बुबाको गोजी
युवराज नयाँघरे
घर छोड्ने भएँ मैले ।
त्यसो त दाजुभाइ आफ्ना–आफ्ना किला गाड्न दर्गदिशा लागे । दिदीबहिनी थाङ्ना धुन पुगे पर–पर ।

मैले नि यो घर छोडेको धेरै भो ।
आमालाई घाटमा सेलाएपछि त मैले नि घरसँग नातै जोडिराखिनँ । रित्तो भो घर मेरा लागि । आमा नहुनु भनेको त शून्य रहेछ, चकमन्न रहेछ, उराठ रहेछ ।
मैले धेरैपछि घर आएर अब साँच्चिकै ‘पर’ को हुनुपर्ने भो ।
बसाइँ सराइको कागज लिन घर गएँ ।
बुबालाई भनेँ— ‘तपाईंले आफ्नो नागरिकता बोक्नु होला !’
मधेशका पहारिला दिन । चिसोले छुँदै गरेको मौसम । घाम र शीतले लडाइँ खेल्ने दिनहरू ।
नगरपालिका बाहिर हामी उभिएका छौँ बाबुछोरा ।
तीनपुस्ते भर्ने एउटा फर्म आयो ।
के, किन, कहिले, कहाँ, कतिखेर आदि प्रश्नमा खाली ठाउँ भर्नु पर्ने रहेछ । मलाई यस्ता कुरातिर उत्तिको चासो रहेन । मानिसका लागि कानुनले चेपिरहेका यस्ता तर्कलाई मैले अल्झोबिल्झो ठानेँ सधँै । एक खालको अलमल ।
‘बुबा, नागरिकता चाहियो !’
फर्म भरिरहेका लेखनदासले मागेपछि म फर्किएँ बुबातिरै ।
उहाँले नागरिकता झिक्दा एउटा ठूलै बिटो आयो गोजीबाट । लेखनदासले पनि सघाएर भेटियो नागरिकता— त्यो कागजको बिटोबाट ।
पसिनाले लत्पतिएर नागरिकताको अक्षर झनै भिन्नै भएका रहेछन् । ढ्याब्रे भएछन् अक्षर फुलेर । नीलो मसी लत्पतिएर धेरैतिर बगिसकेछ । हस्ताक्षर गरिएको रातो मसीे भएको छ अर्कै रूपको । सरकारी छाप उडिसकेको छ । बुबाले लगाउनु भएको सुइटरे फोटो विरूप बनेछ । कागजका धेरै कुनाकानी च्यात्तिएर अनि च्याथ्लिइसकेका छन् ।
मैले नागरिकता उठाएर हेरेँ— धेरै ठाउँमा दोब्रिएर नागरिकता अति नै मैलो भएछ, पुरानिएछ, खुइलिएछ ।
‘यसको प्रतिलिपि बनाउनु पर्ने भएछ !’
मैले भित्रैदेखि आत्तिएर भनेँ ।
समयका तारबेरा छन् । हामी बाबुछोरा— छौँ त्यही तारबेराका दुई पाटामा । त्यो युग र यो युग ।
बुबाले अघि खसेको कागजी मुठो मिलाउन थाल्नुभयो ।
‘कति धेरै कागज !’
‘तिमेरको संसार नजोगाई भो त ?’
प्रश्नको उत्तर प्रश्नैले पाएँ बुबाबाट ।
घर छोड्दा सानै थिएँ म । धेरै कुरा त्यो सानोमै जोडिएर टरेको थियो— छोटा, थोरै, कम र अल्प । तर अब म पनि अग्लो, ठूलो र धेरै स्थितिबाट हिँडेछु । यसैले मलाई बसाइँ सराइको कागज चाहियो ।
त्यो कागजी निस्सा मेरो बुबासँग जोडिएको घरमा थियो । उहाँको अनुमतिमा थियो । त्यो प्रमाण त्यस घरमा गाँसिएको थियो— जहाँ मेरा जीवनमा धेरै धुकधुकी चलेका थिए ।
बुबाले गोजीमा लानुभएका कागजका बिटो हेर्न मन छ । तर मागेर हेर्नु कसरी ?
म त सानो । अब फेरि सानै भएँ ।
‘बुबा, एक पटक यी कागज हेरूँ ल !’
मलाई हेर्ने चाहना बढेको कारण एउटै— बुबाले भन्नुभएको तिमेरकै संसार । मैले यही शब्दबाट तानिएर कागजको बिटो पढ्न खोजेको थिएँ ।
अनि हेरेँ ।
गोजी भुक्क पार्ने कति धेरै कागज । कागजै कागजको मुठो । रङ्गी–बिरङ्गी कागज । पातला, बाक्ला, एकदमै लामा र निकै छोटा परी–परीका कागजे चिर्कटाहरू ।
लगत कट्टाको यो रसिद ।
जग्गाको लालपूर्जा ।
बिजुलीको बिल ।
नानीहरूको चिना ।
आमाको नौगेडी बनाउँदाको सुनारेको कागज ।
मैले बिस्तारै ती सबै कागज हेरेँ । त्यहाँ सभ्यताको सबै कुरा अट्न खोजिरहेको छ । समयका सबै उज्याला–अँध्यारा रेखा टड्कारिएर आइरहेका छन् । मैले ती कुना गोजीमा चेपिएका कागज फेरि हेरेँ ।
इनार खनेको भर्पाइ ।
गाईलाई साँडे लाउँदाको हिसाबी कागज ।
भुर्तेलको घरको श्राद्धको तिथिमिति ।
राँगा बेच्दा नगरपालिकालाई तिरेको पशुहट्टाको रसिद ।
बुबासँग कति धेरै कागज छन् । कति धेरै महत्व पाएर वर्षौदेखि यी कागजले गोजीमा ठाउँ पाइरहेका छन् । अमूल्य भएर टाँसिएका छन् ।
बुबाले जग्गाको तिरो तिरेका कागज पनि बोक्नु भएको रहेछ । उहाँका खल्तीमा दूध पगार्न गाईलाई ओखती किन्दाको बिल पनि रहेछ । बुबासँग युरिया मल किनेको रसिद पनि रहेछ निकै पुरानो ।
मलाई समयका थुप्रै प्रमाणले बनाएको आफ्नो प्रतिक्रियासँग गाँसिन मन छ । हरेक पुरानोमा स्मृति पनि मीठो । हरेक प्राचीनमा सम्झना पनि प्यारो । हरेक विगतमा याद पनि प्रिय । यिनै बुँदा हाँसे मेरा निधारका रेखामा ।
बुबाले के नभ्याएरै यसो गर्नु भएको हो त ? के समय नपाएरै यस्तो भएको ? के कामका चापले यो भएको त ?
यी तीन खुल्दुली भए पटक–पटक ।
बुबाका खल्तीमा कागजको अटेसमटेस देखेर आफैंसँग मेरो सोधपुछ हुन्छ । हरेक कुनाबाट ओर्लन्छ जिज्ञासाको बिहान । फेरि अर्को कोणबाट थामथुम भएको साँझ अस्ताउँछ ।
आमा छँदा मैले यति धेरै कागजसँग नजिक हुनु परेन । उहाँले दिएका खानेकुरा, लुगाफाटो, खर्चबर्च र आशीर्वादले नै समयका पुलहरू तरेछु मैले । मसँग कुनै अर्को लौरो, सामल वा साइतको शब्द पर्खनु परेन ।
आज बसाइँसराइ, नागरिकता वा मतदाता नामावलीमा नामक, कागज नबोकी भएन । मसँग देशले सोधिरहेको प्रश्नको उत्तर यी कागजहरूमा गाँसिएको छ, छ ।
ओहो, कति धेरै कागज !
यी कागज होइनन्— चिन्ता हुन् । यी चासोमा म गाँसिएको छु । यी खसखसमा म जोडिएको छु । यी सावधानीमा म हेरिएको छु ।
कागजको मुठोले थेग्ने खालको गोजी त उत्तिको होइन । तैपनि जतन भएर आएछन्, स्याहार भएर आएछन्, हेरविचार भएर आएछन्— मेरा सबै अवस्था र प्रश्नहरू ।
बुबाले पहिला पनि घरको संसार देख्नु भो— आँगनबाहिरै । आमाले अघि नै घरको विश्व देख्नु भो— आँगनभित्रै ।
एउटा विराट् अन्तर ।
आमाले पकाएका खानेकुरामा मेरो रगत चल्यो, आँट अग्लियो, मन सङ्लियो । मलाई ती कागज, सूचना र सरकारी पत्रको खनखाँचै परेन । मेरो सुरक्षा बलियोसँग मैले नै गरेँ । मेरो भरथेग भयो मैबाट । मेरो ऊर्जा, आँट र टेको भएँ म नै ।
आज आमाको अनुहार नहुँदा यी कागज बाहिर आएका छन् पाना भएर ।
बुबाले खल्तीमा राखेका कागज हेर्छु— सानी नातिनीको फिस तिरेको कागज । छोरीलाई रुघा लाग्दा किनेको ओखतीको बिल । बोडीका कीरा मार्न किनेको औषधीको रसिद ।
अर्थतन्त्र, भूगोल, समाजशास्त्र वा विज्ञानको झल्को छ— यो गोजीमा । कृषि, कानुन वा संस्कृतिको अनुहार छ— यो खल्तीमा ।
त्यसो त लुगा धोइँदो हो ।
हरेक पटक धुँदा यी कागजहरू साटफेर हुँदा हुन् । वरबाट पर सारिँदा हुन् । यो गोजीबाट अर्को खेप झिक्ने र थन्क्याउने प्रक्रिया निरन्तर हुँदो हो । बाधा, बिघ्न र समस्यासँग जुधेर यी कागजले त्यो पुरानो समय नाघेर यहाँसम्म आइपुगेका होलान् ।
आमासँग क्याम्पखाट थियो ।
क्यामखाट भन्थ्यौँ हामी । माथि सुत्न मिल्ने–खाटको ढक्कनी उठाएर तलपट्टि सामान राख्न मिल्ने खाट– क्यामखाट । जे कुरा पनि आमा त्यहीँ थन्काउनु हुन्थ्यो ।
घिउ, कुरौनी, अचारका सिसी, नयाँ लुगा, गहना, चरेस र झर्केका थालबटुका, भड्डु वा कसौँडी त्यहीँ हुन्थे । क्यामखाटमा तह–तह पारेर ती सामान राख्नु हुन्थ्यो आमा । राखनधरन आ–आफ्नो ।
बुबाले त्यता चिहाएको थाहा छैन । आमाले पनि बुबाको गोजी छामछुम गरेको पत्तो पाइनँ मैले । हो, कहिल्यै देखिनँ ।
बुबा फन्किन थाल्दा आमा चुल्होतिर लाग्नु हुन्थ्यो । आमा चर्किन थाल्दा बुबा पानी हाल्न थाल्नु हुन्थ्यो निबुवाको बोटलाई ।
परस्पर सम्मान र जिम्मेवारी अवश्य हुनु पर्छ त्यो । आपसी मिलाप र न्यायको वातावरण हुनुपर्छ त्यो ।
आमा बितेको धेरै वर्ष भयो— मैले क्यामखाट उघारेर हेर्दा रित्तो देखेको छु । तर भरिलो रहेछ बुबाको गोजी ।
मसला किनेको बिल ।
सोह्र सराद्धेमा बाहुनलाई दिएको खर्च ।
नागपञ्चमीमा भएको खर्चपात ।
विश्व हिन्दू महासङ्घलाई दिएको चन्दाको रसिद ।
बुबाको खल्तीमा यी पनि छन् । धर्म र समाज, व्यक्ति र परिवार, महादेश र वडा— यी सबैलाई मेरा बुबाको खल्तीले थेगिएको रहेछ ।
मैले सबै कागजात एक–एक गरी हेरेँ । तीसौँ वर्ष पुराना बिल, बीसौँ वर्ष पुराना टिपोट, दसौँ वर्ष पुराना पात्रोका टुक्राले यो खल्तीमा आफ्नो प्राण धानिरहेका छन् ।
यो खल्तीबाट त्यो खल्तीमा । यो रङको कमिजबाट त्यो रङको कमिजमा । यो बाक्लो कोटबाट त्यो पातलो दौरामा ।
बुबाका साथी रहेछन्— खल्तीका कागज ।
त्यही कागजमा हामी सबै जोडिएका रहेछौँ । तिनै गोजीका कागजमा टाँसिएको रहेछ हाम्रो अनुहार । तिनै कागजमा हामी नजिकिएर बाँचेका रहेछौँ ।
मैले मेरो चिना टिपन त्यहीँ देखेँ । मेरो अंशको आधार देखेँ । मेरो वंशावलीको एउटा बीज देखेँ । मेरो पहिचानको प्रमाण देखेँ ।
‘आमाको फोटो छ कि !’
मैले निकै मिहिनेतले हेरेँ । रहेछ, रहेछ । निकै जतनले आमाको फोटो कागजी चेपमा थन्किएको रहेछ ।
‘आमाको श्राद्धमा सिदा दान गरिस् कि छाक छोडेर टारिस् ?’
बुबाले अघि–पछि सोध्ने प्रश्न हुन्थ्यो । आज त्यस्तो भएन ।
मैले नै उत्तर दिएँ— ‘हो, श्रद्धापूर्वक सम्झेँ !’
कागजको बिटो मिलाएर दिएँ । बुबाले मिलाएर राख्नुभयो गोजीमा । माथिल्लो गोजी फेरि मोटो भयो । अलिक दुब्लाएको थियो । अहिले फेरि सुहायो त्यो गोजी ।
उहाँको छातीको गोजी सुहाउँदो रहेनछ— दुब्लाएको ।
हामी छौँ नि त त्यहाँ । त्यो गोजीको कागजी बिटोमा । अर्थात् म छु त्यहाँ । ‘बुबाले यति धेरै कागज नबोके नि हुने !’ ‘हराउने डर हुन्छ !’ ‘पसिनाले बिग्रिन सक्छन् !’
‘फेरि कति कागज त दोहोर्याएर बनाउनै गाह्राे हुन्छ !’
मैले भनेँ ।
बुबाले सुनिरहनु भयो मेरा कुरा ।
हुन त अरूले पनि यी सबै सल्लाह दिँदा हुन् । अरू सन्तानले नि यस्ता सुझाव दिएकै होलान् । उहाँका अगाडि यस्ता विचार पोखेकै होलान् अरूहरूले पनि ।
तर… ।
बुबाले सरक्क भन्नुभयो— ‘मुसाले क्यै राख्दैन !’
मैले एक ध्यानले सुनिरहेँ । बुबाभित्रको गहिरो कुरा मनैले सुनेँ ।
‘तेरो दाजु मान्दैन । अर्को घर बनाऊँ भनेको । पुरानो घरमा मुसा धेरै लाग्छन् ।’
त्यतिखेर पनि बुबाले गोजी छाम्नुभयो— कागज राम्रोसँग बस्यो कि बसेन भनेर । मैले त्यो क्षण हेरेँ— ध्यानसँग उहाँका चाउरी परिरहेका हातले गोजीको कागज मिलाइरहेको हेरेँ ।
हेरिरहेँ… हेरिरहेँ ।
आज म ल्यापटपमा सबै कागजात राखेर शहरमा बनाइरहेको छु घर । उता पुराना घरका मुसाबाट कागजात जोगाउन गोजीमा कागजात लिएर दगुरिरहनु भएको छ बुबा ।
आज हारेको मेरो गोजीले भोलि जित्ला कसरी ?
अनलाइनबाट साभार