बैशाख २०, २०८१ बिहीबार

एमालेको भिजनले हल्दिवारीको मुहार बदलियो : उपाध्यक्ष गिरी

हल्दिवारी । झापा हल्दिवारी गाउँपालिकाका उपाध्यक्ष डम्बर बहादुर गिरीले पाँच वर्षमा गरेका प्रगति सार्वजनिक गरेका छन् । उनले बुधबार बिहान गाउँपालिकाको नयाँ प्रशासनिक भवनको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

हल्दिवारी गाउँपालिकाले पाँच वर्षमा ४३ किलोमिटर भन्दा बढी कालोपत्रे सडक निर्माण गरेको उपाध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार साढे ३४ किलोमिटर सडक कालोपत्रे निर्माणको क्रममा रहेको छ । यसै आर्थिक वर्ष मात्रै ९७ स्लाव कल्भर्ट निर्माण गरिएको गिरीले प्रगति विवरणमा उल्लेख छ ।

??????

भौतिक पूर्वाधार तर्फ सडक निर्माणलाई प्राथमिकता दिएको हल्दिवारीमा १२५ किलोमिटर सडकलाई ग्राभेल गरिएको र ८५ किलोमिटरभन्दा बढि सडकको स्तरोन्नति गरिएको उपाध्यक्ष गिरीको भनाई थियो । उनले ८६ किमि क्षेत्रमा खानेपानीको विस्तार गर्दै ५ सय विपन्न परिवारलाई निशुल्क खानेपानी जडान गरिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष गिरीले वडा नं. २ मा सामुहिक आवासको लागि १३ वटा आवास निर्माण गरिएको जानकारी दिए । गाउँपालिकाले गरिव तथा विपन्न परिवारको लागि ३३ वटा आवास निर्माण गरि हस्तान्तरण समेत गरिसकेको बताए । गाउँपालिकाभित्र रहेका अधिकांश विधालय भवन सुविधा सम्पन्न बनाउँदै लक्ष्मी माविमा १८ वटा व्यवसायिक सटर समेत निर्माण गरिएको जानकारी दिइएको छ ।

हल्दिवारी नमूना माविको तिन तले ९ कोठे भवन निर्माण गरिएको उपाध्यक्ष गिरीले जानकारी दिए । उनले १३ वटा विधलायको भवन निर्माण गरिएको बताए ।

उपाध्यक्ष गिरीले आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले जनता उपचार सहायता परिचालन कोष सञ्चालन गरेर ६ सय नागरिकलाई सहयोग गरेको बताएका छन् । तीन वटा प्याथोलोजि ल्याव सञ्चालनमा ल्याएर गाउँपालिकाका नागरिकलाई विशेष सेवा प्रदान गरिएको बताए ।

स्वास्थ्य संस्था विहीन हल्दिवारी वडा नं. ३ र ५ मा समेत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको बताइएको छ । यस्तै, हल्दिवारीमा निशुल्क शिक्षा कार्यक्रम अन्तर्गत कक्षा १२ सम्म निशुल्क पठनपाठनको व्यवस्था मिलाइएको गिरीले जानकारी दिए । गाउँपालिकाले प्राविधिक शिक्षा (बाली विज्ञान) समेतलाई निशुल्क अध्ययनको व्यवस्था गर्दै ८३ विधार्थीलाई पढाएको उपाध्यक्ष गिरी बताउँछन् ।

उपाध्यक्ष गिरीले शिक्षा क्षेत्रमा हल्दिवारीले देशभरमै उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए । गाउँपालिकाभित्र कम्प्युटर शिक्षालाई अनिवार्य गर्दै कृषि , पर्यटनको क्षेत्रमा आम नागरिकको अपेक्षा अनुसारको प्रगति गरिएको बताए ।

हल्दिवारीको बाचा, झापाभरी माछा कार्यक्रम सञ्चालन गरेर विषादीयुक्त भारतीय माछालाई प्रतिवन्ध गर्न सफल भएको दावी गरे । उनले भूमिगत सिंचाई, मोटर बोरिङको वितरण गरेर किसानलाई सहयोग पुराएको जानकारी दिएका छन् ।

यस्तै, पर्यटनतर्फ भेलागुडी सामुदायिक वनक्षेत्र भित्र लोकतान्त्रि शहिद पार्क निर्माण गरेर स्थानीय पर्यटनको विकासमा महत्वपूर्ण योजना सफल बनाएको उपाध्यक्ष गिरीको भनाई छ । सो योजना समेत आफ्नै योजना अनुसार सफल भएको जानकारी दिए ।

पत्रकार सम्मलेनमा गिरीले पाँच वर्षसम्म एमालेको योजना अनुरुप हल्दिवारीका विकास योजना अघि बढेको बताएका छन् । उनले राप्रपाबाट निर्वाचित अध्यक्षलाई बजेट, नीति तथा कार्यक्रम बारे थाहा नभएको भन्दै जनप्रतिनिधिको नेतृत्व अध्यक्षले गरे पनि विकासको नेतृत्व एमालेले गरेको बताए ।

हल्दिवारीको विकास आफ्नै पहल तथा नेतृत्वमा भएको बताउँदै उपाध्यक्ष गिरीले मन्त्रालयसँगको सम्बन्ध राम्रो भएका कारण विकास आयोजनाहरुका लागि पर्याप्त बजेट ल्याउन सफल भएको बताए । एमालेको भिजनले हल्दिवारीको मुहार बदलिएको छ, गिरीले भने – अध्यक्ष ज्यूले अहिलेको व्यवस्था त बुझ्नु भएको छैन । कसरी काम गर्नुभयो होला ? तपाईहरु आफै भन्नुहोस् ।

पत्रकारहरको जिज्ञासामा जवाफ दिदैं उनले आफुले गाउँपालिकाबाट यातायात सुविधा समेत नलिएको बताए । जनताको काम गर्न आफ्नै मोटरसाइकल प्रयोग गरेको भन्दै उनले अध्यक्षले सिक्दासिक्दै पाँच वर्ष बिताएको दावी गरे ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ७ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]