जेष्ठ ६, २०८१ आईतबार

हिंसा न्यूनिकरणमा महिला एकता आवश्यक

सम्पादकीय
आज ८ मार्च । अर्थात, ११२ औं अन्तराष्ट्रिय महिला दिवस । महिला अधिकारको सवालमा अन्य दिनभन्दा धेरै बहस र छलफल गर्ने दिन । विश्वभर आजको दिन महिला अधिकारको सवालमा विभिन्न कार्यक्रम गरि मनाइदैछ । आज पनि बहसको मुख्य एजेण्डा भनेको महिला हिंसा न्यूनिकरण कसरी गर्न सकिन्छ भन्ने नै हो । वर्षौदेखि हाम्रो समाजमा महिला अधिकारको सवालमा छलफल बहस प्रारम्भ गर्दा यसै सन्दर्भमा रहेर कुराकानी गर्ने गरिएको छ । अहिलेसम्मका उपलब्धी र वर्तमान चुनौतिका बारेमा पनि छलफल गर्न जरुरी छ ।

महिला स्वभाविक रुपमा पुरुषबाट हिंसा व्यहोरिरहेका छन् । हिंसा व्यहोर्न महिलाले बाहिर जानै पर्दैन । हरेक घरघरमा हिंसा हुन्छ । यत्ति हो, घरको हिंसा बाहिर आउदैन । बाहिरको हिंसा छिटपुट रुपमा बाहिर आउन थालेको छ । महिला अधिकारको सन्दर्भमा कुरा गर्ने हो भने अधिकार पर्याप्त छन् । तर, अधिकार कार्यान्वयनमा अझै जटिलता छ । त्यो जटिलताको बाधक भनेको फेरि पनि पुरुष नै हो । महिलालाई समान नागरिकको रुपमा अघि बढाउने दायित्व सर्वप्रथम पुरुष कै काँधमा छ । यसको मतलव महिलाको छैन भन्ने होइन । महिलाको पनि उत्तिकै महत्वपूर्ण भूमिका छदैछ ।

अहिलेसम्म जे जस्ता हिंसा भए पनि अबका दिनमा महिलाले हिंसामा परेको कुरा बाहिर ल्याउनैपर्छ । महिलाले हिंसामा परेको कुरा बाहिर नल्याएकै कारण समाजमा हिंसाका घटना बढिरहेका छन् । र, बाहिर आएका घटनामा कारवाही प्रक्रिया अघि बढाउदा महिलाबाटै रोकावट हुनु हुदैन । सचेत र अग्रज महिलाहरु प्रायःहिंसामा पदैनन् । जो, हरेक हिसावले पछाडि छन्, उनीहरु हिसांमा परेका छन् । महिला हिंसाको घटना बाहिर आएपछि पीडकलाई कारवाही गर्दा त्यसलाई जोगाउन महिला नै अग्रभागमा उभिने प्रवृत्तिको अन्त्य हुन आवश्यक छ । जबसम्म हरेक महिलाले हिंसालाई साझा समस्याका रुपमा ग्रहण गर्दैनन् तबसम्म हिंसा समस्याको रुपमा सधैं बहस भइरहन्छ । यस प्रकारका समस्यामा महिलाहरुमा एकताको खाँचो छ ।

प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]