चैत्र १६, २०८० शुक्रबार

कमलमा जैविक मल उत्पादन

केरखा । झापाको कमल गाउँपालिकाले रसायनिक मलको विकल्पको रुपमा प्राङ्गारीक तथा जैविक मल उत्पादन गरेको छ ।
गाउँपालिकाले आफ्नै प्राविधिक र स्थानीय श्रोत साधन मार्फत उत्पादन गरेको मललाई ब्राण्डिङ् गरि कमल मलको नामबाट सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले सञ्चालन गरेको विषादी प्रयोग मुक्त सप्ताह समापनको अवसर पारि ब्राण्डिङ् सहितको मल सार्वजनिक गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले रसायनिक मलको सधै हाहाकार हुने र यसले माटो एवम् पर्यावरणमा समेत नोक्सानी गर्ने भएकाले स्थानीय श्रोत साधनको प्रयोग गरि जैविक मल उत्पादन गरिएको बताइन् । मल उत्पादनको प्रविधि स्थानीय स्तरमा हस्तान्तरण गरि किसानलाई रसायनिक मलको विकल्प र आम्दानीको श्रोतको रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताइन् ।

गाउँपालिकाले जनप्रतिनिधीहरुको कार्यकाल शुरु भएदेखिनै जैविक कृषि प्रणालीलाई प्रोत्साहन गर्दै आएको गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटील बताए । आधुनिक र व्यवसायिकताका नाममा रसायनिक मल र विषादीको प्रयोग उच्च हुने गरेको भन्दै उनले स्थानीय सरकारलेनै त्यस प्रकारका घातक मल र विषादीको विकल्प तयार पारेको बताए ।

गाउँपालिकाले उत्पादन गरेको प्राङ्गारीक मल, युरीया तथा झोल मल प्रयोगशाला परीक्षणका क्रममा समेत उपयोगी ठहर भएको गाउँपालिका कृषि शाखाका प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।

गाउँपालिकाले उत्पादन गरेको मललाई कमल मलको रुपमा ब्राण्डिङ् गरिएको उनको भनाई थियो । यस अघि नमूनाका रुपमा किसानलाई वितरण गर्दा त्यसको परिणाम समेत रसायनीक मलको विकल्पको रुपमा प्रयोग गर्न मिल्ने गरि देखिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय लखनपुर साना किसान कृषि सहकारी संस्थाको समन्वयमा भएको विषादी प्रयोग मुक्त सप्ताहको समापनका अवसर पारि गाउँपालिकाका ७ ओटा वडाका उत्कृष्ट २१ किसानलाई कृषि उपकरणहरु प्रदान गरि पुरस्कृत गरियो ।

यस्तै कार्यक्रममा सहभागी किसानहरुलाई समेत गाउँपालिकाले उत्पादनको मल वितरण गरिएको गाउँपालिका कृषि शाखाका प्राविधिक प्रेमप्रसाद पोखरेलले जानकारी दिए । कार्यक्रम वडा नं. ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईको अध्यक्षतामा भएको थियो भने किसानहरुले विषादीको प्रयोग न्यूनिकरण गर्न जनचेतना जगाउने विभिन्न गीतहरु सुनाएका थिए ।

गाउँपालिकाले रसायनीक मल र विषादीको साटो जैविक र प्राङ्गारीक उत्पादनमा प्रेरीत गर्दै विगत वर्षहरु देखि नै विषादी प्रयोग मुक्त सप्ताह गर्दै आएको छ ।

प्रकाशित मिति : चैत्र १५, २०७८ मंगलबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]