बैशाख ६, २०८१ बिहीबार

झापामा एमालेको टार्गेट : गुमेको टाउको फर्काउने, बाँकी कायम राख्ने – अध्यक्ष दिपक कार्की

स्थानीय तहको निर्वाचन नजिकिदैछ । २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरु जीत आफ्नो पक्षमा पार्नलाई सोही अनुरुपको तयारीमा जुटिसकेका छन् । दलहरु निर्वाचन लक्षित गतिविधिमा सक्रिय भइरहेको अवस्था छ । नेता, कार्यकर्ताहरु मतदाता केन्द्रीत भेटघाटमा अभियान नै सञ्चालन गरेर लागिसकेका छन् । निर्वाचनमा जीत हासिल गर्न नेतृत्व तहमा कार्ययोजना बनाएर भेटघाटको अभियानलाई तीब्र बनाइएको छ । यसै सन्दर्भमा नेकपा एमाले झापा स्थानीय तहको निर्वाचनमा कसरी जुटेको छ ? विगतको जीतलाई बचाउँदै एमालेलाई फेरि पहिलो पार्टी बनाउन के कस्ता अभियान सञ्चालन गरिदैछ ? जीत हासिल गर्न एमालेको रणनीति के हो भन्ने बारेमा नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीसँग इजलास दैनिकका सम्पादक प्रदीप परियारले गरेको २१ प्रश्न :

१, आसन्न स्थानीय तहको निर्वाचनमा विजयी हासिल गर्न नेकपा एमाले झापा के गर्दैछ ?
– नेकपा एमाले झापा आसन्न स्थानीय तहको निर्वाचनका लागि जनपरिचालनमा जुटेको छ । मतदाताको घरमा पुग्ने काम भइरहेको छ । ‘म मेरो वडा जिताउँछु, म मेरो पालिका जिताउँछु ’ भन्ने अभियानसहित मतदाताको घरघरमा पुग्ने काम अभियानको रुपमा सञ्चालन भइरहेको छ । सँगसँगै मत सर्वेक्षण गर्ने, मतआकर्षित गर्ने, पार्टी प्रवेशको काम पनि तीब्र ढंगबाट अघि बढाइएका छौं । कतिपय ठाउँमा पार्टी प्रवेश गरेर अविर लगाउन नचाहनेहरु जो एमालेको शुभेच्छुक हुनुहुन्छ, उहाँहरुलाई आवद्धता पत्र दिदैंछौं । एमालेको अभियान देखेर विपक्षी दलहरु पनि त्यस्तै काममा लागेका छन् ।

२, जिल्लामा पार्टी प्रवेशको कार्यक्रम प्रतिस्पर्धा जस्तो देखिदैछ नि ?
– हामीले हाम्रो सरकारको नेतृत्वमा गरेको कामले पार्टीमा प्रवेशको लहर चलेको छ । एमालेमा समाहित हुनेहरुको उत्साह बढेको सबैले देखिरहेकै छौं । समृद्ध नेपाल, सुखी नेपालको महाअभियानले सबैलाई एमालेमा जोडिन हौसला प्रदान गरेको छ । एमालेमा उत्साहित भएर प्रवेश गरेको विषयलाई अन्य पार्टीसँग प्रतिस्पर्धा गरेको भन्न मिल्दैन । हाम्रो लोकप्रियताले आत्तिएका विपक्षीहरुलाई प्रतिस्पर्धामा उत्रिएको भन्न सुहाउछ । स्वभाविक रुपमा पार्टी प्रवेश एमालेको सबैभन्दा राम्रो छ ।

३, एमालेमा प्रवेश गर्नेहरु बढे भन्नुको अर्थ विगतमा भन्दा यो निर्वाचनमा मत धेरै पाइन्छ भन्ने हो ?
– स्वभाविक हो, मतदाताको संख्या पनि बढेको छ । हामीलाई मत दिनेहरुको संख्या पनि बढाएका छौं । त्यसैले विगतमा भन्दा हामी बढि मत पाउँछौं । मत पाउँनका लागि पात्रको पनि उत्तिकै भूमिका हुन्छ । लोकप्रिय पात्र भएमा मात्रै बढि मत पाउन सकिन्छ । पात्रको चयनमा हामीले गलत गर्यौ भने पराजय व्यहोर्नुपर्छ । जनचहाना अनुसारको पात्र तयार गर्न सफल भयौ भने हाम्रो जीतलाई कसैले रोक्न सक्दैन ।

४, भनेपछि विगतमा भन्दा नतिजा पनि राम्रो आउँछ भन्ने हो ?
– नतिजा राम्रो आउने कुरामा दुईमत छैन । अघिल्लो स्थानीय चुनावमा जित्ने ठाउँमा टाउको गुमायौं । बलियो ठाउँमै गोलाप्रथाबाट जित्नुपर्यौ । यो पटक ति टाउका पनि वित्छौं, गोलाप्रथा पनि गर्नुपर्दैन । दक्षिण क्षेत्रमा हामी सामान्य कमजोर थियौं, विगतमा । यो निर्वाचनमा त्यहाँको नतिजा पनि उल्टाउछौं ।

५, त्यसका आधारहरु ?
– त्यसको आधार भनेको हाम्रो संगठन विस्तार नै हो । अर्को, समग्र समुदायको आकर्षण नै हाम्रो पार्टीमा छ । एमालेले विकास निर्माणमा चलाएको लहर अर्को आधार हो । दक्षिण क्षेत्रको कुरा गर्ने हो भने, हुलाकी मार्ग हाम्रो सरकारको नेतृत्वमा बन्यो । त्यो कुरा स्थानीय मतादाता, जनताले बुझ्नुभएको छ । हुलाकी बनाउने एमाले नेतृत्वको सरकारलाई स्मरण गर्दै अन्य पार्टीका शुभेच्छुक समेत एमालेलाई मत दिन आतुर हुनुभएको छ । हामीले गरेका काम नै निर्वाचन जित्ने मुख्य आधार हुन् ।

६, झापामा नेकपा एमाले एक्लै चुनावमा जाँदैछ । अन्य दलहरु गठबन्धन गरेर चुनावमा जाने तयारी गर्दैछन् । त्यो अवस्थामा तपाइले भने जस्तो नतिजा कसरी आउन सक्छ ?
– हाम्रो शक्ति देखेर अन्य दल गठबन्धनमा लागेका हुन् । एमालेसँग एक्लै भिड्न सकिदैन भनेर नै गठबन्धनमा लागेका हुन् । दलहरुमा गठबन्धन भए पनि मतदातामा गठबन्धन हुदैन । मतदाताले स्वतन्त्र ढंगले आफ्नो प्रतिनिधि छान्छन् । स्थानीय चुनाव केन्द्रको चुनाव जस्तो हुदैन । त्यसैले गठबन्धन परास्त हुन्छ ।

७, झापामा एमालेको तालमेल के हुन्छ ?
– एमालेले साना दल, स्वतन्त्र समूहहरु, भावना मिल्नेहरुसँग तालमेल गर्छ । त्यसका लागि हामीले ढोका खुल्ला राखेका छौं ।

८, तपाई भर्खरै झापा एमालेको अध्यक्ष बन्नु भएको छ । तपाईको टार्गेट के हो ? कति जिताउने योजना छ ?
– प्रतिशतमा नभनौं, हामीले जित्नै पर्ने ठाउँमा टाउको हारियो । जस्तै, गौरादह, मेचीनगर, हल्दिवारी, बुद्धशान्तिमा मेयर र अध्यक्षमा हारियो । हामी यी ठाउँहरु फर्काउँछौं र अन्य ठाउँ कायम राख्छौं । कमल गाउँपालिकामा गोलाबाट अध्यक्ष जित्नुपरेको थियो । यो पटक निकै मत अन्तर ल्याएर जित्दैछौं । हुलाकी क्षेत्रमा पर्ने पालिकामा पनि जित्ने निश्चित भएकाले हाम्रो प्रतिशत त ह्वात्तै बढिहाल्छ नि ।

९, टिकट माग्नेहरुको भीड कस्तो छ ?
– निर्वाचनको मिति नजिक आइसकेको कारण टिकट माग्नेहरु आउनु स्वभाविक छ । आकांक्षीहरु धेरै हुनुहुन्छ, त्यसमध्ये असल पात्र, जनताको बिचमा लोकप्रिय पात्र, जनताले रुचाएको व्यक्तिहरुलाई उम्मेद्वारको रुपमा उभ्याउन तयार छौं ।

१०, धेरै जसो ठाउँमा बहालवाला जनप्रतिनिधि नै फेरि दोहोराउने पक्षमा हुनुहुन्छ । उहाँलाई नै टिकट दिने संभावना के हुन्छ ?
– कतिपय ठाउँमा हुन सक्छ, कतिपय ठाउँमा नहुन पनि सक्छ । उहाँहरुले गरेका काम र जनताको बिचमा कमाउनु भएको लोकप्रियतालाई आधार मानेर टिकट दिन सकिन्छ । अर्को, उहाँहरुको पार्टीप्रतिको त्याग र निष्ठालाई पनि ख्याल गरिन्छ । उहाँहरुले जनप्रतिनिधि भएर कति इमान्दारिताका साथ काम गर्नुभएको छ, त्यसको मुल्याङकन गरेर दोहोर्याउने वा नदोहोर्याउने कुराको निर्णय लिइन्छ ।

११, अहिलेका जनप्रतिनिधिले गरेका काम सबै सन्तोषजनक छ ?
– त्यसैको मुल्याङकन भइरहेको छ ।

१२, अघिल्लो निर्वाचनमा जहाँ टाउको हारियो, त्यहाँ अन्तरघात भएको चर्चा पनि भयो नि ?
– त्यो बेला हामीले समयको पदचापलाई चिन्न सकेनौं । र, पात्र चयनमा पनि कमिकमजोरी भए । पात्रको भूमिकाले पनि केहि असर गरेको हुन सक्छ । त्यसलाई अन्तरघात नभन्ने पो हो कि ।

म पाँच पटक निर्वाचन लडें । पाँचै पटक मत परिणाम फरक आयो । त्यसको मतलव, कहिले कुन क्षेत्रबाट बढि आउँछ, कहिले कुनै ठाउँबाट कम आउन सक्छ । यसमा हामीले बुझ्नुपर्ने कुरा भनेको मतदाताको अपेक्षा हो । को के कुराले रिसाइरहेको हुन्छ, ख्याल नगर्दा मतको प्याट्रनमा तलमाथि हुन सक्छ । यदि पार्टीको मत नै घटेर आयो भने त्यो चै अन्तरघात हो ।

१३, लामो समयको चहानापछि तपाई पार्टी नेतृत्वमा आउनुभएको छ । तपाईको नेतृत्वले मत परिणाममा केहि फरक पार्छ त ?
– म पार्टी नेतृत्वमा आएपछि कोहि पनि बेखुस भएको मैले बुझेको छैन । सर्वसम्मतीबाट आएको हुँदा सबै पार्टीपंती खुशी छ । कोही पनि नाराज भएजस्तो लाग्दैन । कसैलाई टाढा, कसैलाई नजिक बनाएको छैन । सबैलाई समान ढंगले लिएर हिडेको छु । सबै नेतृत्व तहमा मेरो उपस्थितिलाई सकारात्मक लिएको हुँदा सोही अनुसारको परिणाम हात पार्न सक्ने कुरामा विश्वस्त छु ।

१४, झापा एमालेको चुनावी अभियान आक्रामक भएन भन्ने पनि सुनिन्छ ?
– समय आएपछि आक्राम हुने हो । अभियान जारी छ । सुस्त भएको पनि होइन । आवश्यकतालाई मध्यनजर गरेर आक्रामक हुने बेला आउँदैछ । अभियान विस्तारै तात्दैछ , विस्तारै तपाईले भनेजस्तो आक्रामक भइहाल्छ ।

१५, तपाईको उम्मेद्वारीको कुरा के हो ?
– मेरो उम्मेद्वारी भन्दा पनि पार्टीको समग्र उम्मेद्वारको सवाल चै पहिलो प्राथमिकता हो । पार्टीको निर्णयलाई पालना गरेर अघि बढ्छु । त्यो विषय साथीहरुबाट आउला । भरसक, साथीहरु नै आउनुहोस् । म नै फेरि फर्किनुपर्ने कुराको औचित्य प्रष्ट आउनुपर्छ । सार्थीहरु र म ठोस् निर्णयमा पुगिसकेका छैनौं । पुगेपछि स्पष्ट हुन्छ ।

१६, गौरादहको टाउको आफै फर्काउने सुनिएको छ नि ?
– आफै फर्काउने भनेको नेकपा एमालेले फर्काउने भनेको हो । म अरु, साथीहरुलाई नै उभ्याएर जाने भन्ने पक्षमा छु । अब पार्टीले त नै हो भन्ने निर्णय गर्यो भने पार्टीको निर्णयलाई मैले शिरोधार्य गर्नैपर्छ । त्यसको औचित्य त प्रष्ट हुनुपर्यो नि ।

१७, त्यसो भए तपाईले आफुलाई प्राथमिकतामा राख्नु भएको छैन ?
– राखेको छैन, साथीहरुले मलाई भनिरहनु भएको छ । तर, मैले साथीहरुलाई आफै तयारी हुनुहोस् भनिरहेको छु ।

१८, उम्मेद्वारको टिकट लिन विभिन्न स्वार्थ बोकेर आउनेहरुलाई के भन्नुहुन्छ ?
– त्यसरी आउनेहरुलाई मेरो अध्ययन र बुझाइ अनुसार सिफारिस गर्छु । आकांक्षा राखेर आउनु नै अपराध होइन । त्यसरी आउनेहरुलाई ‘म’ भन्ने त्याग गर्नु भन्छु । ‘म’ भन्दा पनि पार्टी जिताउछु भनेर आउन आग्रह गर्छु । पार्टीको निर्णय शिरोधार्य गर्छु भन्नुहोस्, त्यसपछि मात्रै आफुलाई प्रस्तुत गर्नु भन्ने मेरो सूझाव रहनेछ । विभिन्न कारण देखाउदै साथीहरु आउनु भइरहेको छ । मैले उहाँहरुलाई तपाईको यस–यस कारण तपाईको संभावना देखिरहेको छैन पनि भनिरहेको छु । त्यस्ता पात्रलाई व्यक्तिगत रुपमा पनि सूझाव दिने काम भइरहेको छ ।

१९, त्यसरी आउनेहरुले के कुरालाई ख्याल गर्नुपर्ला ?
– वहालवालाहरुलाई आफ्नो पाँच वर्षे कार्यकालको समिक्षा गर्न भन्छु । तपाई प्रति मतदाता कति सन्तुष्ट हुनुहुन्छ ? पार्टी कति सन्तुष्ट छ ? विचार गर्न आग्रह गरिनेछ । प्रिय जनप्रतिनिधि भए कि प्रशासक भए ? त्यसको हिसाव सुनाउनुपर्छ । पुलिस, सिडियो जस्तो आदेश चलाएर समय विताइयो कि, साथीभाइसँग मिलेर काम गरियो । कार्यपालिकामा कसरी काम गरियो त्यसलाई मध्यनजर गर्नैपर्छ ।

२०, पार्टीसँग राम्रै सम्बन्ध राखेर काम गरेका होलान् नि , वहालवाला जनप्रनितिनिधिहरुले ?
– विल्कुल, हार्दिकता समेत राखेको छैन । एकाध ठाउँ बाहेक पार्टीपंतीसँग समन्वय समेत गरेको पाइदैन । एकाध ठाउँ बाहेक साथीहरु पार्टीलाई पेलेर काम गर्नुभएको छ । केहि ठाउँमा पार्टीसँग समन्वय गरेर काम गर्ने साथीहरुको काम भए, नभए पनि पार्टीले त्यसको जिम्मेवारी लिएको छ । बाँकी ठाउँमा पार्टीले काम गर्न दिएन भन्ने मिथ्या आरोप लगाइरहनु भएको छ ।

२१, अन्त्यमा
– नेकपा एमाले झापा निर्वाचन अभियानमा अघि बढेको छ । जीत हासिल गर्न मात्र होइन, बढिभन्दा बढि सिट जित्न एमाले मैदानमा खटिएको छ । त्यसको परिणाम हामी पाउने नै छौं । र, सम्पूर्ण मतदाताहरुलाई एमालेले गरेका कामलाई स्मरण गरिदिन आग्रह गर्छु । देश बनाउने एमालेलाई विजयी गराउन आव्हान गर्दछु ।

प्रकाशित मिति : चैत्र १२, २०७८ शनिबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]