चैत्र १५, २०८० बिहीबार

उम्मेद्वारसँगको चहाना

युवराज बास्कोटा

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कार्यान्वयनको पहिलो कार्यकाल सकिन लागेको छ । यसबीचमा स्थानीय सरकारको रूपमा स्थानीय तहको भूमिका असाधारण ढंगले बढेको अनुभूति भएको छ । मानिसमा यसप्रति प्रलय आश र अथाह विश्वास जागृत भएको छ । बित्न लागेको यो कार्यकालमा धेरै राम्रा र असल कामहरू भएका छन् । यसैको जगमा दोस्रो कार्यकालका लागि वैसाख ३० गते स्थानीय निर्वाचन आरम्भ हुँदैछ ।

संविधानतः स्थानीय सरकारको भूमिकाको अद्यावधिक अवस्था अपरिहार्य भएको छ । लोकतान्त्रिक गणतन्त्रउन्मुख संघीय संरचनाविरुद्ध धावा बोल्नेहरूका लागि बन्दै गएको चुनावी माहौल कडा जवाफ बनेको छ ।
चुनावको संघारमा उघ्रिएको समग्र वातावरण र उत्रिएको जनमत आफ्नो क्षेत्रगत उम्मेदवारले न्युनतम् के–के चाहिँ गरोस् भन्ने चाहन्छन् ? पत्रपत्रिकामा पढिएका, कतिपय बेलामा भोगिएका र यिनै उदांग आँखाले देखेका विषयवस्तुहरू उम्मेदवारको आकांक्षी जसकसैले जसकसैका लागि पनि –

क्रमशः
१) राजनीतिक इमान, निष्ठा र सद–आचरण निर्देशित व्यक्तिले सम्बन्धित क्षेत्रलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिबद्वता सार्वजनिक ढंगले व्यक्त गरोस् !
२) आफू जिम्मेवारीमा रहँदा वा नरहँदा हुने राजनीतिक राजकीय हैसियतको सदुपयोग वा दुरुपयोगबारे खुल्न बोल्न सकोस् !
३) आलोचकमाथि जाइलाग्ने होइन, बरु सम्बन्धित सरोकार क्षेत्रमा प्राप्त हुने आलोचना वा सुझाव मञ्जुर गर्न सार्वजनिक स्थल निर्धारण गरोस् !

४) यत्रतत्र प्रश्न उठिरहेको छ । यसर्थ, सम्बन्धितले आफू वा आफू मातहतको चल अचल सम्पत्ति विवरण सार्वजनिक गर्न तयार होस् !
५) सम्बन्धितले संविधान निर्देशित समाजवादका आधार निर्माण गर्ने स्थानीय आधारहरू के–के हुन् ? विषयगत ढंगले प्रस्ताव अघि सार्न सकोस् !

६) बाढीपहिरो, भुस्खलन, खोला तटबन्धन, बाँधलगायत स्थानीय प्रकृति र पर्यावरण बीचको सन्तुलन कायम गर्ने विषयोपर योजना सहितको प्रतिबद्धता सार्वजनिक गरोस् !
७) सम्बन्धित क्षेत्रमा कृषि आधारित नागरिकले हिउँदे र वर्षायामको बाली थन्क्याउन व्यहोर्नुपरेको सास्तीमाथि सहायोगी बन्ने प्रतिबद्धता सार्वजनिक गरोस् !

८) देखियो– सम्बन्धित क्षेत्रलाई अनुदान र करबाट मात्र समुन्नत बनाउन सकिँदैन । यसको विषयगत विकल्प के हो ? योजना अघि सार्न सकोस् !
९) वस्तुको आयात र निर्यातबीचको बजार र सन्तुलनका आधारमा कर निर्धारण गर्ने वैज्ञानिक विधि र प्रतिबद्धता सार्वजनिक गर्न सकोस् !
१०) परम्परागत कृषिलाई मुनाफाका लागि बजारमुखी बनाउन कृषि क्षेत्रलाई उन्नत, वैज्ञानिक र आधुनिकीकरण गर्दै हाटबजार, सितभण्डारण, निर्माण गर्ने प्रतिवद्वता व्यक्त गरोस् !

११) कृषिक्षेत्रको दिगो विकासका लागि प्रकृतिप्रद्दत जैविकीकरणलाई प्रोत्साहन गर्दै रसायनमुक्त र उर्वरभूमि बनाउने योजना सहितको प्रतिबद्वता व्यक्त गरोस् !
१२) जेष्ठ नागरिकहरूको ज्ञान, अनुभव र सीपलाई व्यवस्थापन गर्न जेष्ठ नागरिक मिलन केन्द्रहरू प्रत्येक वडामा व्यवस्थापन गर्ने प्रतिबद्धता गरोस !

१३) आज खड्किएको पक्ष सुशासनको हो । सुशासन र चुस्त प्रशासन कायम राख्ने योग्यतापूर्वक योजना सहित नेतृत्व स्वयंमा नैतिक आधारहरू सार्वजनिक गर्न सकोस् !
१४) शिक्षामा आम मानिसको पहुँचको सुनिश्चितता गर्दै शिक्षा र शिक्षास्थललाई मर्यादित, नैतिकवान र जीवन उपयोगी बनाउन प्रतिवद्वता व्यक्त गरोस् !

१५) सम्बन्धित क्षेत्रमा सामुदायिक भवन, वाचनालय, पुनःस्थापना केन्द्र, विवाह मण्डप, योगभवन, साहित्य नाटक र कलाकेन्द्र निर्माण गर्नुपर्ने आवश्यकतालाई अघि सार्दै यसको आधार सहित प्रतिबद्धता व्यक्त गरोस् !
१६) शहरबजारको सौन्दर्य व्यवस्थापन सहित ठाउँ–ठाउँमा फनपार्क, कभर्डहल, बालउद्यान, फुटवल र क्रिकेट खेल आदिका लागि क्षेत्रस्तरीय खेलमैदान निर्माणको आवश्यकता दर्शाउँदै प्रतिबद्धता सार्वजनिक गरोस् !

१७) व्यापक रोजगारी सिर्जना गर्नका लागि उन्नत कृषि कार्यक्रम सञ्चालन र पशुपालनका लागि दर्ता गरिएका फर्म व्यवसायीलाई कार्यसम्पादन र यसको मूल्यांकनका आधारमा अनुदान सहयोगको व्यवस्था हुने प्रतिबद्धता व्यक्त गरोस् !
१८) विभिन्न विषयगत र विषयोपर सञ्चालित सहकारीलाई स्थानीय रोजगार क्षेत्र निर्माणका दृष्टिकोणले सहकार्य, सहकारिता, सह–अस्तित्व र समन्वयबाट अघि बढाउने प्रतिबद्धता व्यक्त गर्न सकोस् !

१९) सम्बन्धित क्षेत्रको विकासका लागि १ वर्षे, ३ वर्षे र ५ वर्षे कार्यविधि निर्धारण गरी निश्चित लक्ष्म हासिल गर्न क्रमशः १० वर्षे २० वर्षे गुरु योजना बनाई काम अघि बढाउने विषयले समृद्धि आर्जनको मापन मानक पूरा गर्ने प्रतिबद्धता सार्वजनिक गरोस् !
२०) सम्बन्धित क्षेत्रमा बसोबास गर्ने ६० वर्षमाथिका नागरिकको त्रैमासिक स्वास्थ्य जाँच परिक्षणको ग्यारेण्टि गर्ने कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता सार्वजनिक गर्न सकोस् !
२१) सम्बन्धित क्षेत्रका बेरोजगार तरुण–युवालाई समुहमा जोडेर सहकारी अभियानमार्फत आयआर्जन गर्ने र सहकार्यमूलक उत्पादन बढाउने कार्यमा योजनाबद्ध तालिका प्रतिबद्धता सहित सार्वजनिक गरोस् !

२२) सम्बन्धित क्षेत्रमा क्रियाशील विषयगत विज्ञ, प्राज्ञ, प्राज्ञिक एवम् बौद्विक व्यक्तित्व, समाजसेवी, राजनीतिककर्मीमाझ द्वि–आर्थिक वर्षबीचको मध्यान्तमा अन्तरक्रिया गर्ने र तदानुरुप पालिका सञ्चालन गर्ने प्रतिबद्धता सार्वजनिक गरोस् !

२३) अपवादबाहेक समस्या मोबाइलमा होइन, नेटवर्किङमा हुन्छ । पूर्वाधार विकास र भौतिक निर्माणका मामिलामा स्थानीय जनसहभागिता, जनश्रमदान र गुणस्तरीय निर्माणको ग्यारेण्टि गर्न प्रतिबद्धता सार्वजनिक गरोस् !
२४) सम्बन्धित क्षेत्रमा कृषिसँग जोडिएको माटो परिक्षणदेखि लिएर बीउँबिजन, यसको गोडमेल, सिँचाइ, मलजल, उत्पादन, बजार र बजार मूल्य निर्धारणजस्ता विषयमा पालिकाको बीमामैत्री व्यवस्था हुने कुराको ग्यारेण्टि गर्न सकोस् !

२५) सौन्दर्य निर्धारण, सन्तुलन कायम र बजार निर्माणका नाउँमा प्रकृतिको दोहन र विनाश गर्ने प्रकृतिप्रदत्त मानवलाई नियन्त्रणमा लिने कुराको औचित्य पुष्टि सार्वजनिक ढंगले गरोस् !
२६) सम्बन्धित क्षेत्रभित्र माटो र हावापानीको असर र प्रभावका हिसावले बसोबास अर्थात आवास क्षेत्र, कृषि क्षेत्र, व्यवसायिक क्षेत्र, हाटबजार क्षेत्र आदि निर्धारण गर्ने प्रतिबद्धता सार्वजनिक गरोस् !

२७) अति विपन्न, लोपोन्मुख, पिछडा–वर्गका बालबालिकालाई कलेज तहको शिक्षासम्म निः शुल्क र मावि तहको पठनपाठनमा विद्यालय खाजा र पोशाक अनिवार्य उपलब्ध गराइने विषयोपर योजनाबद्ध प्रतिबद्धता सार्वजनिक गरोस् !
२८) घरविहिनलाई घर आवास दिने र अति विपन्न, लोपोन्मुख, पिछडा–वर्गका स्थानीय नागरिकलाई सरकारी वा राजकाज महशुलमा छुट दिने प्रतिबद्धता सार्वजनिक गरोस् !

२९) समाजका सबैखाले हेलाँपूणर् व्यवहार, परस्पर विभेद र हिंसाजन्य क्रियाकलापहरूलाई रोक्न जनस्तरबाटै व्यापक ढंगले जागरण कार्यक्रम सञ्चालनमा ल्याइने छ । यसलाई क्रमशः कानुनतः दण्ड, सजाय र पुरस्कारको वातावरण निर्माण गर्ने कुराको आधार तयार गर्दै योजना प्रतिबद्धता सार्वजनिक गरोस् !
र, यसका लागि विधागत र विषयगत व्यक्तित्वमाझ व्यापक र प्रभावकारी परामर्श गरोस् !
(लेखक नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य हुन् ।)

प्रकाशित मिति : चैत्र २४, २०७८ बिहीबार  ६ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]