चैत्र १५, २०८० बिहीबार

सहकारी ऐन अभियानमैत्री हुने : मन्त्री कार्की

दमक । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले प्रदेश सहकारी ऐन अभियानमैत्री हुने विश्वास दिनु भएको छ ।

झापाको दमकस्थित मेची सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका मन्त्री कार्कीले प्रदेश सहकारी ऐनको मस्यौदामाथि बहुपक्षीय छलफल भइरहेको जानकारी दिए ।

सदनमा ऐनको मस्यौदा पेश गर्ने जिम्मेवारी आफ्नै भएकाले सरोकारवाला पक्षसँगको छलफल र सहमतिमा विधेयक तयार गरेर मात्र प्रस्तुत गर्ने उनको भनाई छ । मन्त्री कार्कीले भने, ‘अहिले प्रस्तुत गरिएको सहकारी विधेयकको ड्राफ्ट कर्मचारी, राजनीतिक नेतृत्व र केही विज्ञले छलफल गरेर बनाइएको हो । तर, त्यसलाई नेपालको संविधानको भावना प्रतिविम्वत हुने गरी सहकारी अभियानमैत्री बनाएर मात्र पारित गराउने विश्वास दिलाउँछु ।’

साधारणसभा उद्घाटन समारोहका अर्का वक्ता राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालका अधिकांश जनप्रतिनिधिले सहकारी अभियान बुझेकाले ऐन, नियमहरु समय सापेक्ष बनाउन तथा संशोधन गर्न सहज हुने बताए ।

मुलुकको सर्वाङ्गिण विकासमा सहकारीको ३३ प्रतिशत हिस्सा रहेकाले अभियानको काँधमा गुणात्मक काम गर्नुपर्ने दायित्व रहेको प्रष्ट पार्दै पोखरेलले सहकारीको व्यवसाय संकुचन नहुने गरी, सहकारी मूल्य र मान्यतामा आघात नपर्ने गरी ऐन नियमहरु बनेमा मात्र दायित्व पूरा हुने बताएका छन् ।

कार्यक्रममा महासंघका अर्का सञ्चालक शिवकुमार डाँगीले प्रदेश १ सरकारले बनाउँदै गरेको सहकारी ऐन जस्ताको तस्तै पारित गरियो भने सहकारी संस्थाहरु जिवित रहने सम्भावना नरहेको अथ्र्याउनुभयो । उहाँले संघीय सहकारी ऐन पनि ७० प्रतिशत मात्र सहकारीमैत्री रहेकाले महासंघले संशोधनका लागि लविङ गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा झापा जिल्ला सहकारी संघका सहसचिव भवानीप्रसाद दंगाल, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत रामप्रसाद पाठक लगायतल धारणा राखेका थिए । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन समारोहमा जुरोपानी बहुउद्देश्यीय सहकारी संस्थाका अमरदास शिवाकोटी र फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक उर्लाबारी शाखा प्रमुख हिरामणि सिलवालले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाका उपाध्यक्ष गीता कुँवरले स्वागत गरेको साधारणसभा उद्घाटन समारोहको सञ्चालन संस्थाका सचिव लक्ष्मीप्रसाद दाहालले गरेका थिए । यसैबीच, मेची सहकारीले यो वर्ष स्वर्गीय गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट बिराटनगरका रमेशप्रसाद पोखरेललाई पुरस्कृत गरेको छ ।

राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष पोखरेलले सहकारी अभियानमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । यसैगरी संस्थाले स्वर्गीय गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका दमक संवाददाता डिकेश लामालाई प्रदान गरेको छ ।

यस्तै, मेची सहकारी पत्रकारिता पुरस्कारबाट निष्पक्ष साप्ताहिकका सम्पादक विष्णु पौडेल पुरस्कृत भएका छन् । यस्तै जिल्लाको उत्कृष्ट सञ्चार गृहको पुरस्कार रेडियो भिजन बिर्तामोडलाई दिइएको छ । उत्कृष्ट सञ्चार गृहको पुरस्कार रेडियो भिजनका प्रवन्ध निर्देशक गणेश पोखरेलले ग्रहण गरेका थिए ।

संस्थाले साधारणसभाको अवसर पारेर संस्थापक सदस्य डा. केपी सुवेदी र सञ्चालक समितिका पूर्वसदस्य धनपति बराललाई पनि सम्मान गरेको छ । यसैगरी सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गरी २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने संस्थाका शेयर सदस्यका ४ जना छोराछोरीलाई मेची छात्रवृत्ति पुरस्कार स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रकाशित मिति : भाद्र १३, २०७६ शुक्रबार  ६ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]