बैशाख २१, २०८१ शुक्रबार

कनकाईमा २०७४ मा उम्मेदवारहरूले कति मत ल्याएका थिए ?

संगीता उप्रेती

सुरुङ्गा । आगामी बैशाख ३० गते हुने तय भएको स्थानीय तहको निर्वाचनको चर्चा शुरु भएपछि गत २०७४ सालको निर्वाचनमा कनकाई नगरमा प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षका उम्मेदवारहरूले कति मत पाएका थिए भन्ने जिज्ञासा बढेको छ ।

नेपाल सरकारबाट २०७३ साल फागुन ९ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचन २०७४ सालको बैशाख ३१, असार १४ र असोज २ गते सम्पन्न भएका थिए । झापा जिल्लामा चाहिँ २०७४ साल असार १४ मा स्थानीय तहको निर्वाचन भएको थियो । सो निर्वाचनमा नगर प्रमुख, नगर उपप्रमुखसहित बहुमत वार्ड अध्यक्ष तथा परिषद् सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए भने नेपाली कांग्रेस पनि केही वार्ड अध्यक्ष र सदस्यसहित प्रमुख प्रतिपक्षी दलको रूपमा उभिन सफल भएको थियो । कुनै पदमा विजय हासिल नगरे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी मतका हिसाबले तेस्रो स्थानमा उभिन सफल भएको थियो ।

नगर प्रमुखमा नेकपा (एमाले) का उम्मेदवार राजेन्द्रकुमार पोखरेल ८ हजार ४ सय १६ मत प्राप्त गरी विजय भएका थिए भने निकटतम प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसका एकराज उप्रेतीले ६ हजार १ सय ९७ मत प्राप्त गरेका थिए । उनीहरू वीचमा २ हजार २ सय १९ मतको अन्तर थियो । नेकपा एमालेका तर्फबाट २ पटक सुरुङ्गा गाविसका निर्वाचित अध्यक्ष भइसकेका हाल विवेकशील साझा पार्टीका केन्द्रीय नेता रहेका भीमप्रसाद अधिकारीले २०७४ को चुनावमा स्वतन्त्र उम्मेदवारका रूपमा २ हजार १ सय २७ मत प्राप्त गरेका थिए ।

हाल नेकपा एमाले झापाका सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र) का तत्कालीन नेता गोपालप्रसाद चुडालले ६ सय ३६ मत ल्याएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका हालका प्रदेश नं. १ का कार्यसमिति सदस्य केदारप्रसाद गिरीले ३ सय ७ मत ल्याएका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हनविर राईले १ सय ८ मत र नेकपा (माले) का प्रेमप्रसाद दाहालले ३६ मत प्राप्त गरेका थिए ।

त्यसै गरी, नगर उपप्रमुखमा नेकपा (एमाले) की मञ्जु प्रसाई ८ हजार ५ सय ७६ मत ल्याई विजयी भएकी थिइन् भने निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसकी कविता घिमिरे (बस्नेत) ले ६ हजार ५ सय ७९ मत ल्याएकी थिइन् । नेकपा (माओवादी केन्द्र) की शान्ताकुमारी अधिकारीले ९ सय ७३, स्वतन्त्र उम्मेदवार धर्मलाल राजवंशीले ७ सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीकी चित्रकुमारी श्रेष्ठले ५ सय २५ र मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) समर्थित स्वतन्त्र उम्मेदवार हरिभक्त संग्रौलाले २० मत प्राप्त गरेका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कनकाई नगरपालिकामा १३,२८८ महिला र १२,४३४ पुरुष गरी जम्मा २५,७२२ मतदाता रहेका थिए भने जम्मा ७४.७३ प्रतिशत अर्थात् १९,२०२ मत खसेको थियो । खसेको मतको ९३.०९ प्रतिशत अर्थात् १७,८२७ मत सदर भएको थियो ।

वार्ड नं. १ को वडाध्यक्षमा ने.क.पा (एमाले) का रोशनराज पोखरेल ८८७ मत ल्याई बिजयी भएका थिए भने नेपाली कांग्रेसका शम्भुकुमार खडका ६१० मतसहित प्रमुख प्रतिद्वन्द्वी भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद ओलीले २१३ र नेकपा माओवादी केन्द्रका हरिबहादुर राउतले ६४ मत ल्याएका थिए ।

वार्ड नं. २ का वडाध्यक्षमा नेकपा (एमाले) का परशुराम गिरी ७३४ मतसहित विजयी भएका थिए भने नेपाली कांग्रेसका अर्जुनकुमार राई ५४५ मतसहित निकटम प्रतिष्पर्धी बनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका खडानन्द बरालले २२, नेकपा (माओवादी केन्द्र) का गम्भिरबहादुर राईले ३९० र नेकपा (माले) का श्रीप्रसाद खरेलले ७८ मत प्राप्त गरेका थिए ।

वार्ड नं. ३ मा वडाध्यक्षमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले १९१९ मतसहित विजयी भएका थिए । नेकपा (एमाले) का खेमनाथ मिश्र १५३४ मतसहित प्रमुख प्रतिद्वन्द्वी रहे । राप्रपाका नारायणप्रसाद पोखरेलले १२४, नेकपा (माओवादी केन्द्र) का भक्तिप्रसाद पाठकले १२२, स्वतन्त्र उम्मेदवार सचिन तामाङ्गले ११९ र स्वतन्त्र उम्मेदवार कविर महमदले शुन्य मत प्राप्त गरेका थिए ।

त्यसै गरी, वार्ड नं. ४ मा वडाध्यक्ष पदमा नेकपा एमालेका गोविन्दप्रसाद पौडेल ९०३ मतसहित विजयी बनेका थिए । नेपाली कांग्रेसका कमलप्रसाद दाहाल ७६६ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रबहादुर रोक्काले ७३, नेकपा माओवादी केन्द्रका गोविन्दप्रसाद चापागाईले १५५ र स्वतन्त्र उम्मेदवारहरू देवेन्द्रकुमार कार्कीले १४५ मत, राजकुमार फुयाँलले ९० मत र भक्तबहादुर विश्वकर्माले २ मत प्राप्त गरेका थिए ।

वार्ड नं. ५ मा वडाध्यक्ष पदमा नेकपा (एमाले) का कृष्णबहादुर राईले १२६८ मतसहित विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसका रमेशचन्द्र दाहालले ८७० मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार खड्काले ३७ र नेकपा (माओवादी केन्द्र) का प्रेम ओलीले ९९ मत प्राप्त गरेका थिए ।

वार्ड नं. ६ मा वडाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मीप्रसाद ओलीले ४४८ मत ल्याई विजयी भएका थिए । नेकपा एमालेका इन्द्रप्रसाद नेपाल ३३२ मतसहित प्रमुख प्रतिद्वन्द्वी रहेका थिए । नेकपा (माओवादी केन्द्र) का दीर्घबहादुर थापाले ३०४ मत ल्याएका थिए ।

वार्ड नं. ७ मा वडाध्यक्ष पदमा नेकपा (एमाले) का लीलाबहादुर कन्दङ्वाले ८४० मत ल्याई विजयी बनेका थिए । नेपाली कांग्रेसका यादवप्रसाद उप्रेतीले ४०३ मत ल्याई निकटतम प्रतिद्वन्द्वी रहे । नेकपा (माओवादी केन्द्र) का चन्द्रमान कन्दङवाले ३०६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालप्रसाद शिवाकोटीले ७३ मत प्राप्त गरेका थिए ।

वार्ड नं. ८ मा वार्डअध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर कटुवाल ७७५ मतसहित विजयी बनेका थिए । नेपाली कांग्रेसका दुर्गाप्रसाद पराजुली ६९९ मत ल्याई निकटम प्रतिद्वन्द्वी बनेका थिए । नेकपा माओवादी केन्द्रका तुलसीराम कालीकोटे कामीले ५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका चेतनप्रसाद सिटौलाले १९ मत प्राप्त गरेका थिए ।

त्यसै गरी, वार्ड नं. ९ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका प्रेमप्रसाद राजवंशीले ८४५ मतसहित विजय बनेका थिए । नेकपा एमालेका चुवालाल राजवंशी ५२१ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगाबहादुर खडकाले १५८ र नेकपा माओवादी केन्द्रका अजितकुमार कायस्थले ८५ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : बैशाख १२, २०७९ सोमबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]