जेष्ठ ७, २०८२ मंगलबार

महिलालाई प्रमुख पदमा उम्मेद्वार बनाउन दलहरुलाई आग्रह

रोहित काफ्ले
भद्रपुर । झापाका महिला जनप्रतिनिधिहरुले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाहरुलाई उम्मेद्वार बनाउन दलहरुलाई आग्रह गरेका छन् ।

झापाको विर्तामोडमा दलित महिला केन्द्र नेपालले आयोजना गरेको अन्तरक्रियामा महिला जनप्रतिनिधिहरुले जिम्मेवारी प्राप्त भए महिलाले पनि सफलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने प्रमाणित भइसकेकोले आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख पदहरुमा महिलालाई अवसर दिन आग्रह गरेका हुन् ।

राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरु समेतको सहभागितामा आयोजित कार्यक्रममा झापाका सदस्य जनप्रतिनिधि भगवती न्यौपाने, सकुन्तला बराल, हिमादेवी बिक, पवित्रा ढुंगाना, चन्द्रकला विश्वकर्मालगायतले प्रमुख पदमा महिलालाई अवसर दिन आग्रह गरे ।
केन्द्रका प्रशिक्षक सोमराज ढकालले सञ्चालन गरेको अन्तरक्रियामा केन्द्रकी उपाध्यक्ष एवम् सांसद लक्ष्मी परियार, सचिव एवम् पार्वती बिसुङखेले नेपालमा महिलाहरुको वर्तमान अवस्था, महिलाहरुले पाइरहेका अवसर, संविधानमा महिलाको अधिकारहरुका बारे प्रष्ट पारेका थिए ।

कार्यक्रमकै बीचमा महिला जनप्रतिनिधिहरुले स्थानीय तहको प्रमुख पदमा महिलाको प्रतिनिधित्व गराउन माग गर्दै झापाका राजनीतिक दलहरुलाई ज्ञापनपत्र पनि बुझाएका थिए । कार्यक्रममा सहभागी नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्की, नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि उमा शिवाकोटी, राप्रपाका शंकर रिजाल र जनता समाजवादी पार्टीकी संगीता रौनियारले संयुक्त रुपमा ज्ञापनपत्र बुझ्दै महिला जनप्रतिनिधिहरुको माग सम्बोधनका लागि आफूहरुले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

‘नेतृत्वको जिम्मेवारी, बाँडौं बराबरी’ भन्ने नाराका साथ मोरङ र झापामा सम्पन्न भएको यो कार्यक्रम शनिबार सुनसरीमा आयोजना गरिने केन्द्रकी कार्यक्रम अधिकृत रिजु रसाइलीले जानकारी दिए । केन्द्रले प्रदेश १ को झापा, मोरङ, सुनसरी, ओखलढुंगा र खोटाङमा महिलाका सवालमा कार्यक्रम गर्ने बताइएको छ ।

प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार  ७ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]