जेष्ठ ५, २०८१ शनिबार

बिर्तामोडको मेयरमा एमालेका आकांक्षी : वडाध्यक्षदेखि सांसदसम्मको दौडधुप

बिर्तामोड । बिर्तामोडको सामाजिक संघ संस्थामा पकड जमाएको नेपाली कांग्रेसले ०७४ को स्थानीय तह निर्वाचनमा मेयर पद गुमायो । मेयर र उपमेयर नै गुमाएको नेपाली कांग्रेसले बिर्तामोडका केहि वडामा जित्यो । झापाको मुख्य राजनीतिक केन्द्र र नेताको प्रतिष्ठा बन्ने बिर्तामोड नगरपालिकामा यतिवेला चुनावी सरगर्मी छ ।

मेयर, उपमेयरसहित बहुमत प्राप्त गरेको नेकपा एमाले बैशाखमा हुन गइरहेको निर्वाचनमा फेरि बहुमत कायम गरेर जाने योजना बनाइरहेको छ । चुनाव केन्द्रीत घरदैलो अभियान सञ्चालन गरिहरेको एमालेमा मेयर, उपमेयर पदका लागि आकांक्षीहरु पार्टी नेतृत्वसँग उम्मेद्वार सिफारिसका लागि माहोल बनाइरहेका छन् ।

जिल्लाकै राजनीतिक केन्द्र भएको बिर्तामोडमा पार्टीका सबै तहका नेताहरुले आकांक्षा राख्नुलाई स्वभाविक मानिएको छ । मेयरमा आधा दर्जन नेताहरुले आकांक्षा व्यक्त गरिरहेको एमाले वृत्तमा चर्चा हुन थालेको छ ।

मेयरका लागि बहालवाला मेयर धु्रव कुमार शिवाकोटी नै जोडतोडका साथ लागेका छन् । उनी एक कार्यकाल दोहोर्याउने मनसायमा खुलेर लागेको पाइएको छ । पाँच वर्षमा आफ्नो नेतृत्वमा धेरै काम भएको बताउने मेयर शिवाकोटीले आफ्नै नेतृत्वका बाँकी कामहरु सक्नुपर्ने जिकिर गरेका छन् । उनी भन्छन्, बिर्तामोडमा विकासको लहर ल्याएको छु, मेरै नेतृत्वमा समृद्ध एवम् स्मार्ट नगर बनाउनु पर्नेछ । त्यसैले मेरो उम्मेद्वारी दोहोराउन उचित ठानेको छु ।

यस्तै, वहालवाला उपमेयर पवित्रा महतरा मेयरको कडा दावेदारको रुपमा देखिएकी छिन् । उनले आसन्न निर्वाचनमा मेयरको उम्मेद्वार बन्न पाउनुपर्ने माग गरेकी हुन् । पार्टीभित्र र नगर क्षेत्रमा विवादरहित कार्यकाल पुरा गर्ने महतराले मेयरमा महिलाको नेतृत्व हुनुपर्ने मागलाई केन्द्र तहसम्म पुराएकी छन् । उनले आफ्नो संयोजकत्वमा रहेको न्यायिक समितिलाई लगातार प्रदेशमा उत्कृष्ट बनाउन सफल भएकी छन् ।
प्रदेश सांसद् एकराज कार्की पनि मेयरमा उठ्ने तयारीमा लागेका छन् । लामो समयदेखि मेयरको उम्मेद्वार बन्ने गरि काममा लागेका कार्कीले प्रदेश छोडेर स्थानीय पालिकामा काम गर्ने इच्छा देखाएका छन् । गरामनी क्षेत्रमा राम्रो पकड बनाएका कार्कीले चुनाव जित्ने दावी गर्दै आएको पार्टीभित्र चर्चा भइरहेको छ ।

मेयर पदका लागि कर्मचारी क्षेत्रबाट आएका देवराज कार्की पनि चर्चामा छन् । कर्मचारी क्षेत्रको प्रदेश नेतृत्व समेत गरेका उनी लामो समयदेखि पार्टीको जनसंगठनमा क्रियाशिल थिए । नेकपा एमाले बिर्तामोडका इञ्चार्ज समेत रहेका कार्की नगरपालिकाको कर्मचारीबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका छन् ।

यस्तै, बौद्धिक क्षेत्रमा अगुवा मानिएका उमानाथ ओली अर्का उम्मेद्वारका आकांक्षी हुन् । नेकपा एमालेभित्र चर्चामा रहेका ओली नेकपा एमालेको नगर अध्यक्ष मै पराजित भएका व्यक्ति हुन् । मेची क्याम्पसका पूर्व प्रमुख समेत रहेका ओली पार्टीको अग्रमोर्चामा क्रियाशिल छैनन् ।

त्यस्तै, मेयर पदका अर्का आकांक्षीको रुपमा देखिएका छन्, विर्तामोड २ का वडाध्यक्ष नगेन्द्र संग्रौला । संग्रौला टिकटको लविङका लागि बालकोट पुगिसकेका छन् । बालकोट पुगेर फर्किएका संग्रौला बिर्तामोडका वडाध्यक्षमध्ये चिनिएका जनप्रतिनिधि हुन् । सामाजिक सञ्जालमा रुखो प्रस्तुतिले परिचित संग्रौला आलोचित पनि छन् । पार्टीमा लामो समयदेखि काम गर्दै आएका संग्रौला मेयर पदमा बलियो बलियो दावी गरिरहेका छन् ।

नगरको उपमेयरमा ६ जना आकांक्षी देखिएका छन् । नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् रेडियो भिजनका सञ्चालक गणेश पोखरेल, वडा नं. ९ को वडाध्यक्ष पवित्रा पाठक, वडा नं. ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन , पार्टीको प्रदेश कमिटी सदस्य टिका घिमिरे, पार्टीका २ नं. क्षेत्रीय कमिटी संयोजक बद्री भट्टराई र सहसंयोजक प्रविण पोखरेल उपमेयरको उम्मेद्वार बन्ने इच्छा व्यक्त गरिरहेका छन् ।

नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले निर्वाचन जित्ने गरिका उम्मेद्वार पार्टी सिफारिस गर्ने जानकारी दिएका छन् । उनले विगतको जस्तो केहि ठाउँ गुमाउने छुट एमालेलाई नभएको बताए । अध्यक्ष भट्टराई भन्छन्, – एमालेको टोलटोल संगठन विस्तार छ । विर्तामोडमा सबैभन्दा बलियो संगठन एमालेकै भएकाले हाम्रो जीत निश्चित छ । उनले बिर्तामोड नगरपालिकाले पाँच वर्षका गरेका काम नै जीत आधार हुने बताए । ७ सय परिवारलाई आवास निर्माण, ११२ किमि कालोपत्रे सडक निर्माण, सबै वडामा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण, नगर अस्पतालको निर्माण, १२२ वटा पुल कल्भर्ट निर्माण, सिँचाईको पर्याप्त सुविधा र कृषिमा उल्लेख्य काम गरेको अध्यक्ष भट्टराईको भनाई छ ।

०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार जलकुमार गुरुङलाई मेयर पदमा ८९५ मतले एमालेका धु्रवकुमार शिवाकोटी निर्वाचित भएका थिए । सो निर्वाचनमा गुरुङले ८ हजार २१७ मत प्राप्त गरेका थिए । राप्रपाबाट उम्मेद्वार बनेका भक्ति सिटौलाले ६ हजार १७० मत ल्याए । यस्तै, माओवादीबाट मेयर पदमा निर्वाचन लडेका चन्द्रप्रसाद कडरियाले ३ हजार ७९७ मत प्राप्त गरेका थिए । बिर्तामोडमा नेकपा एमालेका लागि मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस नै भएको गत निर्वाचनको तथ्याङकमा देखिन्छ ।- नगेन्द्र सङ्रौला पराजित भएको वाक्यांश भुलवश प्रकाशन भएकाले सच्याइएको छ । स .

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  ९ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]