झापा लागुऔषधको ट्रान्जिट
बिर्तामोड । झापामा हरेक दिन प्रहरीले लागुऔषध कारोवारीलाई पक्राउ गर्छ । खुला सीमाका कारण लागुऔषध कारोवारीलाई प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन । कारोवारी नियन्त्रणका नाममा प्रहरीले ब्राउनसुगरको व्यापार गर्नेहरुलाई समातिरहेको छ ।
पूर्व नेपालमा झापा लागुऔषध कारोवारको ट्रान्जिट बनिरहेको तथ्याङकले देखाएको छ । भारतबाट खरिद गरेर सहजै प्रवेश पाइरहेका कारोवारीहरुले काठमाडौंसहित पश्चिमका जिल्लाहरुमा निर्यात गरेको पाइन्छ ।
काठमाडौंपछि झापालाई धेरै कारोवार हुने जिल्लाका रुपमा प्रहरीले नोट नै गरेको थियो । केहि वर्षअघिसम्म झापाले बनाएको रेकर्डलाई कमजोर बनाउन प्रहरी बाहेक सरोकारवाला लागेको पाइदैन ।

झापाको मेचीनगर–१२ स्थित मामाघर बस्दै आएका १९ वर्षीया अवि नारायण लिम्बुलाई कोठाबाटै प्रहरीले बिहीवार साँझतिर ब्राउनसुगरसहित नियन्त्रणमा लियो । मामाघर बस्दै आएका लिम्बुको घर मोरङ जिल्लामा पर्छ । उनलाई २१.३८ ग्राम ब्राउनसुगरसहित बुधबारे र चारआलीको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिन सफल भयो । लिम्बुको कोठामा फेला परेको लागुऔषध ठुलो परिमाण हो ।
लिम्बुको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको छ ।
लिम्बुलाई पक्राउ गरेको दुई दिनअघि मात्रै झापा प्रहरीले लागुऔषधसहित ७ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो । ७ जनामा दुई जना युवा बारा र बझाङ जिल्लाका थिए ।
प्रहरीले बाराका २६ वर्षीय प्रकाश खुलाल र बझाङ सुर्माका २२ वर्षीय संजय बोहराको साथबाट ३० पत्ता (४५० ट्याबलेट ), २ पत्ता ( १६ क्याप्सुल ), बिर्तामोडका ९ गरामनी बस्ने धनसिंह राजवंशी र ८ बस्ने रोशन शिवाकोटीको साथबाट डाईजेपाम ३६ एम्पुल, फेनारगन २९ एम्पुल, लुपिजेसिक ३७ एम्पुलसहित नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई भद्रपुर–५ स्थित नयाँ बजार र मेचीपुलबाट नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
त्यही दिन बिर्तामोडबाट प्रहरीले अट्टोसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुले अटो चालक बस्ने सिट मुनि लुकाइ छिपाई ल्याउँदै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले खुला सीमा नै नियन्त्रणको मुख्य चुनौति भएको बताएका छन् । उनले लागुऔषधको कारोवारमा विपन्नभन्दा धेरै सम्पन्न परिवारका सन्तान भेटिने गरेको जानकारी दिए । उनका अनुसार गएको साउन महिनादेखि लागुऔषध मुद्दामा १०३ जनामा पूर्पक्षका लागि कारागार चलान भएका छन् । ९ जना धरौटीमा छुटेका छन् भने ६६ जनाको अनुसन्धान भइरहेको छ । २ जना बाल सुधार गृहमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ अनुसार १९ देखि ३५ वर्ष उमेर समूहका युवा लागुऔषध कारोवारमा संलग्न भएको पाइएको छ । त्यसमा साउनदेखि माघ महिनासम्म ८४ जना १९ देखि २५ वर्षका र २५ देखि ३५ वर्षका ६२ जना रहेको पाइएको छ ।
झापा प्रहरीमा गएको साउनमा २१, भदौमा १६,असोजमा ११, कार्तिकमा १६ मंसिरमा १५, पौसमा २५ र माघमा ११ वटा मुद्दा दर्ता भएका छन् ।