बैशाख ३०, २०८२ मंगलबार

निर्माणाधिन आयोजनाको बजेट भुक्तानी गर

सम्पादकीय
अहिलेको प्रदेश १ सरकार विभिन्न तिकडमबाजीमा बनेको सरकार हो । ‘तातैखाउ जलि मरौ’ जस्तै गरेर बनाइएको प्रदेश १ सरकारले के–के नै गरौला जस्तो गरेर सरकार बनाएको प्रदेशबासी नागरिकलाई ताजै छ । एमालेसँगको प्रतिशोधका कारण एमालेबाट फुटेर गएका नेताहरु नै समाजवादी पार्टी मार्फत सरकारको नेतृत्व गरिरहेका छन् । तर, सरकारको काम शुन्य जस्तै छ । एउटा पार्टीको नेतृत्व हटाएर अर्को पार्टीको सरकार आयो । सरकारमा जानेहरुलाई सत्ता र शक्तिको अनुभुति भयो । त्यसबाहेक आम प्रदेशबासीलाई कुनै कुराको अनुभूति भएको छैन ।

अघिल्लो सरकारले शुरु गरेका काम रोक्ने, निर्माणाधिन आयोजनाहरुको बजेट रोक्का गर्ने काम बाहेक अरु काम वर्तमान प्रदेश सरकारले गर्न सकेको छैन । यदि केहि नै गर्नु थिएन भने नयाँ सरकारको आवश्यकता नै के थियो र ? यसअघिका नेतृत्व पनि भत्ता सुविधा खाइरहेका थिए, अहिलेकाले पनि त्यहि सुविधा खादैं बसिरहेका छन् । नेतृत्व परिवर्तन भएपछि नयाँ आशा उब्जिन्छ । यो सरकारसँग खासै ठुलो अपेक्षा थिएन । तर, सञ्चालित आयोजनाहरु नै रोक्नु विडम्बना हो । विकास विरोधी काम मात्र हो ।

झापाको शिवसताक्षी १० मा निर्माणाधिन पुलको काम रोकिएको छ । आउँदो असार महिनाभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने पुल बजेट अभावले रोकिएको छ । प्रदेश सरकारले ठेक्का लगाएको पुलको निर्माण रोकिनुले प्रदेश सरकार विकास विरोधी अभियानमा रहेको स्पष्ट हुन्छ । पुलमा निर्माण व्यवसायीले आफ्नै खर्च गरेर पनि काम गरे । तर, त्यो पनि भुक्तानी नभएपछि काम रोक्नुको विकल्प रहेन । यसरी प्रदेश सरकार आम नागरिकको दैनिक जीवन नै प्रभावित बनाउने गरि काम गरेर आफ्नो औचित्यहीन नेतृत्व दर्शाइरहेको छ । कुनै पनि बहानामा विकास बजेट रोक्न हुदैन । तत्काल त्यस प्रकारका आयोजनाको रकम भुक्तानीको व्यवस्था मिलाइदेऊ ।

प्रकाशित मिति : चैत्र २९, २०७८ मंगलबार  ७ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]