बैशाख २४, २०८१ सोमबार

शिवसताक्षीले १२ करोड लगानीमा फोहोर व्यवस्थापन केन्द्र बनाउँदै

शिवसताक्षी । झापाको शिवसताक्षीमा अत्याधुनिक फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ७ स्थित झारबारीमा नगरपालिकाले अत्याधुनिक प्रकृतिको फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि शिल्यान्यास गरिएको छ ।
शिवसताक्षी नगरप्रमुख चन्द्र शेर्मा र उपप्रमुख भोजकुमारी नेपाल लगायत जनप्रतिनिधिहरुले उक्त फोहोर व्यवस्थापन केन्द्रको शिलान्यास गरेका हुन् ।
शिलान्यासमा बोल्दै नगरप्रमुख शेर्माले नगरपालिकाले नगरबासीका आधारभूत आवश्यकता सडक, विद्युली, नदी नियन्त्रण, पर्यटन शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा प्रभावकारी ढंगबाट काम गर्दै आएको बताएका छन् । उनले भने, नगर गौरव र नगरबासीका आवश्यकताहरु क्रमशः पुरा हुँदै गएका छन् ।

नगरका बजार, सडक, विद्यालय, कलकारखाना लगायतबाट निस्किने फोहोरलाई व्यवस्थापन केन्द्रमा लगेर प्रशोधन पछि पुनः प्रयोग गर्न सकिने जैविक मल पनि उत्पादन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरीले बताए । उनका अनुसार एउटै केन्द्रमा दुई वटा महत्वपुर्ण फोहोर व्यवस्थापन र प्रशोधन हुनेछ ।

फोहोर व्यवस्थापनका लागि उक्त जग्गा नगरले गत आव ०७५-७६ मा ९९ लाखमा खरिद गरेको थियो । उक्त जग्गामा सुरक्षित फोहर व्यवस्थापन र प्रशोधनको लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) र डीपीआर समेत तयार भएको नगरपालिकाले जनाएको छ ।
त्यस क्षेत्रमा सडक निर्माण, वेटल्याण्ड क्षेत्र निर्माण, साइड ड्रेन, फोहर छुटयाउने चेम्वर टहरा, पार्किङ्ग सेड, कार्यालय भवन, गेट, कम्पाउण्ड वाल निर्माण, जेनरेटर, तटवन्धन, कुहिने फोहरको प्रशोधन मेशिन, नकुहिने प्लास्टिक जन्य बस्तुको प्रशोधन मेशिन, फुलवारी बगैँचा आदि निर्माण हुने नगरले तयार गरेको डीपीआरमा उल्लेख छ । उक्त संरचना निर्माणका लागि १२ करोड खर्च हुने भएको छ ।

चालु आ.व.मा ०७८-०७९ मा संघीय सरकारको विशेष अनुदानका रुपमा २ करोड ४९ लाख प्राप्त भएको थियो । नगर कार्यपालिकाको बैठकको निर्णयले सो अनुदान रकमबाट १ करोड ४९ लाखबाट उक्त क्षेत्रमा उत्तर – पश्चिम र दक्षिण तर्फ कम्पाउण्ड वाल निर्माण, फोहेर छुटयाउने चेम्वर टहरा र पार्किङ्ग सेड निर्माण हुने भएको छ । त्यसका लागि ठेक्का लागेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए । उक्त ठेक्का शिवसताक्षी कै शिवभक्त निर्माण सेवाले १ करोड ५ लाख ४० हजार २६५ रुपैयाँमा पाएको बताइएको छ ।

नकुहिने प्लास्टिकजन्य प्रशोधन मेशिन खरिदका लागि १ करोड ३७ लाखको टेन्डर सूचना समेत प्रकाशित गरेको पालिकाले जनाएको छ । नगरमा फोहोर व्यवस्थापनसँगै प्रशोधन केन्द्र स्थापना भएपछि जैविक मल समेत उत्पादन हुनेछ । जसले नगरभित्रका किसानले मलका लागि अन्य ठाउँ ताक्नु पर्ने छैन । सडिने फोहोरलाई प्रशोधन गरेर पुनः प्रयोग गर्न सकिने गरि जैविक मल उत्पादन गर्ने नगरले लक्ष्य लिएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार  ९ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]