बैशाख २१, २०८१ शुक्रबार

झापामा गठबन्धनलाई भागवण्डामा सकस : एसले माग्दैछ तीन पालिका प्रमुख र ४५ वडाध्यक्ष

बिर्तामोड । झापामा सत्तारुढ दलहरुले आसन्न निर्वाचनमा गठबन्धन गरेर जाने गरि छलफल प्रारम्भ गरेका छन् । नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेका अनुसार पहिलो चरणको औपचारिक छलफल सकिएको छ । छलफलसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जसपासहितको गठबन्धनले चुनावी रणनीति बनाइरहेका छन् ।

झापाको १५ पालिकामा गठबन्धन दलहरुले भागबण्डा कसरी गर्ने भनेर पालिका तहको सर्वेक्षण गरिरहेको बुझिएको छ । स्थानीय तहमा कार्यकर्ताको भावना समेत सम्बोधन हुने गरि गठबन्धनमा आवद्ध दलहरु भागवण्डा गर्ने तयारीमा जुटेका छन् ।

पहिलो बसाईले छलफल प्रारम्भ गरेको छ, सभापति थेवेले भने– केहि दिनमा कहाँ कस्ले लिने भन्ने बारे टुङ्गो लाग्छ । नेपाली कांग्रेसले केन्द्रबाटै भागवण्डाको सवालमा मापदण्ड तयार गरेको थेवेको भनाई छ । उनले ०७४ को मत भारका अनुसार नै उम्मेद्वारी हुने स्पष्ट पारेका छन् ।

स्थानीय तहको पहिलो निर्वाचनमा झापामा नेपाली कांग्रेस दोस्रो भएको थियो । माओवादी केन्द्र चौथो भएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसले मेचीनगर, बुद्धशान्ति, बाह्रदशी, गौरादह र झापा गाउँपालिका जितेको थियो । कांग्रेसले ति पालिका नछोड्ने गरि छलफल शुरु गरेको छ ।

कांग्रेस झापाका सभापति भन्छन्, विगतमा हामीले जितेको ठाउँहरुमा साथीहरुले दावी गर्न मिल्दैन, अन्य ठाउँहरुमा मत भारका आधारमा मिलाइन्छ । मतभारका आधारमा कसरी मिलाइन्छ भन्ने जिज्ञासामा जवाफ दिदैं उनले भने – गठबन्धनमा रहने दलमध्ये जसको मत धेरै हुन्छ, सोही पार्टीले उम्मेद्वारी दिन्छ ।

यता, झापामा संरचनागत सुधार भएको दावी गर्दै आएको नेकपा माओवादी केन्द्रले जिल्लाको मुख्य राजनीतिक शक्ति केन्द्र मानिने मेचीनगर, बिर्तामोड र दमकमध्ये एकसहित दुई गाउँपालिकाको प्रमुखमा दावी गर्ने बुझिएको छ । माओवादीले बिर्तामोडमा सशक्त दावी गरिरहेको छ ।

माओवादीका नेता सीपी कडरियाले बिर्तामोडमा दावी गर्ने कुरालाई स्वभाविक मान्नुपर्ने बताउँछन् । अघिल्लो निर्वाचनमा पराजित भएका कडरिया आसन्न निर्वाचनमा मेयरका आकांक्षी समेत हुन् । साथीहरुले सबै तिर दावी गरिरहेको अवस्था छ, कडरियाले भने – गठबन्धन दलभित्र विषय प्रवेश भइसकेको छ । पक्कै केहि दिनमा निर्णय आउने छ । उनले विगतको मतभारलाई मात्र आधार मान्न नहुने बताएका छन् । वर्तमान अवस्थाका आधारमा शक्ति बाँडफाँड र सन्तुलनको प्याकेज मिलाइनुपर्ने उनको तर्क छ ।

नेता कडरियाले गठबन्धनभित्र कसैले कसैलाई दिने वा कसैले कसैबाट लिने सन्दर्भ युक्तिसंगत नहुने बताउँदै आएका छन् । उनले नयाँ आधारमा नयाँ जनादेश लिने भएकाले विगतको मत भार मात्रैको मापदण्ड अस्वीकार हुने संकेत गरे । ०७४ को स्थानीय निर्वाचनमा माओवादीले कुनै पनि पालिका जित्न सकेको थिएन ।

यस्तै, नेकपा माओवादी केन्द्रका बिर्तामोड इञ्चार्ज युवराज दाहालले केन्द्रको निर्देशन अनुसार नै गठबन्धन गरेर उम्मेद्ेवारी तय गरिने जानकारी दिए । उनले जिल्लामा ४० देखि ५० प्रतिशत माओवादीको दावी रहने बताए । दाहालले मेचीनगर, भद्रपुर, हल्दिवारी, गौरीगञ्ज, झापा गाउँपालिका, बुद्धशान्ति, बिर्तामोड र दमक माओवादीको संगठन धेरै बलियो रहेको दावी गरे । उनले सोही आधारमा आफुहरुको दावी कायम रहने बताए । अहिले छलफल शुरु भइसकेको छ, माथिको गाइडलाइन मात्रै पर्खिएका हौं, उनले थपे ।

यस्तै, एमालेबाट छुट्टिएको माधव नेपाल समूह (नेकपा समाजवादी ) ले गठबन्धनभित्रको छलफलमा दावी प्रस्तुत गरिरहेको छ । १५ पालिकामा बहुमत जितेको एमालेबाट कोहि पनि समाजवादीमा नगएका कारण समाजवादीको दावी प्रमुख-उपप्रमुखमा राख्ने कुरा जायज नहुने गठबन्धनभित्र चर्चा भइरहेको छ ।
नेकपा समाजवादीले जिल्लाका ३ पालिकामा मेयर, ५ वटा उपमेयर, ४५ वडामा वडाध्यक्ष र सबै वडामा १-१ सदस्य हुनुपर्ने दावी गर्दै आएको छ । २ पालिकामा मेयर पाए ६ पालिकामा उपमेयर नछोड्ने नेकपा समाजवादीका प्रचार विभाग प्रमख तीर्थ सिग्देलले जानकारी दिए । समाजवादीले अर्जुनधारा, शिवसताक्षी र भद्रपुरमा मेयर टार्गेट गरेको बुझिएको छ ।

उनले भने, बिर्तामोडमा उपमेयर सहित १, ४ र ८ मा वडाध्यक्ष नपाए गठबन्धन नहुन सक्छ, हामी एक्लै चुनावमा जान्छौं, सिग्देलले भने । २६ गतेभित्र केन्द्रको कार्यदललाई दावी गरिएको पालिकाको विवरण पठाउने तयारी भइरहेको उनको भनाई छ ।

प्रकाशित मिति : चैत्र २५, २०७८ शुक्रबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]