ढुवानी रोकिएपछि झापामा इन्धनको हाहाकार
बिर्तामोड । इन्धन अभाव हुने हल्लोले शुक्रवारदेखि झापाका सबै पेट्रोल पम्पमा भीडभाड छन् । इन्धन नपाइने त्रासका बिच सवारीधनीहरुले अरुबेला भन्दा धेरै तेलको जोहो गर्न भीडभाड गरेको देखियो ।
मेची पेट्रोलियम डिलर्स एसोशिएसनका अध्यक्ष नविन कोइरालाले अन्य दिनभन्दा उपभोक्ताले धेरै तेल खरिद गरेको जानकारी दिए । इन्धन ढुवानीकर्ता र व्यवसायी विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि त्यसको असर उपभोक्तामा परेको छ । इन्धन व्यवसायीले आफ्नो माग पुरा नगरे चैत २० देखि विक्री ठम्म गर्ने चेतावनी दिएका छन् । सोही सूचनाका कारण पम्पहरुमा सर्वसाधारणको भीड लागेको थियो ।

अधिकांश पम्पहरुमा शुक्रवार विहानैदेखि तेल सकिएको थियो केहि पम्पहरुले अबेरसम्म विक्री गरेका थिए । शनिवार प्रायःपम्पहरु बन्द भएका छन् । ढुवानी नै बन्द भएकाले इन्धन सकिएको अध्यक्ष कोइरालाको भनाई छ । उनले शनिवारसम्म छिटपुट रुपमा रहेको इन्धन उपलब्ध गराइएको जानकारी दिए । अध्यक्ष कोइरालाले भने, दुखसुख शनिवार एकदिनलाई तेल पुर्याउन सकिएला ।
झापामा ३५ वटा पम्प सञ्चालनमा छन् । जिल्लामा दैनिक डेढ लाख लिटर पेट्रोल र ३ लाख लिटर डिजेलको खपत हुने गरेको अध्यक्ष कोइरालाले जानकारी दिए ।
नेपाल पेट्रोलियम डिलर एसोसिएसन सरकारले बिक्रेतालाई कमिसन नथप्ने निर्णय गरेपछि पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी दिएको छ । सरकारले तत्काल आफूहरूको माग पूरा नगरे आजैदेखि बिक्री नै बन्द गर्ने नेपाल पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिए ।
पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाएपछि बिहीबारबाट नै व्यवसायीले पेट्रोलियम पदार्थको लोड–अनलोड ठप्प पारेका छन् । निगम सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले व्यवसायीले नयाँ मूल्यअनुसारको अतिरिक्त कमिसन नदिने निर्णय गरेको थियो ।
बिक्रेतालाई कमिसन नथप्ने विषयमा सरकारले व्यवसायीसँग छलफल गर्न आवश्यक नठानेको प्रति उनले आपत्ति जनाए । ‘सरकारले तत्काल आफूहरूको माग पूरा नगरे आजैदेखि बिक्री नै बन्द हुन्छ’, अध्यक्ष प्रधानले भने, ’ बिक्रेतालाई कमिसन नथप्ने विषयमा सरकारले व्यवसायीसँग छलफल गर्न आवश्यक ठानेन ।’
निगम घाटामा जाने कुरा हामीले गर्दा नभएको उनले जिकिर गरे । सरकारले लागू गरेको व्यवस्थाअनुसार आफूहरूले पाउँदै आएको सुविधा जुनसुकै हालतमा पाउनुपर्ने अध्यक्ष प्रधानको धारणा छ ।
इन्धन ढुवानी भाडा बढाउनु पर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायतका माग राख्दै करिब दुई सातादेखि ग्यास, पेट्रोल तथा ढुवानी व्यवसायीले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् ।