ठ्याङग गोली हानेर अन्धाधुन्ध सिध्याउने नियत छैन भन्ने कुरा लोकतन्त्रमा विश्वास गर्नेहरुले बुझ्नु सक्नु पर्दछ ।


काम कुरो एकातिर , कुम्लो बोकी ठिमी तिर भने झै सडक आन्दोलनलाई एउटा इँटाको संज्ञा दिने हो भने त्यो इटाको फर्मा बाङ्गो छ । बाङ्गो फर्मा बनाएर उत्पादित इटा पनि बाङ्गै भएर निस्किन्छ । अर्थात, यो सडक आन्दोलन सुरु सुरुमा स्वत : स्फूर्त जस्तो देखिए पनि आज त्यस्तो निस्वार्थ रविका पक्षमा छैन । रविका समर्थकहरु जो उनीहरु अति माया गर्छन, उनीहरुको नियत ठिकै भए पनि अव इटाको फर्मा बाङ्गो भइसक्यो । यदि रविका समर्थकको चाहना अराजकता नफैलाउने र लोकतन्त्रलाई माया गर्ने, विश्वास गर्ने हो भने उनीहरुले गम्भीर भूल गर्दैछन् ।

उनीहरुको चाहना विपरित अब उनीहरुले नै राज द्रोह गर्न उक्साएको आरोपमा जीवन भर जेलमा सडाँउनेछन् रविलाई । उनकै समर्थकले । चितवनको प्रदर्शनमा वर्तमान प्रधानमन्त्रीको तस्वीर बोकेर मुर्दावादको नारा लाग्नु, प्रचण्ड विरुद्ध नारा लाग्नु, सरकारको राजिनामा माग्नु, कतिपय लोकतन्त्रमा विश्वास गर्ने भनिएकाहरुको भाका फेरिनु, दरवारीयाहरुको जस्तो भाषा आउनु, पूर्व पञ्चहरुको चलखेलहुनुलाई यो सडक आन्दोलन अब रविका समर्थकहरुको हातबाट अन्तै पुगि सक्यो । वर्तमान कम्युनिष्ट सरकारलाई मन नपराउनेहरु पुनरुत्थानवादीहरु, पुँजीवादी स्यालहरु अहिले अध्यारो कुनामा बसेर काखी बजाई रहेका छन् । यसका लागि सडकमा लागेको एउटा नारा नै काफी छ ।


हाम्रो रवि हाम्रो देश, प्राण भन्दा प्यारो छ । यस्तो नारा पञ्चायत कालमा लाग्थ्यो । राजाको गुलामी गर्नलाई । आज रविको मुद्धा उठाएर पूर्व पञ्चहरुको शक्तिलाई मजवुत पार्ने ध्येय सडकमा देखीसक्यो । धमिलो पानीमा माछा मार्ने दाउ सडकमा पोखिइ सक्यो । अराजकता फैलाएर देश भाड्ने, लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने कुत्सित मनसाय प्रकट भैसक्यो । उनीहरु चाहन्छन सरकारले भीडमा गोली चलाओस दुई चार जना हताहत हुन् । अनि भन्न पाइयोस, मान्छे मार्न पाइदैन । राजा आउ देश बचाऊ भनेर । धन्य छ सरकार आजसम्म गोली नपड्काएकोमा , हताहत नपारेकोमा । अझ सम्यमता अपनाओेस सरकारले ।


आदरणीय, न्याय प्रेमी जनसमुदाय, लोकतन्त्रवादीहरु, गणतन्त्रको संस्थागत विकास र स्थायीत्व गर्दै समाजवादको चाहना राख्ने महानुभावहरु, आत्तिइ हाल्नु पर्दैन । २०६२÷६३ को जनआन्दोलन पूर्व राजासँग एकलौटी सत्ता थियो । आफूले भनेको मान्ने सरकार थियो । सेना थिए । प्रहरी थिए । रक्षा गर्न सके त राजतन्त्र ? आज उनीहरुसँग फगत रवि छन् ।

अनि केही समर्थकहरु । फर्काउन सक्छन् राजतन्त्र ? अर्कातिर लोकतान्त्रिक गणतन्त्रको रक्षक, पहरेदार झण्डै दुई तिहाइको सरकार छ । प्रतिगमन सम्भव छ ? भनिन्छ भकभक उम्लिएको तातो पानी खन्याउँदा आगलागी हुदैन । अलिअलि आत्था–आत्था भनि नसक्दै सेलाउँछ तातो पानी, जल्दैन घर । मर्दैन लोकतन्त्रिक गणतन्त्र, ढल्दैन सरकार । शालिकरामले न्याय पाउन् । जय लोकतान्त्रिक गणतन्त्र ।

प्रकाशित मिति : भाद्र ९, २०७६ सोमबार  ४ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]