जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडको मेयरमा कांग्रेसका आकांक्षीहरु

बिर्तामोड । बिर्तामोड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट आधा दर्जन नेताहरुले आकांक्षा व्यक्त गरिरहेका छन् । स्थानीय तहको आसन्न निर्वाचनमा मेयर पद्का लागि वहालवाला जनप्रतिनिधि देखि पार्टीका जिम्मेवार नेताहरु तयारीमा जुटेको चर्चा भइरहेको छ ।

नेपाली कांग्रेसले आफुखुशी घोषणा गर्न बन्देज लगाएपछि आकांक्षी नेताहरुले सार्वजनिक रुपमा उम्मेद्वारीको विषय बाहिर ल्याएका छैनन् । तथापि, आकांक्षीहरुका बारेमा कांग्रेस वृत्तमा व्यापक चर्चा भने भइरहेको छ ।

झापा जिल्लाकै केन्द्र मानिएको बिर्तामोडलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउने गरेका छन् । यहाँ अघिल्लो निर्वाचनमा एमालेबाट धु्रव कुमार शिवाकोटी निर्वाचित भएका थिए । कांग्रेसलाई गुमेको साख फर्काउनै पर्ने दवाव बिर्तामोडमा छ ।

आउँदो निर्वाचनमा मेयर पद्का लागि जल कुमार गुरुङ, बिर्तामोड वडा नं. ३ का वडाध्यक्ष एवम् पार्टीका बिर्तामोड नगर सभापति भोजराज सिटौला, कांग्रेस झापाका सचिव नविन विमली, पुराना नेता हर्कलाल गिरी, युवा नेताहरु उमा शिवाकोटी, युवराज प्रसाईको नाम चर्चामा छ ।
चर्चा मध्ये बलियो उम्मेद्वार जल कुमार गुरुङ, भोजराज सिटौला नै भएको कांग्रेस वृत्तमा छलफल हुने गरेको छ । सिटौला अनारमनी गाविसको दुई पटक र बिर्तामोड नगरपालिका बनेपछि १ पटक वडाध्यक्ष भएका व्यक्ति हुन् । गुरुङ पार्टीमा धेरै वर्षदेखिको सक्रियतासँगै सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन् ।

युवाहरुको माझमा गुरुङ र सिटौला दुवै जना लोकप्रिय मानिन्छन् भने अन्य उम्मेद्वारका आकांक्षीहरु पनि पार्टीभित्र लोकप्रिय प्रतिनिधि मानिएका छन् ।

मेयर पद्का आकांक्षी गुरुङ पार्टीले उम्मेद्वारको विषयमा पक्कै विवेक पुराउने बताउँछन् । विगतमा पराजय व्यहोरेको सद्भाव पार्टीले राख्ने भन्दै गुरुङले सामाजिक जीवनबाट पार्टीलाई महत्वपूर्ण योगदान पुराएको दावी गर्छन् । बिर्तामोड खानेपानीमा लामो समयदेखि नेतृत्व गरिरहेका गुरुङ झापाको फुटवल क्षेत्रमा नेतृत्वतहमा काम गर्दे आएका व्यक्ति हुन् ।

पार्टीले आफुलाई उम्मेद्वार बनाउने कुरामा विश्वस्त भएको भन्दै गुरुङले सामुदायिक प्रतिनिधित्वको कुरालाई पार्टीले विशेष ख्याल गर्ने बताए । बिर्तामोड क्षेत्रमा इमान्दार व्यक्तित्वको पहिचान बनाएका गुरुङले टिकट पाउने कुरामा ढुक्क देखिन्छन् ।

यस्तै, तीन कार्यकाल जनप्रतिनिधिको अनुभव बटुलेका सिटौला बिर्तामोडमा राम्रै जनसम्पर्क भएका व्यक्तिका रुपमा परिचित छन् । उनका समर्थक युवाहरु भन्छन्, भोजराज दाई, सबै वर्ग र समुदायमा भिज्नुभएको छ । उहाँ सबै वर्ग र समुदायसँग सद्भाव राख्नुहुन्छ ।

सिटौलाले आफु पार्टीको सभापति भएकाले अहिले नै धेरै कुरा बोल्न नमिल्ने प्रतिक्रिया दिए । उनी भन्छन्, पार्टी सभापति भएको र विगतको चुनावमा पनि आफुले छोडेको कारण यस पटक इच्छा राख्ने कुरा स्वभाविक छ । पार्टीको हितका लागि अघिल्लो चुनावमा मैले छोडेकै हो, यो पटक पार्टी नेता कार्यकर्ताले अवश्य ख्याल गर्नेछन् । पार्टीको सल्लाह अनुसार नै अघि बढ्ने तर्क सिटौलाको छ ।

बिर्तामोडका पुराना बासिन्दा एवम् तत्कालिन अनारमनी गाविसका अध्यक्ष हर्कलाल गिरीले मेयर पद्मा दावी गर्दै आएका छन् । पार्टी र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको हुँदा मेयर भएर काम गर्न इच्छा व्यक्त गर्नु अस्वभाविक नहुने उनको धारणा छ । बिर्तामोडको कृषि थोक स्थापना, खानेपानीको शुरुआत गरेको गिरीले स्मरण गर्दै भने – ०२७ सालदेखि निरन्तर ०४८ सम्म जनप्रतिनिधि भएर काम गरे । मेरो आवश्यकता बिर्तामोडलाई फेरि पनि छ, साथीहरुले मुल्याङकन गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।

अर्का, आकांक्षी हुन युवराज प्रसाई । बिर्तामोडमा व्यवसायीको पहिचान बनाएका प्रसाई लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय छन् । आफु बलियो उम्मेद्वार भएको उनको भनाई छ । उनले मेयर पद्का लागि इच्छा व्यक्त गरेको कुरा साँचो भएको स्वीकार गरे । राजनीतिसँगै सामाजिक रुपमा योगदान गरेकै कारण आकांक्षा राखेको उनको भनाई छ । उनले मेयर निर्वाचित भएर आम नागरिक र विकासको काम गर्ने भएकोले त्यसका लागि सक्षम पात्रको रुपमा आफुलाई दावी गरेका छन् ।

नेपाली कांग्रेस झापाका सचिव नविन विमली पनि कांग्रेसबाट मेयर पदका लागि आकांक्षी भएको पार्टीमा चर्चा छ । त्यस्तै, कांग्रेस नेतृ उमा शिवाकोटीले पनि आकांक्षा व्यक्त गरिरहेको कांग्रेस नेताहरुको बिचमा छलफल भइरहेको छ । उनी यसअघि मेयरको दावेवदा थिइन् ।
यता, तरुण दल झापाका सहसचिव सजेश शिवाकोटीले मेयरको उम्मेद्वार छनौटमा ख्याल गर्नुपर्ने बताएका छन् । उनले पार्टीमा योगदान गरेको, कांग्रेस बुझेको र सामाजिक रुपमा समेत सक्रिय व्यक्तिलाई कांग्रेसले उम्मेद्वार बनाउनु पर्ने धारणा राखेका छन् ।
नेपाली कांग्रेसले मेयरको उम्मेद्वार प्रदेश समितिबाट निर्णय गर्नेछ । त्यसका लागि वडादेखि नै सिफारिस हुनुपर्ने मापदण्ड बनाएको छ ।

प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार  ८ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]